उत्तरकाशी(उत्तराखण्ड,भारत), १२ मंसिर(बीबीसी)। विगत १७ दिनदेखि उत्तराखण्डको उत्तरकाशी एक निर्माणाधीन सुरुङमा फसेका ४१ जना मजदुरमध्ये पहिलो व्यक्तिलाई बाहिर निकालिएको छ।
गत नोभेम्बर १२ देखि भारतको उक्त निर्माणाधीन सुरुङमा फसेका मजदुरहरूलाई बाहिर निकाल्नका लागि सुरुङमा पाइप जडान गर्ने काम केही घण्टाअघि सकिएको उक्त राज्यका मुख्यमन्त्रीले बताएका थिए।
उद्धारकर्ताहरूले ती मजदुरलाई ९० सेन्टिमिटर व्यासको पाइपबाट एक-एक गर्दै निकाल्ने बताएका छन्।
नजिकै गएको एउटा पहिरोका कारण ढुङ्गा र माटो थुप्रिएपछि ती मजदुरहरू सुरुङभित्र थुनिएका थिए। उनीहरू सबै जना सकुशल भएको ठानिएको छ।
उक्त सुरुङको प्रवेशद्वारमा मजदुरहरूलाई अस्पताल लैजानका लागि एम्बुलेन्स तयारी अवस्थामा राखेका छन्। सेनाको एउटा हेलिकप्टर पनि उत्तरकाशी पुगेको छ। आवश्यक पर्यो भने उद्धार गरिएका मजदुरलाई अस्पतालबाट अन्यत्र लैजान प्रयोग गरिने जनाइएको छ।
फसिरहेका ती मजदुरहरू उक्त भत्किएको सुरुङ निर्माणमा संलग्न थिए।
अधिकारीहरूले एउटा बेग्लै सानो पाइपमार्फत् भित्र फसेका ती मानिसहरूलाई अक्सिजन, खानेकुरा र पानी पठाइरहेका थिए।
सुरुङभित्र नजिकै पहिरो आएपछि मजदुरहरू सुरुङमा थुनिएका थिए। उनीहरू कोही पनि घाइते नभएको ठानिएको छ।

उत्तराखण्डको सिक्यारा सुरुङबाहिर एम्बुलेन्सहरू राखिएको छ
उत्तरकाशीको सिल्क्यरास्थित सुरुङमा फसेका ती मजदुरका आफन्त तथा परिवार सुरुङबाहिर भेला भएका छन्।
फलामे रडहरू छिचोलेर अघि बढ्नुपर्ने तथा खुकुलो माटो र कडा चट्टान भएका कारण उनीहरूसम्म पुग्न उद्धारकर्ताहरूलाई समय लागेको थियो।
घटना
अधिकारीहरूका अनुसार नोभेम्बर १३ मा स्थानीय समयानुसार बिहान ५ बजे निर्माणाधीन सुरुङमा दुर्घटना भएको थियो।
उत्तरकाशी जिल्लामा निर्माणाधीन उक्त सुरुङ उत्तराखण्डका प्रसिद्ध तीर्थस्थलहरूलाई जोड्न यातायात व्यवस्थामा सुधार ल्याउने सङ्घीय सरकारको महत्वाकाङ्क्षी राजमार्ग परियोजनाको अङ्ग हो। कतिपय हिमाल र हिमनदीहरू रहेको उक्त क्षेत्रमा हिन्दू धर्मावलम्बीहरूका केही प्रसिद्ध तीर्थस्थलहरू छन्।
मजदुरहरूले काम गरिरहेको अवस्थामा सिल्क्यारा सुरुङको मुखदेखि २०० मिटरभित्रको भाग भत्किएको थियो।
पहिरोले सुरुङको मुख थुनिएपछि त्यहाँ अक्सिजनको आपूर्ति पनि काटिएको थियो।
तर घटना भएकै दिन राति वाकीटकी यन्त्रको माध्यमबाट सुरुङमा फसेका मजदुरहरूसँग सम्पर्क स्थापित भएको थियो।

सिक्यारा सुरुङ क्षेत्रमा सुरक्षाकर्मीहरू पनि छन्
गत शुक्रवार नै अधिकारीहरूले ती मजदुरहरूलाई केही घण्टामै बाहिर निकालिने बताएका थिए। तर सुरुङभित्र प्वाल पार्ने उपकरण भाँचिएपछि उद्धारको प्रयास अवरुद्ध भएको थियो।
त्यसैले हाते उपकरणका भरमा उद्धार प्रयास सुरु गरिएको थियो।
अधिकारीहरूले त्यहाँ दुई दर्जनको सङ्ख्यामा साँघुरा सुरुङमा काम गर्न प्रशिक्षित “र्याट होल माइनर”हरू झिकाएर काम अघि बढाएका थिए।


















