Prakash Adhikari April 27, 2018

भीष्मराज ओझा/रासस
काठमाडौं। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र कार्यकर्ताको पारदर्शीरुपमा मूल्यांकनको व्यवस्था गर्न नेतृत्वलाई सुझाव दिएका छन्।

पार्टी केन्द्रीय कार्यालय सानेपामा निर्वाचन समीक्षासम्बन्धी जारी बाह्रौँ दिनको केन्द्रीय कार्यसमितिको आजको बैठकमा उनले पार्टी विधानभित्र रहेर अधिकतम् समन्वय र विश्वासको वातावरण बनाउनुपर्नेमा जोड दिए।

बैठकमा विशेष आमन्त्रित सदस्य विजयकुमार गच्छदारले काँग्रेस र तत्कालीन मधेशी जनाधिकार फोरम (लोकतान्त्रिक)बीच पार्टी एकीकरणका बेला भएको प्रक्रियालाई चाँडो पूर्णता दिइयोस् भनी आग्रह गरे।

नेता गच्छदार काँगे्रसलाई नयाँ ऊर्जा र एकताका साथ अघि बढाउन पार्टीभित्र र बाहिरका सबैलाई समेटी अपिल गर्नपर्ने सुझाव दिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

गत चैत ९ गतेदेखि शुरु भएको काँग्रेस केन्द्रीय समितिको बैठक चैत १६ गते नेता खुमबहादुर खड्काको निधन भएपछि स्थगन गरिएको थियो। बैठकमा आजसम्म ७६ जना केन्द्रीय सदस्यले निर्वाचनमा काँग्रेस पराजय र पार्टी सुदृढीकरण सम्बन्धमा आआफ्ना धारणा राखेका छन्।

जम्मा ८१ सदस्यीय काँग्रेस केन्द्रीय कार्यसमितिमा एक विशेष आमन्त्रित र सात आमन्त्रित सदस्य छन्। यस बैठकमा झण्डै दुई दर्जन केन्द्रीय सदस्यले पार्टी पराजयका कारण औँल्याउन र भावी रणनीतिका सम्बन्धमा लिखित धारणा तथा प्रस्ताव नै पेश गरेको पार्टी कार्यालयले जनाएको छ।

बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले तत्काल महासमिति बैठक बोलाइ विधान संशोधन र संविधानअनुसार स्थानीय तहसम्म पार्टीका संरचना बनाउन सुझाव दिएका छन्।

त्यस्तै निर्वाचनमा पराजयका सम्बन्धमा पार्टी नेतृत्वको कार्यशैलीलाई आरोप लगाउने र बचाउ गर्नेमा अधिकांश केन्द्रीय सदस्य विभाजित दिखिएका छन्।

काँग्रेसमा हाल मुख्यरुपमा दुई गुट सक्रिय छन्। सभापति शेरबहादुर देउवा पक्षका केन्द्रीय सदस्यले पार्टी सामूहिक अभ्यासमा भएकाले जस र अपजसको भागीदारी सामूहिकरुपमा सबै हुनुपर्ने तर्क गरेका थिए। वरिष्ठ नेता पौडेल पक्षीय केन्द्रीय सदस्यले भने सभापति देउवाको कार्यशैलीका कारण पार्टीले निर्वाचनमा पराजय भोग्नुपरेको आरोप लगाएको बताइएको छ।

गत मंसिर १० र २१ गते दुई चरणमा भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा काँग्रेसले प्रत्यक्षतर्फ नराम्रो हार व्यहोरेको थियो। निर्वाचनको उक्त परिणामका कारण काँग्रेस संघीय संसद्मा मात्र होइन सातै प्रदेशमा प्रतिपक्षको भूमिकामा पुगेको छ।

भोलि बस्ने बैठकमा महामन्त्री डा शशांक कोइरालाले पार्टीको आधिकारिक धारणासहितको लिखित प्रतिवेदन प्रस्तुत गर्नुहुने प्रवक्ता शर्माले बताए। त्यसपछि सभापति शेरबहादुर देउवाले बैठकमा उठेका प्रश्नको जवाफ दिइ भोलि नै बैठक सम्पन्न हुने बताइएको छ।

नेपालको संविधानले व्यवस्था गरेको राज्यको पुनःसंरचना अनुसार पार्टीको संरचना बनाउन, मधेशी जनाधिकार लोकतान्त्रिक (लोकतान्त्रिक)का नेता कार्यकर्तालाई पार्टीमा समायोजन गर्नेलगायतका कारण काँग्रेसलाई पार्टीको विधान संशोधन गर्नुपर्ने बाध्यता छ।

यस बैठकले पार्टीको महासमिति बैठक, विधान संशोधन, जिल्ला सभापतिको भेला, निर्वाचनपछिको प्रतिपक्षीको अवस्थामा पार्टीको रणनीतिलगायत विषयमा आवश्यक निर्णय गर्नेछ।

प्रवक्ता शर्माले निर्वाचन समीक्षा बैठक शुरु हुदा निराशा र विरोधबाट शुरु भएको भए पनि बैठक सम्पन्न हुँदै गर्दा नेता कार्यकर्तामा नयाँ ऊर्जा र उत्साह थपिने दाबी गरे।

केन्द्रीय समितिको बैठकले महासमिति बैठकको मिति र स्थान तोक्नुका साथै केन्द्रीय समितिमा रिक्त पदाधिकारी र सदस्यको नियुक्तिसमेतको निर्णय गर्ने बताइएको छ।

समीक्षासम्बन्धी बैठक निरन्तर जारी छ।

अर्को बैठक शनिबार बिहान ९:०० बजे पुनःबस्ने पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

Share Now

Leave a comment.