काठमाडौँ, १५ मंसिर । नेपालको क वर्गको वाणिज्य बैंक प्रभु बैंकले बेलायतको लन्डनस्थित फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने पत्रिका दि बैंकर ले प्रदान गर्ने ‘बैंक अफ दि इयर’को सम्मान प्राप्त गरेको छ ।
बेलायतमा बिहीबार साँझ भएको एक समारोहमा प्रभु बैंक सञ्चालक समितिका अध्यक्ष लिलाप्रकाश सिटौला, बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनले सम्मान ग्रहण गर्नुभएको छ ।
ुबेलायतको लन्डनस्थित फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने पत्रिका दि बैंकरले सन् २०२३ को बैंक अफ दि इयरबाट प्रभु बैंकलाई सम्मान प्रदान गरेको हो ।
सन् २००० देखि दि बैंकरले गर्दै आएको बैंक अफ दि इयर अवार्ड बैंकिङ क्षेत्रमा सबैभन्दा प्रतिष्ठित अवार्ड हो । बैंक अफ दि इयर अवार्डलाई बैंकिङ उत्कृष्टताको मानक मानिन्छ।
प्रभु बैंकले यस सम्बन्धमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, “विश्व अर्थतन्त्र चौतर्फी मन्दीको मारमा रहे पनि प्रभु बैंक नयाँ बजार र ग्राहकहरुको व्यवसायको विकास गर्न चुनौतीहरुको सामना गर्दै अधिक नागरिकलाई वित्तीय सेवा पुर्याएको, प्रतिस्पर्धी बैंकका बीचमा विकसित व्यावसायिक वातावरण बनाउन र बलियो वित्तीय कार्यसम्पादन गर्ने क्षमताको मूल्यांकन मापदण्डका आधारमा अवार्डबाट सम्मानित भएको हो ।”
‘दि बैंकर’ले विश्वभरका १२० भन्दा बढी राष्ट्रका एक हजारभन्दा बढी बैंकमध्ये हरेक राष्ट्रबाट एउटा उत्कृष्ट बैंकको छनौट गरी ‘बैंक अफ दि इयर’बाट वर्षैपिच्छे सम्मानित गर्ने गरेको छ ।
सम्मान प्राप्तिपछि बैंकका अध्यक्ष सिटौलाले नेपालको बैंकिङ प्रणालीको सफलतामा एउटा इँटा थप्न सफल भएको बताउनुभयो।
सीईओ शेरचनले बैंकले प्राप्त गरेको सम्मान संस्था, सेयरधनी, कर्मचारी, सेवाग्राही तथा शुभचिन्तकका लागि मात्रै नभएर नेपालको बैंकिङ क्षेत्रकै सफलताको रुपमा दाबी गर्नुभएको छ ।।
“आगामी दिनमा नेपाली बैंकिङ क्षेत्रमा यस्तो सफलता थप प्राप्त हुँदै जानेछन् भन्ने विश्वास समेत छ”, उहाँले भन्नुभयो । प्रभु बैंकका ३ सय बढी शाखा सञ्जाल, ७१ एक्सटेन्सन काउन्टर, ३१० एटिएम र ३१ लाख सेवाग्राही रहेको जनाएको छ ।


















