Prakash Adhikari December 1, 2023

काठमाडौँ,१५ मंसिर । कार्यबाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले संघीय लोकतान्त्रिक शासन प्रणालीको विकल्प नभएको बताउनुभएको छ ।

काठमाडौंमा शुक्रबार आयोजित नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २७ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै खड्काले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमा देखिएका समस्यालाई सञ्चालकहरूले सुधार्नुपर्ने बताउनुभएको हो ।

वर्तमान शासन प्रणालीमा आम नागरिकको सरकार सञ्चालनका सबै तहमा समावेशी प्रतिनिधित्व, प्रत्यक्ष प्रतिनिधित्व रहने भएकाले अन्य प्रणाली विकल्प हुन नसक्ने उहाँको दावी छ ।

उहाँले शासन सञ्चालन गर्नेहरूले आफ्ना काम, निर्णय, कार्यशैली, जीवनशैलीबाट आएका र देखिएका कमजोरीलाई समयमा नै सच्याएर जाँदा शासन पद्धति बलियो हुने बताउनुभयो ।

 

“यो प्रणालीमा आम जनताको, आम नागरिकको सरकार सञ्चालनका सबै तहमा समावेशी प्रतिनिधित्व, प्रत्यक्ष प्रतिनिधित्व र सबै खालका जनसंख्याको सबै तहमा प्रत्यक्ष प्रतिनिधित्वसहितको शासन सञ्चालनमा नागरिकको प्रत्यक्ष आफ्ना प्रतिनिधिहरूमार्फत पहुँच हुने तुलनात्मक रुपमा संसारको सबैभन्दा उन्नत प्रणाली हामीले हाम्रो मुलुकको संविधानमार्फत स्थापित गरेका छौं । त्यसैले हामीले भन्न सक्नुपर्छ, यो शासन प्रणालीको विकल्प छैन”, उहाँले भन्नुभयो, “तर, यो शासन प्रणालीलाई अघि बढाउँदा हामी जिम्मेवारीमा बसेकाहरूले हाम्रा कामबाट, निर्णय, कार्यशैली, जीवनशैलीबाट आएका र देखिएका कमजोरीलाई समयमा नै सच्याएर, सुधारेर तिनकै कारणले अन्यत्र गलत तरिकाले आम नागरिकलाई गलत सूचनामार्फत भ्रम पारेर संघीय लोकतान्त्रिक गणतन्त्रको उन्नत शासन प्रणालीलाई नकारात्मक रुपमा प्रस्तुत गर्नेकुरालाई हामी सबैले सामूहिक रुपमा जवाफ दिन जरुरी छ ।”

हजारौँ नागरिकको बलिदान र लामो समयको राजनीतिक संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली तुलनात्मक रुपमा मुलुकको उन्नति, प्रगति गर्ने क्षमता रहेको खड्काको भनाइ थियो । उहाँले शासकीय सुधार, सुशासन र आम नागरिकका अपेक्षा, दैनिक आम उपभोक्तालाई दिनुपर्ने सेवा र सहजीकरण, निर्णय प्रक्रियामा छिटो छरितो, निर्णय प्रक्रियामा भएका झन्झटिला प्रक्रियालाई छिटो छरितो तरिकाले तीव्र गतिमा अघि बढाउने र कमी कमजोरी सुधार्दै अघि बढ्नुपर्ने बताउनुभयो ।

उहाँले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्नका लागि सरकार र निजी क्षेत्रसहित सबै एकताबद्ध भएर समन्वयात्मक तरिकाले काम गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै, बढ्दो आयात र घट्दो निर्यातका कारण देशको अर्थतन्त्र दबाबमा परिरहेको कार्यबाहक प्रधानमन्त्री खड्काले बताउनुभयो । पूँजीगत खर्च अपेक्षाकृत रुपमा हुन नसक्नु र राजश्व परिचालन पनि अपेक्षाकृत रुपमा बढ्न नसक्नुले अर्थतन्त्रलाई लयमा ल्याउन थप मेहनत गर्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो ।

‘अहिले विश्व अर्थतन्त्र प्रभावित भइरहेको विषय हामी सबैका लागि जानकारी नै छ । सानो अर्थतन्त्र भएको नेपाल हामी पनि यसबाट अछुतो हुन सकेका छैनौँ । यस्तो जटिल र विषम परिस्थितिमा मुलुकमा आर्थिक स्थायित्व कायम गर्ने, लगानीको वातावरण सुधार गरी आय र रोजगारी बढाउन हामीले हाम्रा सम्पूर्ण प्रयासहरु केन्द्रित गर्नुपर्ने खाँचो छ”, उहाँले भन्नुभयो, “बढ्दो आयात र घढ्दो निर्यातका कारण हाम्रो अर्थतन्त्र सधैँ दबाबमा परिरहेको छ । विविध समस्या हामी सामना गरिरहेका छौँ । त्यसमाथि पूँजीगत खर्च अपेक्षाकृत रुपमा हुन नसक्नु र राजश्व परिचालन पनि अपेक्षाकृत रुपमा बढ्न नसक्नुले अर्थतन्त्रलाई लयमा ल्याउन हामीले थप मेहनत गर्नुपर्छ ।”

कार्यबाहक प्रधानमन्त्री तथा रक्षा मन्त्री खड्काले सेजन अवार्ड पनि वितरण गर्नुभएको थियो ।

 

Share Now