बीरेन्द्रनगर(सुर्खेत) र नेपालगञ्ज (बाँके), १८ कार्तिक । भूकम्पमा परी घाइते भएका रुकुमपश्चिम र जाजरकोटका बिरामीहरुलाई सुर्खेतको बीरेन्द्रनगरस्थित प्रदेश अस्पताल र बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारार्थ लगिएको छ ।
सुर्खेत र नेपालगञ्जका अस्पतालहरु भूकम्पका घाइतेहरुको उपचारको लागि तयारी अवस्थामा राखिएको छ ।
नेपाली सेनाले दिएको जानकारी अनुसार रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका तीन जनालाई उपचारका लागि हेलिकोप्टरमार्फत प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ ।
नेपाली सेनाको हेलिकप्टोरमार्फत आज बिहान उपचारका लागि सुर्खेत पठाइएको हो । डाक्टर, स्वास्थ्यकर्मीसहित स्वास्थ्य सामग्री लिएर आठबीसकोट नगरपालिका पुगेको हेलिकप्टोरमार्फत तीन जना घाइतेलाई थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाएको आठबीसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मनिराज शाहले जानकारी दिनुभयो ।
उहाँका अनुसार घाइते ६२ जनाको नगर अस्पताल राडीमै उपचार भइरहेको छ । नगरपालिकाको वडा नं ११, १२, १३ र १४ मा हालसम्म ५० जनाभन्दा धेरैको मृत्यु भइसकेको उहाँको भनाइ छ ।
सुर्खेतबाट आएको एक जना डाक्टरसहित तीन जनाको स्वास्थ्यकर्मीको समूहले नगर अस्पताल उपचार गरिरहेको शाहले जानकारी दिनुभयो ।
शुक्रबार राति जाजरकोटको केन्द्रविन्दु बनाएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पका कारण सानीभेरी गाउँपालिका र आठविसकोट नगरपालिकामा ठूलो मानवीय क्षति भएको छ । क्षतिको विवरण सङकलन भइरहेको र उद्धार गरिरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार सानीभेरी गाउँपालिका–२ मा नौ जनाको मृत्यु भएको छ ।
घाइतेहरुको नेपालगञ्जमा उपचार सुरु
गए राति गएको भूकम्पका कारण घाइते भएकाहरुको बाँकेको नेपालगञ्जमा उपचार थालिएको छ । उपचारका लागि दुई घाइतेलाई भेरी अस्पताल, नेपालगञ्जमा भर्ना गरिएको छ ।
भेरी अस्पतालमा फोकल पर्सन नरेश श्रेष्ठका अनुसार भूकम्पमा परी घाइते भएका जाजरकोटको भेरी नगरपालिका–३ का ४८ वर्षीय विमलबहादुर कार्की र भेरी–३ की २२ वर्षीया इसा शाहीको उपचार भइरहेको छ । कार्कीको दाहिने खुट्टा भाँचिएको छ भने शाहीको टाउकोमा चोट लागेको छ । दुवैको अवस्था सामान्य भएको उहाँले बताउनुभयो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार भेरी अस्पताल, सैनिक अस्पताल र प्रहरी अस्पतालको एक सय पाँच श्यया घाइतेको उपचारका लागि तयारी अवस्थामा राखिएको छ । हेलिकप्टरमा उद्धार गरिने घाइतेका लागि राझा विमानस्थल र नेपाली सेनाको हेलिप्याडमा दुईवटा एम्बुलेन्स तयारी अवस्थामा राखिएका छन् । भूकम्पबाट घाइते भएका अन्यलाई उपचारका लागि यहाँ ल्याउने क्रम जारी छ ।
गए राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्र विन्दु भइ ६ दशमलव ४ रेक्टरस्केलको भुकम्प गएको थियो । भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा अत्यधिक धनजनको क्षति भएको छ ।


















