Prakash Adhikari April 24, 2018

काठमाडौं।नेपाल र भारतका वीचमा रहेका व्यापारिक समस्या समाधानका लागि मंगलबारदेखि काठमाडौंमा द्धिदेशीय वाणिज्य वार्ता हुने भएको छ ।

दुई चरणमा हुने वार्तामा सहसचिवस्तरीय अन्तर सरकारी उपसमिति(आइजिएसी) बैठक मंगलबार र बुधबार काठमाडौमा हुँदैछ भने बिहिबार र शुक्रबार वाणिज्य सचिव स्तरीय अन्तर सरकारी कमिटी (आइजिसी)को बैठक हुनेछ।

सचिवस्तरीय बैठक अघि बैठकले छलफल गरेर प्रस्ताव गरेका मुद्दा आइजिसीमा छलफल भएर टुङगो लाग्ने छ।आइजिएसी वैठक प्राविधिक तहमा छलफल हुन्छ भने आइजिसीमा नीतिगत निर्णय गरिन्छ।

मंगलबारदेखि सुरु हुने आइजिएसी वैठकमा नेपालको तर्फबाट वाणिज्य मन्त्रालयका सहसचिव रविशंकर सैंजु र भारतका तर्फबाट वाणिज्य सहसचिव भुपेन्द्रसिंह भल्लाको नेतृत्वमा छलफल हुनेछ।यो बैठकले प्रस्ताव गरेका मुद्दालार्इ सचिवस्तरीय वैठकमा नेपालका तर्फबाट वाणिज्य सचिव चन्द्रकुमार घिमिरे र भारतका रिता टिओरियाले टुंग्याउनेछन्।

सहसचिव सैंजुका अनुसार नेपाली नम्वर प्लेटको ग्यासको वुलेट सञ्चालन गर्न पाउनु पर्ने विषयलार्इ पनि उठाइनेछ।प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका बेलामा समेत एजेण्डामा परेको यो मुद्दालार्इ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्इ देशको मन्त्रालयस्तरबाट टुंगो लगाउने भन्दै पन्छाएका थिए।प्रधानमन्त्री ओलीले चार पटक यो मुद्दा उठाएपछि मोदीले यो मुद्दा पन्छाएका हुन्।

गत आर्थिक बर्षको बजेटमा नेपाली नम्वर प्लेटको वुलेट खरिद गर्दा भन्सारमा दुर्इतिहार्इ छुट दिने सरकारले निर्णय गरेको थियो।नेपाल आयल निगमले ७ सय ७५ नेपाली नम्वर प्लेटका खरिदका लागि स्वीकृति दिर्इसकेको छ।तर भारतको स्वीकृति नपाएका कारण नेपाली बुलेट संचालन भएका छैनन्।निगमल स्वीकृति दिएपछि ५६ वटा वुलेट तयार भइसकेको छ।

नेपालले नेपाली किताब र पत्रिका निकासी सहज बनाउने मुद्दालार्इ प्राथमिकतामा राखेको छ।अहिले अवैध रुपमा भारतमा नेपाली किताब र पत्रिका निकासी भइरहेको छ।भारतका विभिन्न विद्यालयमा नेपाली पढार्इ भएपनि किताब लैजान समस्या छ।

तेस्रो मुलुकबाट सामान आयात गर्दा ट्रयाकिङ सिस्टम लागु गर्ने विषयलार्इ पनि यो वैठकमा प्राथमिकता दिएको वाणिज्य मन्त्रालयले जनाएको छ। यस्तो इलेक्ट्रोनिक ट्रयाकिङ सिस्टम लागु भएमा व्यापारमा सहजता हुने वाणिज्य मन्त्रालयको भनार्इ छ।

यस बाहेका कोलकाता बन्दरगाहको समस्या समाधानको मुद्दा र भारतमा नोटबन्दीका कारण नेपालमा रहेका भारतीय नोट सटहीको मुद्दा समेत नेपालको प्राथमिकतामा छ।भारतीय नोटबन्दीका कारण बैंकमा रहेको चार करोड रुपैयाँ सटही हुन सकेको छैन।

नेपालले विगतको जस्तै नेपाली कृषि उपजको सहज निकासीको मुद्दा उठाउने तयारी गरेको छ ।

यसपटकको वार्तामा नेपालमा जलमार्गको सम्भावनाका बारेमा समेत छलफल हुनेछ।ओलीको भारत भ्रमणका बेलामा समेत यो विषयले प्राथमिकता पाएको थियो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणका समयमा पनि यसका बारेमा अरु कुरा बढ्ने अनुमान छ ।

पश्चिम नेपालको दोधारा चाँदनीमा सुक्खा बन्दरगाह बनाउने विषयमा नेपालले आफ्नो मुद्दा बनाएको छ। वीरगञ्जमा जस्तै अन्य चार स्थानमा पनि एकीकृत जाँच चौकी आइसिपी निर्माणलार्इ समेत प्राथमिकतामा राखिएको छ भने डर्टी कार्गो ल्याउन भइरहेको समस्या र यो समाधानका विषयमा भारतीय पक्षसँग छलफल हुनेछ।

Share Now

Leave a comment.