Prakash Adhikari October 27, 2023

सांघाई (चीन), १० असोज । चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको निधन भएको छ।

शुक्रबार बिहान सांघाईमा हृदयाघातको कारण उहाँको निधन भएको चिनियाँ सञ्चार माध्यमले जनाएका छन्।

६८ वर्षीय ली चिनियाँ कम्युनिस्ट पार्टीको १७ औँ, १८औँ र १९औँ केन्द्रीय समितिका राजनीतिक ब्यूरोका स्थायी समिति सदस्यसमेत हुनुहुन्थ्यो।

लीलाई बिहीबार अचानक हृदयाघात भएपछि स्थानीय अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा स्थानीय समय अनुसार गए राति १२ः१० उहाँको मृत्यु भएको हो।

सन् २०१२ मा भएको चिनियाँ कम्युनिस्ट पार्टीको १७औँ महाधिवेशनबाट महासचिव चयन भएसँगै सी चिनफिङ बेइजिङको मुख्य नेतृत्वमा उदाउनुभएको हो।

सीले आफु राष्ट्रपति भएसँगै लीलाई प्रधानमन्त्रीको जिम्मेवारी दिनुभएको थियो। सी दुई कार्यकाल राष्ट्रपति रहँदा ली पनि दुई कार्यकाल नै प्रधानमन्त्री रहनुभयो।

ली सन् २०१३ मार्चदेखि २०२३ को मार्चसम्म १० वर्ष चीनको प्रधानमन्त्री बन्नुभयो।

सन् २०२२ मा भएको पार्टीको २०औँ महाधिवेशनबाट महासचिवमा निरन्तर रहेसँगै सीको तेस्रो कार्यकाल सुरु भयो। ली भने पार्टीको स्थायी समिति र प्रधानमन्त्रीबाट बिदा हुनुभयो।

पार्टीको शक्तिशाली स्थायी समितिमा सीपछि दोस्रो नम्बरमा रहनुभएका ली चिङ प्रधानमन्त्री बन्नुभयो।

ली पछिल्लो समय विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनको आर्थिक विकासका एक दूरदर्शी नेता मानिनुहुन्थ्यो। दुई कार्यकाल गरी १० वर्ष प्रधानमन्त्री रहँदा लीले निजी क्षेत्रको अर्थतन्त्र प्रवर्द्धन र विदेशी लगानी भित्र्याउन महत्वपूर्ण भूमिका खेल्नुभयो।

कोभिड महामारीले सिर्जना गरेको आर्थिक अस्तव्यस्तता र विश्वको नम्बर एक अर्थतन्त्र अमेरिकासँगको व्यापार तनाव उहाँले आफ्नो एक दशक लामो कार्यकालमा झेलेका ठूल संकट थिए।

Share Now

Leave a comment.