Prakash Adhikari December 10, 2023

काठमाडौं, २४ मंसिर । नेपाल सरकारले नागरिक उड्डयन प्राधिकरणको संचालक समितिको सदस्यमा नेपाल वायुसेवा निगमको इञ्जिनियरिड. विभागका पूर्व निर्देशक अच्युतराज पहाडीलाई नियुक्त गरेको छ ।

उहाँलाई २०८० मंसिर १३ गतेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरणको सञ्चालक सदस्यमा नियुक्त गरेको हो । नेपाल वायुसेवा निगममा झण्डै तीन दशकसम्म सेवा गरेर इन्जिनियरिङ विभागको निर्देशकको जिम्मेवारी सम्हाल्नु भएका पहाडी ५ वर्ष निगमको सञ्चालक समितिको सदस्य पनि रहनुभएको थियो ।

एयरक्राफ्ट मेन्टेनेन्स इन्जिनियरको रुपमा ३७ बर्ष काम गरेको अनुभव संगाल्नुभएका पहाडीको नियुक्तिले प्राधिकरण थप सशक्त हुने विश्वास गरिएको छ ।

युरोपियन युनियनले नेपालको हवाई आकाशलाई कालो सुचीमा राखेको र नेपाल वायुसेवा निगम र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच चिसो सम्बन्ध कायम भएको बेलामा प्राधिकरणमा उहाँको प्रवेशले सो सम्बन्धलाई न्यानो बनाउने अपेक्षा पनि गरिएको छ ।

उहाँले आफ्नो योग्यता,अनुभव र विज्ञताको उपयोग गरेर नेपालको नागरिक उड्डयनलाई सुरक्षित,भरपर्दो,विश्वसनीय,समयबद्ध बनाउदै युरोपियन युनियनको सुरक्षा सूचीबाट नेपाललाई बाहिर ल्याउन योगदान पुर्याउने बताउनुभएको छ ।

 

Share Now