काठमाडौं, २४ मंसिर । हिमालयन रिइन्सुरेन्स कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरेको आइपीओ आइतबार बाँडफाँट भएको छ । यस आइपीओमा आवेदकहरुले न्यूनतम १० कित्तादेखि अधिकतम १ सय ८० कित्तासम्म सेयर हात पारेका छन् ।
१० कित्तादेखि १ सय ७० कित्तासम्म आवेदन दिनेहरु सबैलाई माग अनुसार सेयर बाँडफाँट गरिएको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जानकारी गराएको छ ।
यस्तै, १८० कित्तादेखि १९ हजार ५०० कित्तासम्म आवेदन दिनेहरुलाई १७० कित्ताको दरले सेयर दिइएको छ । यसरी बाँडफाँट गरिसकेपछि बाँकी रहेको २६ हजार ५१० कित्ता सेयर भने सोही आवेदकहरुमध्येबाट गोलाप्रथा गरी २ हजार ६५१ जनालाई १० कित्ताको दरले थप गरिएको छ । अर्थात, उनिहरुले कुल १८० कित्ताका दरले सेयर पाएका छन् ।
हिमालय रिइन्सुरेन्सको आइपीओमा वैदेशिक रोजगारीमा रहेका कुल ३२ हजार ६४ जनाले आवेदन दिएकामा ८ जनाको आवेदन रद्द भएको थियो । कम्पनीले कात्तिक २१ गतेदेखि मंसिर ६ गतेसम्म ३० लाख कित्ता सेयर बिक्री गरेको थियो ।
कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता २०६ रुपैयाँ दरले आइपीओ बिक्री गरेको हो ।