ढाका(बंगलादेश), १० बैशाख । बंगलादेशको राजधानी ढाकाबाट नेपालका लागि दुईवटा बस छुटेका छन्।
सोमबार ढाकाबाट छुटेका यी दुई बस भारतको सिलगुडीहुँदै काठमाडौंसम्म आइपुग्नेछन्।
तीन देशका ८० अधिकारी सवार यी दुई बस शुक्रबार काठमाडौं आइपुग्ने बंगलादेशको पत्रिका ‘बंगलादेश इन्फो’ ले जनाएको छ।
सांकेतिक रुपमा सुरु गरिएको त्रिदेशीय बस सेवालाई भविष्यमा व्यापारिक प्रयोजनलाई फाइदा पुग्नेगरि संचालन गरिने जनाइएको छ।
सन् २०१५ को जुनमा नेपाल, भारत र बंगलादेशबिच मोटर भेहिकल सम्झौता (एमभिए) भएको थियो। तीन देशलाई सिधा यातायात सञ्जालमार्फत जोड्ने योजनासहित एमभिए सम्झौता भएको थियो।
यसअघि भुटानलाई समेत प्रत्यक्ष यातायात सञ्जालमा जोड्ने भनिएपनि भुटानले इच्छा प्रकट नगरेपछि तीन देशबिच सम्झौता भएको हो।
यसबाट तीन राष्ट्रबीच नियमित यातायात सेवा सञ्जालमा जोडिँदा यात्रुलाई सहज हुने, पर्यटकको आगमन बढ्ने तथा ढुवानी थप सजिलो हुने अपेक्षा गरिएको छ।
यसै सम्झौता अन्तर्गत दुई बस परिक्षण सवारीका लागि काठमाडौं आउन लागेका हुन्। आउँदो शनिबार तीनै देशका अधिकारीबीच ‘लेटर अफ एक्सचेन्ज’ (एलओइ)मा हस्ताक्षर हुने बताइएको छ।