ओस्लो(नर्वे), १६ असोज(बीबीसी) । यो वर्ष भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार सूक्ष्म कालखण्ड पत्ता लगाउने प्रकाशसँग सम्बन्धित प्रयोगका लागि तीन वैज्ञानिकले पाउने भएका छन्।
नोबेल पुरस्कार जित्ने वैज्ञानिकहरू पिएर एगोस्टिनी, फेरेन्ट्स क्राउस र एन लुहुलिए हुनुहुन्छ।
नोबेल पुरस्कार समितिका अनुसार पदार्थमा इलेक्ट्रोनको गतिशीलताको अध्ययनका निम्ति प्रकाशको ‘एटोसेकन्ड पल्स’ उत्पन्न गर्ने प्रयोगात्मक प्रक्रिया पत्ता लगाएकोमा उहाँहरूलाई पुरस्कृत गर्न लागिएको हो।
एक एटोसेकन्ड भनेको एक सेकन्डको १,०००,००,०००,००,०००,००,०००औँ भाग हो।
विजेताहरूले संयुक्त रूपमा एक करोड स्वीडिश क्रोनर (आठ लाख अमेरिकी डलर) पाउने छन्।
यसअघि सोमवार नोबेल पुरस्कार समितिले चिकित्साशास्त्रतर्फ कोभिड १९ विरुद्ध एमआरएनए खोप बनाउन बाटो खोलिदिने प्रविधि विकसित गर्ने दुई वैज्ञानिकलाई सम्मानित गर्ने घोषणा गरेको थियो।
उहाँहरू वैज्ञानिक काटालिन कारिको र ड्रू भाइस्मान हुनुहुन्छ।
कोभिड महामारी फैलिनुअघि उक्त प्रविधि प्रयोगात्मक अवस्थामा मात्रै थियो। तर महामारी फैलिएपछि कोभिड खोप निर्माण गरी संसारभरि करोडौँ मानिसलाई दिइयो।
अहिले अरू रोग र क्यान्सरको उपचारका लागि एमआरएनए प्रविधिको प्रयोग गर्न सकिन्छ कि भनी अनुसन्धान भइरहेको छ।
यसअघि कसले पाएका थिए?
गत वर्ष भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार क्वान्टम मेकानिक्सबारे अनुसन्धान गर्ने अलाँ आस्पेय, जोन क्लअसन र एन्टोन साइलिङ्गरलाई प्रदान गरिएको थियो।
२०२१ः स्युकुरो मानाबे, क्लाउस हासल्मान, जिओर्जिओ पारिसीलाई पृथ्वीको जलवायुजस्ता जटिल प्रणालीहरूबारे मानव जातिको ज्ञान बढाएकोमा
२०२०ः रोजर पेन्रोज, राइन्हार्ड गेन्जेल र आन्द्रिया गेजलाई ब्ल्याक होलको अनुसन्धानका लागि
२०१९ः जेम्स पिबल्स, मिशेल मेयर र डिडिएर कोएलोले संयुक्त रुपमा ब्रह्माण्डबारे विभिन्न अभूतपूर्व कुरा पत्ता लगाएकाले
२०१८ः डोना स्ट्रिकल्यान्ड, आर्थर अश्किन र जेरार मुरूलाई लेजर फिजिक्सका क्षेत्रमा विभिन्न कुरा पत्ता लगाएकाले
२०१७ः रेनर वाइस, किप थ्रोन र ब्यारी बारिशलाई गुरुत्वका तरङ्गहरू पत्ता लगाएकाले
२०१६ः डेभिड थोलेस, डन्कन होल्डेन र माइकल कोस्टरलिट्सलाई पदार्थका दुर्लभ चरणबारे गरिएको अनुसन्धानका लागि
२०१५ः तकाकी काजिता र आर्थर मक्डोनल्डलाई न्यूट्रिनोमा हुने कम्पन कम्पन पत्ता लगाएकाले


















