काठमाडौं, २१ कार्तिक। नेपालको वाणिज्य बैंकमा अग्रणी रहेको नबिल बैंकले भूकम्पप्रभावित क्षेत्रका जनतालाई राहत सामग्री उपलब्ध गराएको छ ।
प्रभावित क्षेत्रका जनताको उद्धार तथा राहतका लागि बैंकले एक करोड रुपैयाँबराबरको राहत सामग्री वितरण गर्ने निर्णय गरेको हो ।
बैंकको प्रतिनिधित्व गर्दै प्रमुख बजार अधिकृत कृष्ण सुवेदीले जिल्ला विपद् व्यवस्थापन समिति जाजरकोटद्वारा सञ्चालित एकद्वार राहत संकलन र वितरण केन्द्रमार्फत वितरण हुने गरी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत सामग्री हस्तान्तरण गर्नुभएको छ।
शुक्रबार मध्यरातमा जाजरकोटलाई केन्द्र बनाएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा पश्चिम नेपालमा ठूलो जनधनको क्षति भएको थियो । प्रभावित क्षेत्रका जनतालाई सहयोग गर्ने नबिल बैंकको आकस्मिक निर्णयसँगै राहत उपलब्ध गराइएको हो ।
प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बैंकले खाद्यान्न, त्रिपाल, ब्लाङ्केट, औषधिलगायतका एक करोड बराबरको राहत सामाग्री उपलब्ध गराएको जानकारी दिनुभएको छ ।
‘हामीले भूकम्प प्रभावित क्षेत्रका जनताको घाउमा मलम लगाउन सहयोग पुगोस् भनेर यो राहत उपलब्ध गराएका हौँ, यो हाम्रो सामाजिक उत्तरदायित्व पनि हो,’ उहाँले भन्नुभयो । उहाँले जाजरकोट र रूकुम पश्चिम दुवै क्षेत्रमा राहत सामग्री उपलब्ध गराउने जानकारी दिनुभयो ।
राहत सामग्री बोकेर नबिल बैंकको प्रतिनिधित्व गर्दै प्रमुख बजार अधिकृत सुवेदी तथा रारा क्लस्टर प्रमुख तपेन्द्र कुँवर जाजरकोट पुग्नुभएको थियो । नबिल बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न समयमा भइरहेको दैवी प्रकोप पीडितलाई राहत उपलब्ध गराउँदै आएको छ ।


















