नेत्र केसी /बीबीसी नेपाली
बारपाक( गोरखा),१२ बैशाख । भूकम्पको केन्द्रविन्दु रहेको गोरखा, बारपाकका कैयौँ पीडितले आफ्नो बसाइको अवस्थामा हालसम्म सुधार हुन नसकेको गुनासो गरेका छन्।
भूकम्पमा बुबा गुमाएकी रेजिना गुरुङले भनिन्, “गुमेका आफन्त त फर्किँदैनन् भन्दै उनीहरूलाई त भुल्ने प्रयास गर्दैछौँ। तर भत्किएको घर बनाउन निकै समस्या भइरहेको छ। न सरकारले दिएको पैसाले पुग्छ न आफैँसँग पैसा छ।”
बारपाकका धेरैका पीडा गुरुङसँग मिल्दाजुल्दा छन्।
पूर्णता दिनै हम्मे
केही घरको निर्माण सकिएपनि धेरैजसो निर्माणकै चरणमा देखिन्छन्।
दोस्रो किस्तासम्म पाएकाहरूलाई थप पैसा जोहोको चिन्ता छ भने पहिलो किस्ता पाएकाहरूलाई घरको जगसम्म हाल्न हतार छ।
सीतामाया गुरुङले भनिन्, “आफूसँग पैसा छैन, अहिले जग हालेन भने सरकारले कालो सूचीमा राख्छ रे! त्यही भएर ऋण सापट गरेर भएपनि जग हाल्न सबैलाई हतार भएको छ।”
ढुङ्गे छानाबाट कङ्क्रिटतिर
ग्रामीण पर्यटनको थलोको रूपमा नाम कमाएको बारपाकमा पहिले ढुङ्गे छाना भएका एकनासका घरहरू थिए। तर अहिले निर्माण भएका र निर्माण भइरहेका घरहरू ‘कङ्क्रिट’का छन्।
भूकम्पका कारण आफन्तहरूसँगै घरवास गुमाएका बारपाकका बासिन्दाहरूले दुई वर्षसम्म सरकारले एकीकृत व्यवस्थित बस्तीको योजना ल्याउला र त्यहीअनुसार घर बनाउला भनेर बसेको तर सरकारले त्यसबारे कुनै निर्णय नदिएपछि आ-आफ्नै तरिकाले घर बनाउन सुरु गरेको बताए।
जितबहादुर घलेले भने, “एकीकृत र व्यवस्थित बस्तीका लागि धेरै प्रयास गरियो, मन्त्रालयहरूमा धाइयो, धेरै नेताहरुलाई हार गुहार गरियो। तर लामो समयसम्म सुनुवाइ नभएपछि बासका लागि आ-आफ्नै तरिकाले घर बनाउन सुरु गर्यौँ।”
कामदारको समस्या
घर बनाउन अर्को समस्या हो कामदारको।
कामदार नै पाउन गाह्रो छ।
केहीले रौतहटबाट दैनिक १४ सय रुपैयाँ दिने गरी कामदार मगाएका छन्।
केही भने घरकै सदस्यहरूले जेनतेन गरेका धानिरहेका छन्।
रौतहटबाट काम गर्न आएका विश्वास चौरिसयाले भने, “मिस्त्रीका रूपमा हामी १५ जना आएका छौँ।”
“यहाँ त काम फालाफाल छ। बाह्र वटा घरको काम सकियो अहिले चारवटा बनाएका छौं, अझै पाँचवटा घर बनाउने सम्झौता भइसकेको छ।”
सरकारको योजनाअनुसार भूकम्पको एक वर्षमा शिलान्यास गरिएको स्मृति पार्कको निर्माणले गति लिन सकेको छैन।
त्यो सामान्य तारबारमै सीमित देखिन्छ।
कतिपय पीडित अझै छाप्रो बनाएर बसिरहेका छन्।
भूकम्पका कारण भत्किएका घरहरूलाई त्यस्तै अवस्थामा ‘सम्झना सङ्ग्रहालय’का रुपमा राख्ने योजना पनि अलपत्रै छ।
सङ्ग्रहालय बनाउने स्थानमा जमिन भएका मानिसहरुलाई नयाँ घर बनाउन कुन ठाँउमा जग्गा दिने भन्ने विषय नमिलेकाले काम अगाडि बढन नसेकको स्थानीय जनप्रतिनिधिहरूको भनाइ छ।
तर सडक निर्माण गर्ने, विद्युत पुर्याउने जस्ता कामहरु भने तीव्र रुपमा भइरहेको उनीहरुले बताए।
मृतकको सम्झना
बारपाकका बासिन्दाहरुले भूकम्प गएको तीन वर्ष पुगेको दिन भूकम्पमा परेर ज्यान गुमाएकाहरुको सम्झनामा बुधवार स्मृतिसभाको आयोजना गरे।
बारपाकमै ७२ जना आफन्त गुमाएकाको उपस्थितिमा उक्त सभा भएको थियो।
साँझ मृतकहरूको सम्झनामा दीप प्रज्वलनको कार्यक्रम राखिएको छ।