Prakash Adhikari April 25, 2018

सुन्धारा(काठमाडौं), १२ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पले क्षतिग्रस्त सम्पदाको निर्माणमा आफै अग्रसर हुन सबैलाई आह्वान गरेका छन् ।
भूकम्पको तेस्रो स्मृतिमा बुधबार बिहान धरहरा अगाडि काठमाडौं महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सो आह्वान गरेका हुन् ।

धरहराको पुनर्निर्माणका लागि डोको र कोदालो बोक्न आफू पनि तयार रहेको बताउदै प्रधानमन्त्री ओली सबैलाई श्रमदानका लागि आह्वान गरेका थिए ।

‘मेरो धरहरा मै बनाउँछु’ भन्ने अघिल्लो प्रधानमन्त्रीत्वकालमा आफूले सारेको नारालाई सफल बनाउन प्रधानमन्त्री ओलीले इँटा, डोको, कोदालो, खर्पन बोक्न आफू तयार रहेको बताए।

नेपाली परम्परा, इतिहास र चालचलनको ख्याल गरेर बलियो धरहरा पुनर्निर्माण गरिने दाबी गर्दै ओलीले अघिल्लो प्रधानमन्त्रीत्वकालमा धरहरा निर्माण अभियान आफूले शुरु गरे पनि त्यसपछिका सरकारले यसको पुनर्निर्माणमा बेवास्ता गरेको आरोप लगाए।

तानाशाही हैन जनवाद आउछ

प्रधानमन्त्री केपी शर्मा ओलीले फासीवाद नभइ जनवाद ल्याउन सरकार क्रियाशील रहेको बताएका छन् ।

विपक्षी दलले सरकारले शक्ति केन्द्रित गर्न थालेको र निरंकुशता लाद्न खोजेको आरोप लगाइरहेका बेला प्रधानमन्त्री ओलीले सो कार्यक्रममा भने, ‘भ्रष्टाचार नियन्त्रण गर्न थाल्यो भने सरकार बलियो हुन थाल्यो, तानाशाही हुन आँट्यो, यहाँ त फासीवाद आउने खतरा भयो भनिन्छ । फासीवाद होइन, यहाँ जनवाद आउँदैछ । फासीवाद होइन, समृद्धिवाद आउँदैछ, सुखीवाद आउँदैछ ।’

उनले जनतालाई बलियो बनाउने र देशलाई समृद्ध बनाउने सरकारको उद्देश्य रहेको बताए । ‘अब नेपाली जनता बलियो हुन्छ, सत्ता बलियो हुने होइन । सत्ता त संविधानले नियन्त्रण गरेको हुन्छ,’ प्रधानमन्त्री ओलीले भने ।

Share Now

Leave a comment.