काठमाडौं, १२ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौंमा अन्तर्राष्ट्रिय व्यापार मेला,२०२३ आयोजना गर्ने भएको छ ।
मंगलबार महासंघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आगामी मंसिर १४ देखि १८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गर्न लागेको जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिड–१९को कारण केही वर्ष रोकिएको मेला यसै वर्षबाट निरन्तरता दिन लागेको जानकारी दिनुभयो ।
मेलाले आन्तरिक उत्पादनलाई विश्व बजारमा लैजान मद्दत पुग्ने तथा अन्तर्राष्ट्रिय उत्पादनका निर्यातकर्ता र आयातकर्ताहरुको एकै ठाउँमा भेट हुने माध्यम बन्ने उहाँको भनाइ छ ।
पत्रकार सम्मेलनमा अध्यक्ष ढकालले मेलामा नेपाली उत्पादन र विदेशी उत्पादनको सहज अवलोकन गर्न सकिने बताउनुभयो । उहाँले नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाले पछिल्लो समय सुस्त हुँदै गएको आर्थिक गतिविधिलाई चलायमान बनाउन मद्दत पुग्ने अपेक्षा रहेको बताउनुभयो ।
अन्तर्राष्ट्रिय व्यापार मेलाले जिल्ला तहमा वृद्धि हुँदै गएका व्यापार मेलाहरुलाई पनि मद्दत पुग्ने उहाँको विश्वास छ ।
मेलामा चीनबाट ५५,भारतबाट ३०, बंगलादेश र पाकिस्तानबाट ८।८ वटा स्टलहरु बुकिड. भएका छन् ।
मेलामा २ सय १० वटा स्टलहरु मार्फत मेलामा स्वदेशी र विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिने भएको छ ।
नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने एक भरपर्दो माध्यम बन्दै आएको छ । मेलामा नेपालको औद्योगिक व्यवसायिक सम्भाव्यताका विषयमा जानकारी गराउन थप सहयोग पुग्ने विश्वास महासंघले लिएको छ । मेलामा चीनको गान्छु प्रदेशबाट १२ जना व्यापारिक प्रतिनिधिमण्डल र नेपाली व्यापारिकक प्रतिनिधिमण्डलबीच कृषि,जडिबुटी,औषधि,हस्तकलाका वस्तुहरुको व्यापार सम्बन्धमा पनि छलफल हुनेछ ।


















