विनीत खरे । बीबीसी हिन्दी
भारतको उत्तरी सहर कोटामा बसेर पढ्ने विद्यार्थीहरूको आत्महत्याको सङ्ख्या बढेपछि अहिले त्यहाँका कोचिङ सेन्टरहरूले कडा नियमनको सामना गरिरहेका छन्। उत्कृष्ट कलेजहरूमा पढ्नका लागि प्रवेश पाउन मद्दत पुर्याउने त्यस्ता तयारी कक्षा लिनका लागि कोटामा जाने विद्यार्थीहरूसँग बीबीसी हिन्दीका विनीत खरेले कुरा गर्नुभएको छ।
ती विद्यार्थीहरूले सफल हुन तीव्र दबाब महसुस गरेको पाइएको छ।
२१ वर्षीय विजय (उनको वास्तविक नाम होइन) चिकित्सा शिक्षा पढ्नका लागि दिएको प्रवेश परीक्षामा तीन पटक विफल भए। राजस्थानस्थित कोटामा रहेका महँगा कोचिङ सेन्टरमा पढेपछि प्रवेश परीक्षामा उत्तीर्ण भइने आशा उहाँले राख्नुभएको थियो।
अन्य थुप्रै विद्यार्थीजस्तै विजयले पनि कोटालाई सपनाको संसार ठान्नुभएको थियो।
यस सहरभरि विद्यार्थीका नाम, तस्बिर र उनीहरूले प्राप्त गरेको स्थान लेखिएका बोर्डहरू छन्।
यहाँ करिब दुई लाख विद्यार्थीहरू छात्रावास तथा निजी आवासमा कोठा भाडामा लिएर पढ्दै छन्। तीमध्ये कतिपय १३ वर्षका मात्र छन्।
देशकै उत्कृष्ट चिकित्सा र इन्जिनियरिङ कलेजमा भर्ना हुनका लागि हुने अत्यन्त प्रतिस्पर्धात्मक प्रवेश परीक्षामा तयारी गराउने कोचिङ सेन्टरहरूका लागि यो सहर प्रसिद्ध छ।
यहाँ १२ ओटा ठूला र कम्तीमा ५० ओटा साना कोचिङ सेन्टरहरू छन्।
सान, दबाव र चिन्ता
उत्कृष्ट कलेजहरूमा पढ्न पाउनु भारतीय परिवारका लागि सानको कुरा हो भने विफल हुनु सरमको।
कोचिङ सेन्टरहरूले वार्षिक रूपमा १ लाख भारतीय रुपैयाँ शुल्क लिन्छन्, जुन धेरै परिवारका लागि ठूलो रकम हो। तर उत्कृष्ट चिकित्सा वा इन्जिनियरिङ कलेजमा प्रवेश पाउनु भनेको चाहिँ धेरै तलब हुने जागिरका लागि ढोका खुल्नु पनि हो।
विजयको परिवार सहरबाट टाढाको गाउँमा बस्छ। उहाँको परिवार हुनेखाने वा सम्पन्न होइन। उहाँका बुवा किसान हुन्।
त्यसैले उहाँका आमाबुवा निराश हुने कुरा विजयलाई निकै गह्रुङ्गो भयो। ूमैले खराब परिणामबारे मेरो आमाबुवालाई ढाँट्ने गर्थेँ,ू उहाँले भन्नुभयो।
राम्रो अङ्क ल्याएका विद्यार्थीहरूको फोटो कोटा सहरमा धेरै ठाउँमा यसरी बोर्ड बनाएर राखिएको हुन्छ। अहिले नयाँ निर्देशिकाले भने यसरी नराख्न सुझाएको छ ।
एउटा विन्दुमा पुगेर चिन्ताका कारण उहाँको टाउको र छाती दुख्ने भएको उहाँले मलाई बताउनुभयो। दोस्रो पटक परीक्षामा विफल भएपछि झन्डै आत्महत्या गर्ने अवस्थामा आफू पुगेको उहाँले बताउनुभयो।
“मलाई अब विकल्प केही बाँकी छैन भन्ने लाग्यो”, उहाँले भन्नुभयो. “मैले आमाबुवाको पैसा पनि सकेँ र उहाँहरूको प्रतिष्ठामा पनि आँच पुर्याएँ भन्ने भयो।”
“यस्तो परिस्थितिका कारण मरौँ कि भन्ने पनि सोच पनि आयो तर त्यो कुरा मैले कसैलाई भनिनँ’, उहाँले सुनाउनुभयो।
उहाँले बलिवुड स्टार दीपिका पादुकोणले उहाँको डिप्रेसनबारे बोलेको सुनेपछि आफ्नो सोच परिवर्तन भएको बताउनुभयो। धेरै काम गर्नु वा उत्कृष्ट हुनुलाई कसरी बढाइचढाइ गरिन्छ र त्यसले मानसिक स्वास्थ्यमा कस्तो असर पर्छ भन्नेबारे उहाँले सार्वजनिक रूपमा बोल्नुभएको छ।
ती अभिनेत्रीले आफ्नोबारे खुलेर भनेपछि विजयलाई सहायता खोज्नुपर्छ भन्ने प्रेरणा मिल्यो। विजयले अहिले मनोचिकित्साबारे उपचार लिइरहनुभएको छ र उहाँले आगामी दिनमा जे पर्छ सहने तयारी गरिरहेको बताउनुभयो।
मसँग कुरा गर्ने अन्य विद्यार्थीले पनि एक्लै बस्नु, परिवारको उच्च आकाङ्क्षा हुनु, साथीभाइको दबाव, अत्यन्तै कठिन प्रतिस्पर्धा र दैनिक १४ घण्टा पढाइले निकै सकस भएको बताउनुभयो।
विगत १० वर्षमा १०० भन्दा बढी विद्यार्थीले आत्महत्या गरिसकेका छन् भने यो वर्ष मात्रै कम्तीमा २५ जनाले। प्रहरीको तथ्याङ्कअनुसार एक वर्षमा सबैभन्दा धेरैले आत्महत्या गरेको यो सबैभन्दा ठूलो सङ्ख्या हो।
त्यसरी आत्महत्या गर्नेमध्ये एक १५ वर्षीया बालिकाले म कोटामा रहेकै बेला आफ्नो ज्यान लिएकी थिइन्।
उनले किन आत्महत्या गरिन् भन्ने स्पष्ट छैन। “उनले कहिल्यै पनि पढाइको तनावबारे हामीलाई केही भनेकी थिइनन्”, छोरीको मृत्युको खबर पाएपछि कोटा आउँदै गर्दा उनका बुवाले मलाई फोनमा भनेका थिए। “तर उनले कोटामा विद्यार्थीले आत्महत्या गर्ने गरेकोबारे चाहिँ मलाई भनेकी थिइन्।।। मैले त्यो बेला त्यस्तो कुरामा भन्दा आफ्नो पढाइमा ध्यान देऊ भनेँ”, उहाँले थप्नुभयो।
हरिशङ्कर
द हिन्दुस्तान टाइम्स पत्रिकाले विश्लेषण गरेको सरकारी तथ्याङ्कअनुसार सन् २०२३ मा कोटामा आत्महत्या गर्ने अधिकांश विद्यार्थीहरू चिकित्सा शिक्षाको तयारी गरिरहेका १८ वर्षमुनिका छात्रहरू थिए। उनीहरू धेरैजसो उत्तर भारतका ग्रामीण क्षेत्रमा रहेका निम्नवर्गीय परिवारबाट आएका थिए।
आदर्श राज आफैँ पनि एक किसान परिवारका थिए जसले कोटामा तयारी कक्षा लिएर चिकित्सक बन्न चाहनुभएको थियो। उहाँले गत अगस्टमा १८ वर्षको उमेरमा आफ्नै ज्यान लिनुभयो।
ूहामीले उहाँलाई दबाव दिएका थिएनौँ। परीक्षामा आएको कम अङ्कका कारण उहालाई तनाव भएको थियो र त्यसकै कारण उहाँले त्यस्तो कदम लिनुभयो,ू उहाँका काका हरिशङ्करले भन्नुभयो। ूतर आत्महत्या समाधान होइन।ू
नियमन, सहायता र मानसिक स्वास्थ्यसम्बन्धी कार्यशाला
कोटामा रहेका विद्यार्थीमध्ये आत्महत्या गर्नेको सङ्ख्या बढ्न थालेपछि राजस्थानको राज्य सरकारले त्यहाँ रहेका शैक्षिक संस्थाहरूका कडा नियमको घोषणा गरेको छ।
सेप्टेम्बर २९ मा राज्य सरकारले कक्षा ९ (वा १४ वर्ष उमेर) भन्दा मुनिका विद्यार्थीहरूलाई भर्ना नगर्न र विद्यार्थीका परीक्षा परिणाम सार्वजनिक नगर्न निर्देशिका जारी गरेको छ।
विद्यार्थीका लागि मानसिक स्वास्थ्यसम्बन्धी कार्यशाला र कार्यक्रमहरूलाई पनि थप प्राथमिकता दिइनेछ।
विद्यार्थीलाई सहायता गर्न हेल्पलाइनहरूको व्यवस्था रहेका पोस्टरहरू थप राख्ने काम भइरहेको छ।
अर्नव अनुराग
डिप्रेसनको लक्षण भएका विद्यार्थीहरूको पहिचानका लागि गत जुनमा वरिष्ठ प्रहरी अधिकारी चन्द्रशीलको नेतृत्वमा ११ सदस्यीय टोली बनाइएको थियो।
“हामी होस्टेलमा जान्छौँ र कुन विद्यार्थीको व्यवहारमा परिवर्तन आएको सङ्केत देखिएको छ भनेर मानिसहरूसँग कुरा गर्छौँ “, उहाँले आफ्नो कामबारे भन्नुभयो “यदि त्यहाँ केही खतराका सङ्केतहरू भए हामी विद्यार्थीहरूको निगरानी गर्छौँ, उनीहरूसँग कुरा गर्छौँ र त्यसपछि होस्टेलको वार्डेन र अभिभावकसँग पनि कुरा गर्छौँ।”
कोभिड महामारी र एकान्तवास
विश्व स्वास्थ्य सङ्गठनका अनुसार १५ देखि २९ वर्षका मानिसमाझ आत्महत्या विश्वव्यापी रूपमा मृत्युको चौथो कारण रहेको छ।
सरकारी तथ्याङ्कअनुसार भारतमा सन् २०२१ मा १३ हजारभन्दा बढी विद्यार्थीहरूले आफ्नो ज्यान लिएका छन्, जुन सन् २०२० को तुलनामा ४.५ प्रतिशतले बढी हो।
एक शिक्षकले मसँग कुरा गर्दै कोचिङ सेन्टरको एउटै कक्षामा पढ्ने विद्यार्थीको सङ्ख्या तीन सयसम्म हुन सक्ने र शिक्षक आफैँलाई आफ्नो विद्यार्थीको नाम थाहा नहुने हुनाले कहिलेकाहीँ विद्यार्थीले एक्लो महसुस गर्ने बताउनुभयो।
कोभिडको विश्वव्यापी महामारी र पटकपटक लगाइएको लकडाउनका कारण पनि ठूलो असर गरेको छ।
“कोभिड अगाडिभन्दा कोभिडपछाडि विद्यार्थीको तनाव वहन गर्ने क्षमता कम छ”, भारतको एउटा अग्रणी कोचिङ सेन्टर मोशन एजुकेशनका प्रबन्ध निर्देशक नितिन विजयले भन्नुभयो। “तर समयसँगै यसमा सुधार हुनेछ”, उहाँले भन्नुभयो।
कोटास्थित विज्ञाननगरमा रहेको अर्नव अनुराग बस्ने कोठा
शिक्षाको क्षेत्रमा धेरै दशक काम गरिसकेकी उर्मिला बाक्सी पनि महामारीका कारण विद्यार्थीको अन्तर्क्रिया गर्ने क्षमतामा असर पुर्याएको विषयमा सहमत हुनुहुन्छ। तर कोटामा गरिएको कोचिङको व्यापारीकरण पनि अहिलेको अवस्थाका लागि दोषी भएको उहाँ बताउनुहुन्छ।
ूकक्षामा सयौँ विद्यार्थी हुन्छन्। शिक्षकलाई विद्यार्थीको नाम थाहा हुँदैन। साथीले आफूले कसरी पढिरहेको छु भन्ने थाहा पाउँछ र ऊ आफूभन्दा अगाडि बढ्छ भन्ने ठानेर विद्यार्थीहरू साथी बनाउँदैनन्। विद्यार्थी एक्लै पर्छन्,ू उहाँले भन्नुभयो।
कोटामा ३ हजार ५ सयभन्दा बढी छात्रावास छन् र भाडामा बस्नका लागि हजारौँ ठाउँहरू छन्। यिनले सहरको अर्थतन्त्रलाई मद्दत गरेका छन्।
कोटास्थित विज्ञाननगर क्षेत्रमा विद्यार्थीहरू बस्ने कोठा कस्तो हुन्छ भनेर म हेर्न गएँ। एउटा अँध्यारो बाटो हुँदै म घरको भर्याङमा पुगेँ र त्यहाँबाट विद्यार्थी बस्ने दोस्रो तल्लामा पुगेँ। जीर्ण र साँघुरो कोठासँगै एउटा शौचालय थियो। यो कोठामा १८ वर्षीय अर्नव अनुराग बस्छन्, जो आफ्नो सानैदेखिको डाक्टर बन्ने सपना पूरा गर्नका लागि कोटामा आएका छन्।
उहाका केही किताबहरू दराजमा थिए भने धेरै चाहिँ सुत्ने खाटमा छरिएका थिए। एउटा छेउमा ल्यापटप थियो भने अर्कोपट्टि चिसो हावा आउने कूलर राखिएको थियो। लुगाहरू ढोकाको पछाडिपट्टि झुन्ड्याइएका थिए अनि पिअरिअडिक टेबलको पोस्टर भित्तामा झुन्डाइएको थियो।
ूमलाई यहाँ अत्यास लाग्छ,ू अर्नवले भन्नुभयो ूतर जब म परीक्षा पास गर्छु, म यो ठाउँ छोड्छु र कुनै बेला म यस्तो कोठामा पढ्थेँ भन्न सक्छु,ू उहाँले आत्मविश्वाससहित भन्नुभयो।
राज्य सरकारले जारी गरेको नयाँ निर्देशिकाअनुसार छात्रावासका वार्डेनहरू र विद्यार्थी बस्ने अन्य घरका मानिसहरूले अनि शिक्षक र शैक्षिक संस्थाका व्यवस्थापकहरूले अनिवार्य तालिम लिनुपर्छ।
त्यसमा गाह्रो भएका विद्यार्थीले ूसजिलै त्यहाँबाट बाहिरिन सक्ने र पैसा फिर्ता गर्नुपर्ने नीतिू को व्यवस्था राखिएको छ।
तर विजयको धारणामा पूरै संस्कार नै परिवर्तन गर्न आवश्यक छ। ूविद्यार्थीले आफूले मन लागेको पढ्न पाउनुपर्छ,ू उहाँले भन्नुभयो।
ूचिकित्सा र इन्जिनियरिङभन्दा बाहिर पनि संसार छ सकिन्छ भनेर आमाबुवाले बच्चाहरूलाई भन्नुपर्छ। बच्चाको जीवन अन्य सबै कुराभन्दा धेरै महत्त्वपूर्ण हो।ू