काठमाडौं,१९ असोज । लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सनराइज क्यापिटल लिमिटेडबीच एक आपसमा गाभ्ने र गाभिनेसम्बन्धी सम्झौता पत्रमा औपाचारिक रुपमा हस्ताक्षर गरेका छन् ।
समझदारी पत्रमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको तर्फबाट अध्यक्ष सुमेद भट्टराई र सनराइज क्यापिटल लिमिटेडको तर्फबाट अध्यक्ष अपछकुमार यादवले हस्ताक्षर गर्नुभएको छ ।
लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको मुख्य संस्था लक्ष्मी बैंक लिमिटेड मिति २०८० साल आषाढ २८ गते बाट सन्राइज बैंक लिमिटेडसँग गाभिएर लक्ष्मी सन्राइज बैंक लिमिटेड भई एकिकृत कारोबार प्रारम्भ भएपछि लक्ष्मी सनराइज बैंकको दुई सहायक कम्पनीहरु लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सनराइज क्यापिटल लिमिटेडबाट मर्चेन्ट बैकिङ लगायत अन्य सेवाहरु छुट्टा—छुट्टै रुपमा प्रवाह गरिरहेको अवस्थामा धितोपत्र व्यवसायी मर्चेन्ट बैंकर नियमावली, २०६४ को दफा २९ (क) बमोजिम एकै प्रकृतिका कम्पनीहरु आवश्यक नभएको कुरालाई मध्यनजर गर्दै एक मात्र सहायक कम्पनी कायम गरी मर्चेन्ट बैकिङ्ग व्यवसाय संचालन गर्नु पर्ने हुँदा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सनराइज क्यापिटल लिमिटेड आपसमा गाभिने भएका हुन् ।
मर्जर पश्चात् कम्पनीको चुक्ता पूँजी ४८ करोड रुपैयाँ पुग्ने र अझ सबल रुपमा व्यासाय विस्तार गर्न सहयोग पुग्ने विश्वास दुवै संस्थाका पदाधिकारीहरुले गर्नुभएको छ ।


















