जनकपुरधाम((धनुषा), ११ बैशाख । तेस्रोपटक नेपाल आउन लागेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई वैशाख २८ गते जनकपुरमा भव्य समारोहका बीच नागरिक अभिनन्दन गर्ने तयारी थालिएको छ ।
प्रदेश नम्बर २ का मुख्यमन्त्रीले लालबहादुर राउतले नेपालको परराष्ट्र मन्त्रालय तथा भारतीय राजदूतले मोदीको उक्त भ्रमणबारे आफूहरूलाई जानकारी गराइसकेको बताएका छन् ।
भारतीय सञ्चारमाध्यमहरूले मोदीको तेस्रो नेपाल भ्रमणको मिति बैशाख २८ नै हुने बताउदै आएका छन् । तर भ्रमणको तिथि-मितिबारे दुवै मुलुकले औपचारिक घोषणा गरेका छैनन्।
प्रदेश नम्बर २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले भने परराष्ट मन्त्रालय र भारतीय दूतावासले प्रधानमन्त्री मोदी मे ११ अर्थात् वैशाख २८ मा जनकपुर आउने जानकारी गराएको सञ्चार माध्यमलाई बताएका छन् ।
उनले भने, ‘भारतका सम्माननीय प्रधानमन्त्री मोदी मे ११ तारिख जनकपुर आउने जानकारी हामीलाई गराइएको छ। आइतवार भारतीय राजदूतले पनि हामीलाई सो जानकारी गराउनुभयो। हामी उहाँको अभिनन्दन गर्नका लागि तयार छौं।’
योजना
विक्रम सम्वत् २०७१ को मंसिरमा दक्षिण एसियाली सहयोग संगठन(सार्क)को काठमाण्डौं शिखर सम्मेलनको अवसरमा नेपाल आउदा प्रधानमन्त्री मोदीले जनकपुर र लुम्बिनीको समेत भ्रमण गर्ने ईच्छा राखेका थिए ।
तर पछि उनले त्यहाँ सार्वजनिक अभिनन्दन अनि सम्बोधन गर्नेजस्ता कार्यक्रमबारे विवाद भएपछि जनकपुर भ्रमण स्थगित गरिएको थियो।
अहिले पुनस् तय गरिन लागेको उनको जनकपुर भ्रमणमा नागरिक अभिनन्दन तथा जानकी मन्दिर पूजाआजाको कार्यक्रम रहने छ।
‘जानकी मन्दिनमा पूजाको एउटा कार्यक्रम हुनसक्छ। दोस्रो, यहाँको बाह्रबिघा मैदानमा नागरिक अभिनन्दनको कार्यक्रम छ’ मुख्यमन्त्री राउतले बताए ।
सो भ्रमणका बेला हुने सहयोगका घोषणा वा त्यसको तयारीका निम्ति शान्तिसुरक्षाको बन्दोबस्त केन्द्र सरकारकै समन्वयमा हुने भएकाले आफूलाई धेरै जानकारी नभएको मुख्यमन्त्री राउतले बताएका छन्।
तर परराष्ट्र मन्त्रालयले भने भ्रमणबारे औपचारिक पुष्टि गरेको छैन।
प्रधानमन्त्री केपी ओलीले भारत भ्रमण गरेको करिब एक महिनामा प्रधानमन्त्री मोदी नेपाल आउन लागेका हुन्। यसअघि २०७१ सालमा उनी दुई पटक काठमाण्डौं आएका थिए।
तेस्रो पटक नेपाल आउनुअघि मोदी अर्को साता चीन भ्रमणमा जाँदैछन्।
(बीबीसी नेपाली सेवाको सहयोगमा)


















