Prakash Adhikari April 27, 2018

 

काठमाडौं, १४ बैशाख । अभिनेत्री प्रियंका कार्की अभिनित ‘ह्याप्पी डेज’ र ‘कोहलपुर एक्सप्रेस’ आजदेखि रिलिज भएका छन् ।

चैत ९ गते ‘शत्रु गते’ र चैत ३० गते प्रियंका अभिनित फिल्म ‘लिलिबिली’ रिलिज भएका थिए । अहिले पनि यी दुबै फिल्मले हल छाडेका छैनन् ।

‘शत्रु गते’ चाँडै ५१ औँ दिने मनाउने तयारीमा छ ।

‘कोहलपुर एक्सप्रेस’ र ‘ह्याप्पी डेज’  दुबैमा प्रियंकाको लिड रोल छ ।

यो हप्ता पर्दामा उनले आफैंसँग भिडन्त गर्दैछिन् । प्रियंका ‘ह्याप्पी डेज’ हाउसफूल’ भएपछि ‘कोलहपुर’ हेर्न दर्शकलाई आग्रह गर्छिन् । ‘कोहलपुर एक्सप्रेस’ हाउसफूल भएपछि ‘शत्रु गते’ र ‘लिलिबिली’ हेर्न दर्शकलाई उनको आग्रह छ ।

रोचक कुरा त यी दुबै फिल्म कमेडी जनराका हुन् । ‘कोहलपुर एक्सप्रेस’ का निर्देशक विशाल भण्डारी हुन् । यसअघि दर्जनौं म्यूजिक भिडियो निर्देशन गरेता पनि फिल्म निर्देशन उनको यो पहिलो हो ।

अभिनेत्री त्रय प्रियंका कार्की, ऋचा शर्मा र केकी अधिकारीको यस फिल्ममा प्रमुख भूमिका छ । केकीको ब्यानर ‘जुनकिरी आर्टस्’ बाट निर्माण भएको फिल्ममा विनोद न्यौपाने, बुद्दी तामाङ, रविन्द्र झा, कुशाग्र भट्टराईलगायतका कलाकारहरुको पनि अभिनय छ ।

फिल्मको कथा निर्देशक भण्डारी आफैंले लेखेका हुन् । अर्जुन तिवारीको छायांकन रहेको फिल्ममा भद्र बहादुर शाही, देवी लाल न्यौपाने पण्डित र शिव प्रसाद चौलागाई ‘कोहलपुर एक्सप्रेस’ को निर्माताका रुपमा रहेका छन् ।

यस्तै, मिलन चाम्स निर्देशित ‘ह्याप्पी डेज’ लाई लन्डन सिने आइ र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको हो ।

रोमान्टिक ड्रामा मिश्रित यो फिल्ममा दयाहाङ राई, प्रियंका कार्की सञ्जय गुप्ता, विक्की जोशी, शिशिर राणा, रुपा पुन, रिकेश चाम्स लगायतका कलाकारहरुको अभिनय छ ।

पैसा कमाउन बेलायत पुगेको एक नेपाली युवकको बैधानिक बसोबासका लागि गर्ने संघर्षको कथा फिल्मले बोल्छ । वीपि खनाल, भवानी शर्मा, हिराल जोशी र मिलन चाम्स फिल्मका निर्माता हुन् ।

Share Now

Leave a comment.