काठमाडौं , ३० असोज । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमका अन्तर्राष्ट्रिय उडान गर्ने सबै जहाजहरु सञ्चालनमा आएका छन् ।
निगमका अध्यक्ष युवराज अधिकारीले असोज २९ गतेदेखि सबै जहाजहरु उडानमा रहेको जानकारी दिनुभएको छ ।
केही दिनदेखि निगमका अन्तर्राष्ट्रिय उडान गर्ने केही जहाजहरूमा प्राविधिक समस्या देखिएको थियो । निगम ब्यवस्थापनले तदारुकता अपनाएर नियमानुसार मर्मत संभार गरेपछि सोमबारबाट सबै जहाज सञ्चालनमा आएका हुन् ।
निगमका जहाजहरु नियमित उडानमा आएकोले नेपालीहरुको महान चाड बडादशै,तिहार,नेपाल सम्वत र छठको अवसरमा विदेशबाट जन्मभूमि फर्कन चाहने नेपालीहरुलाई सहजरुपमा सेवा दिन सकिने अवस्था रहेको निगम व्यवस्थापनले जनाएको छ ।
नेपालीहरुको चाडबाडका कारणले मात्र हैन,सेप्टेम्बरदेखि नै नेपालमा पर्यटकीय सिजन पनि सुरु भएको छ । विश्व कोरोनाको त्रासदीबाट मुक्त भएकोले यो बर्ष नेपाल भ्रमणमा आउने पर्यटकको संख्या पनि बढिरहेको छ । निगमका सबै जहाजहरु पूर्ण क्षमतामा चल्दा पर्यटकहरुलाई नेपाल आउन पनि सजिलो भएको छ ।
निगमसंग अहिले अन्तर्राष्ट्रिय उडान गर्न एअरबस कम्पनीका ३२०-२०० सेरिजका १ सय ५८ सिट क्षमताका दुईवटा न्यारोबडीका जहाज र दुईवटा ३३०-२०० सेरिजका २ सय ७४ सिट क्षमताका वाइडबडीका जहाजहरु छन् ।
यी जहाजहरुले भारतको दिल्ली,मुम्बई,बैंगलोर,मलेशियाको क्वालालम्पुर, थाइलैण्डको बैंकक,चीनको हंगकंग, जापानको टोकियो, कतारको दोहा,साउदी अरेबियाको दमाम र युनाइटेड अरब इमिरेट्सको दुबाईमा नियमित सेवा पुर्याउदै आएका छन् ।
यसैबिच कार्यकारी अध्यक्ष युवराज अधिकारीले जहाजहरुमा साना तिना समस्याहरु आउन नदिन इञ्जिनियरिड. र कन्टिन्युइड. एअर वर्दिनेश विभागलाई विशेष निर्देशन दिनुभएको छ । निगमका सबै विभागीय प्रमुखहरुलाई पनि राष्ट्रिय ध्वजाबाहकको इज्जत,प्रतिष्ठा र ख्यातिलाई ध्यानमा राखेर समयमै गुणस्तरीय सेवा प्रदान गर्दै निगमलाई यस क्षेत्रको सुरक्षित, भरपर्दो, विश्वसनीय, समयबद्ध र यात्रुमैत्री हवाई सेवाको रुपमा स्थापित गर्न निर्देशन दिनुभएको छ।
उहाँले नियमित मर्मत संभार गरिएका जहाजहरु कुनै पनि बहानामा ग्राउन्डेड हुने कुरा क्षम्य नहुने र छानविन गरि दोषीलाई कडा कारबाही गरिने चेतावनी पनि दिनुभएको छ । उहाँले निगमको इञ्जिनियरिड. र कन्टिन्युइ एअरवर्दिनेस एण्ड मेन्टिनान्स, अपरेशन विभागका प्राविधिकहरुलाई विमान सेवा निरन्तर सुचारु हुने ढंगले काम गर्न निर्देशन दिनुभएको छ ।


















