काठमाडौं, ७ मंसिर। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔैँ महाभियान अन्तरगत काठमाडौंको बल्खुमा प्रदर्शन गर्न पुगेका व्यवसायी तथा सामाजिक अभियान्ता दुर्गा प्रसाईंको समूहलाई नेपाल प्रहरीले अश्रु ग्याँस र पानीको फोहोराले तथा नेकपा एमालेसमर्थित प्रजातान्त्रिक राष्ट्रिय युवा संघका कार्यकर्ताहरुले ढुंगामुढाले स्वागत गरेका छन् ।
उपत्यकाको प्रहरी र प्रशासनले आजका प्रदर्शनमा शक्तिको प्रयोग गर्न नपरोस भन्ने सदासयले माइतीघर। सी डि ओ कार्यालय सिंहदरबार क्षेत्र, ललितपुरको पुल्चोकस्थित मन्त्री निवास क्षेत्रमा निशेधाज्ञा जारी गरेपछि प्रसाईँको प्रदर्शन बल्खु र नेकपा एमालेको भातृसंस्था प्रजातान्त्रिक युवा संगठनको प्रदर्शन तीनकुनेमा हुन गएका थिए ।
दुर्गा प्रसाइँको प्रदर्शनमा के हुन्छ भनेर राष्ट्रिय चासो रहेको बेलामा प्रजातान्त्रिक राष्ट्रिय युवासंघका कार्यकर्ताहरुले प्रदर्शनकारीलाई ढुंगामुढा गरेपछि प्रतिरोधमा प्रसाईँका समर्थकहरुले पनि ढुंगामुढा गरेका थिए । ढुगामुढाको प्रहार सामना गरेका प्रदर्शनकारीहरुले प्रत्युक्तरमा ढुंगामुढा गर्दै प्रहरी घेरा तोडेर अगाडि बढेपछि प्रत्युत्तरमा प्रहरीले पानीको फोहरा र टियर ग्यास हानेको थियो ।
प्रदर्शनस्थलमा दुर्गा प्रसाईंले सम्बोधन गरेपछि एक व्यक्तिले मञ्चबाटै निषेधित क्षेत्र तोडेर त्रिपुरेश्वरतर्फ जाने घोषणा गरेका थिए ।
प्रदर्शनकारीको समूह बल्खुचोकबाट कालीमाटी हुँदै त्रिपुरेश्वर आउने सडकतर्फ अघि बढेपछि प्रहरीले बल प्रयोग गरेको थियो ।
ढुंगा हानाहान
नेकपा एमालेको भ्रातृ सङ्घठन राष्ट्रिय युवा सङ्घ नेपाल र दुर्गा प्रसाईँको नेतृत्वमा सञ्चालित अभियानका सहभागीबीच बल्खु क्षेत्रमा बिहीवार दिउँसो केही बेर तनाव उत्पन्न भएको थियो।
“दुई समूहबीच तनाव उत्पन्न होला जस्तो देखिएको थियो तर प्रहरीले स्थिति नियन्त्रणमा लिइसक्यो”, काठमाडौका सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताउनृभयो।
यसअघि काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ताले दुवै पक्षको कार्यक्रमका क्रममा कुनै अप्रिय घटना हुन नदिन एकीकृत सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको बताउनुभएको थियो।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुबेर कठायतका अनुसार दुईतीन दिनदेखि नै काठमाडौंका ठाउँठाउँमा अतिरिक्त सुरक्षा जाँचदेखि गस्तीसम्म भइरहेको छ।
दुर्गा प्रसाईँको कार्यक्रम
व्यवसायी समेत रहेका प्रसाईँको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔैँ महाभियान’ले विभिन्न सात स्थानबाट सहभागीहरू कार्यक्रमस्थल पुग्ने जनाएको थियो।
महाभियानको केन्द्रीय सचिवालय प्रमुख यदुनाथ सिग्देलका अनुसार गोङ्गबु चोक, स्वयम्भू, कलङ्की, चाबहिल चोक लगायतका स्थानलाई सहभागीहरू भेला हुने बिन्दु तोकिएको थियो।
उनीहरू त्यहाँबाट हिँडेर कार्यक्रमका लागि स्थानीय प्रशासनले तोकेको स्थान अर्थात् बल्खु पुगेका थिए।
महाभियानका सहप्रवक्ता राजानन्द माण्डव्यका अनुसार कार्यक्रमका सहभागीलाई धार्मिक र राष्ट्रियबाहेकका अन्य झण्डा प्रयोग गर्न निषेध गरिएको छ।
र्यालीको अग्रस्थानमा धर्मगुरुहरू, ॐकार परिवार, नाथ समुदायका व्यक्तिआदिलाई राखेर त्यसपछि मात्र अरूलाई राखिएको बताइएको छ ।
सिग्देलका अनुसार कार्यक्रमलाई दुर्गा प्रसाईँ र केही धर्मगुरुले पनि सम्बोधन गर्नुहुने छ ।
राष्ट्रिय युवा सङ्घको कार्यक्रम
स्थानीय प्रशासनले नेकपा एमाले सम्बद्ध युवा सङ्घको कार्यक्रमका लागि तीनकुने तोकेको छ जहाँ विभिन्न वडावडाबाट हिँडेर सहभागीहरू भेला हुने सङ्घका अध्यक्ष क्षितिज थेबेले बताउनुभएको छ।
“हामीले रूट तोकेका छैनौँ, रूट तोकेको भए युवा सङ्घले झन् जुध्ने अवस्था बनायो भन्थे। त्यो भएर पनि नतोकेका हौँ,” बीबीसी न्यूज नेपालीसँग उहाँले भन्नुभयो, “हाम्रो कार्यक्रम तीनकुने केन्द्रित हुन्छ। काठमाडौं उपत्यकाबाट मात्रै हामीले जनपरिचालन गरेका छौँ।”
पार्टीको जनसङ्गठनको कार्यक्रम भएकोले मुख्यतः युवा विद्यार्थीहरूले नै सम्बोधन गर्ने उहाँले बताउनुभएको थियो।
दुवै पक्षले शक्ति प्रदर्शन गर्ने उद्देश्यले कार्यक्रमको मिति जानाजान जुधाएको भन्दै कतिपयले त्यसको आलोचना गरिरहेका छन्।
तर दुवै पक्षले आफूले कार्यक्रमको मिति पहिला तोकेको दाबी गरेका छन्।
“हामीले दुई-तीन महिनाअगाडि नै कार्यक्रमको समय तय गरेका हौँ,” महाभियानको केन्द्रीय सचिवालय प्रमुख सिग्देलले भन्नुभयो ।
युवा सङ्घका नेताहरूले पनि धेरै पहिला कार्यक्रमको तिथि तोकिएको बताएका छन्।
“सरकारको अकर्मण्यताविरुद्ध माइतीघर मण्डलामा प्रदर्शन गर्ने भनेर हाम्रो सचिवालय बैठकले दशैँअगाडि नै तय गरिसकेको थियो,” सङ्घका उपाध्यक्ष महाराज गुरुङले बीबीसी न्यूजसँग भन्नुभयो, “कोही व्यक्ति वा समूहविरुद्ध नभई राज्यको अकर्मण्यताविरुद्ध हामीले प्रदर्शन गर्न लागेका हौँ। उहाँहरूको कार्यक्रमसँग हाम्रो कुनै लिनुदिनु छैन । ”
सुरक्षा व्यवस्था
दुई पक्षका सहभागीबीच कुनै पनि बिन्दुमा झडप नहोओस् भनेर स्थानीय प्रशासनले सोहीअनुरूप रणनीति अपनाएको छ।
“काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन मिलेर एकीकृत सुरक्षा योजना लागु गरिएको छ,” काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले बीबीसी न्यूज नेपालीसँग भन्नुभएको छ।
उहाँका अनुसार ड्रोनबाट समेत कार्यक्रमस्थल र आसपासको क्षेत्रबाट निगरानी गरिएको छ।
“हामीले जोइन्ट अपरेशन कमान्ड सेन्टर स्थापना गरेका छौँ जहाँबाट पलपलको अवस्थालाई हामी हेरिरहेका हुन्छौँ,” मैनालीले थप्नुभयो ।
एकाध ठाउँबाट आफ्ना सहभागीहरूलाई फर्काइएको प्रसाईँको अभियानले आरोप लगाएको छ।
तर मैनालीले त्यसको खण्डन गर्नुभयो। “शान्तिपूर्ण रूपमा सभा, जुलुस गर्ने काममा कहीँ कतैबाट अवरोध गरिएको छैन,” उहाँले थप्नुभयो।