Prakash Adhikari November 7, 2023

विराटनगर(मोरड.), २१ कार्तिक । कोशी प्रदेशमा सरकार विस्तारसंगै उत्पन्न संकट टरेको छ । नेपाली कांग्रेसका बागीलाई समर्थन गरेर सरकार बनाउन सघाएको नेकपा एमालेले सरकारमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका प्रतिनिधि थपिएसंगै सरकारबाट बाहिरिने निर्णय गरेर आफ्नो मन्त्री फिर्ता बोलाएको थियो । तर सरकारलाई दिएको समर्थन यथावत थियो ।

एमालेले आफ्ना प्रतिनिधि फिर्ता बोलाएसंगै संकटको मुखमा पुगेको नेपाली कांग्रेसका नेता केदार कार्कीको सरकार एमाले कोशी प्रदेश संसदीय दलको परिपक्व निर्णयले जोगिएको छ । नेकपा एमालेले सरकारमा समावेश नहुने तर आफ्नै जोडबलमा बनेको कोशी प्रदेश सरकारलाई समर्थन निरन्तर दिने परिपक्व निर्णय गरेको छ ।

संविधानको धारा १६८(५) अनुसार सरकार गठनका क्रममा नेपाली कांग्रेसबाट विद्रोह गरेका केदार कार्कीलाई मुख्यमन्त्री बनाउन एमालेका ३९ प्रदेश सांसदले हस्ताक्षर गरेका थिए । एमालेले २८ असोजमा राम रानालाई मन्त्री पठायो भने १ कात्तिकमा मुख्यमन्त्री कार्कीलाई विश्वासको मत पनि दियो ।

तर मुख्यमन्त्री कार्कीले शुक्रबार माओवादी केन्द्र र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराएपछि रुष्ट बनेको एमालेले शनिबार विना विभागीय मन्त्री रानालाई राजीनामा गराएको थियो । सोमबार बोलाइएको सांसदीय दलको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिएमा प्रदेश सभा विघटन भएर मध्यावधि हुन सक्ने र आर्थिक तथा राजनीतिक कारणले मध्यावधि निर्वाचन प्रदेशका लागि उपयुक्त नभएको निश्कर्ष निकाल्दै सरकारलाई दिएको समर्थन यथावत राख्ने निर्णय गरिएको थियो ।

बैठकपछि प्रमुख सचेतक रेवतीरमण भण्डारीले नेकपा एमाले कोशी प्रदेश सरकारबाट फिर्ता भएको तर दिएको विश्वासको मत चाहिँ कायमै राख्ने निर्णय गरिएको बताउनुभयो ।

नेकपा एमाले कोशी प्रदेश संसदीय दलले प्रतिपक्षमा बस्ने पनि निर्णय गरेको छ । संसदीय दलले सरकारसंग समन्वयका लागि मुख्यमन्त्रीसँग छलफल गर्न उपनेता राम राना, प्रमुख सचेतक रेवतीरमण भण्डारी र प्रदेश सांसद तिलकुमार मेन्याङ्बो नेतृत्वको तीन सदस्य टोली नै बनाएको छ ।

कोशी प्रदेश सभामा एमाले ४०, कांग्रेससँग २७ र माओवादी केन्द्रसँग १३ र राष्ट्रिय प्रजातन्त्र पार्टीको ६ जना सांसद छन् ।

अहिले नै मध्यावधि चुनाव हुने हो भने प्रमुख दलहरुले अहिलेको हैसियत जोगाउन नसक्ने र संसद झन त्रिशंकु बन्ने एमाले नेताहरुको विश्लेषण छ ।

एमाले नेताहरुको परिपक्व निर्णयले कोशीमा सरकार मात्र जोगिएको छैन् । प्रदेश सभा पनि जोगिएको छ । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पनि इज्जत जोगिउको छ ।

कोशी प्रदेश सरकार जोगाउन नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अथक प्रयास गर्नुभएको थियो । त्यसको सकारात्मक परिणामले पार्टीमा उहाँको प्रभाव थप बढ्न गएको छ । कोशी प्रदेशमा एमाले नेतृत्वका दुई सरकार र नेपाली कांग्रेस नेतृत्वका दुई सरकार वैधानिक विश्वासको मत लिन असफल भएपछि पार्टी निर्णयको अवज्ञा गर्दै नेपाली कांग्रेसका नेता कोइराला निकट सांसदहरुले एमालेको समर्थनमा सरकार गठन गर्ने कदम चालेका थिए । नेकपा माओवादी केन्द्रका सांसदलाई मुख्यमन्त्री प्रस्ताव गर्ने निर्णयलाई सच्चाउदै पार्टीले डा.कोइरालाले उठाउनुभएका केदार कार्कीलाई नै समर्थन गर्ने निर्णय गरेको थियो ।

एमालेको यो निर्णयलाई राजनीतिक विश्लेषकहरुले २०५१ को मध्यावधिपछि नेकपा एमालेको अल्पमत सरकारलाई समर्थन गरी नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षमा बस्ने निर्णय गरेर संसदको स्थायित्वलाई प्राथमिकता दिएको घटनासंग तुलना गरेका छन्।

 

 

Share Now

Leave a comment.