Prakash Adhikari December 11, 2023

काठमाडौं, २५ मंसिर । एनसेलको ८० प्रतिशत सेयर बिक्रीबारे छानबिन गर्न गठित सरकारी समितिले काम थालेको छ। समितिले आइतबारदेखि काम थालेको हो।

मन्त्रिपरिषद्‌को मंसीर २१ गतेको बैठकले एनसेलको सेयर बिक्रीमा कानूनको परिपालन र नेपालमा वैदेशिक लगानीमा पर्नसक्ने असरबारे अध्ययन गरी सुझावसहितको प्रतिवेदन बुझाउन पूर्वमहालेखा परीक्षक टंकमणि शर्माको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको थियो। समितिलाई ३० दिनको समय दिइएको छ।

अध्ययन तथा छानविनका क्रममा सम्बन्धित क्षेत्रका नियामक, सरकारी अधिकारी र सम्बन्धित क्षेत्रका विज्ञ र सम्बन्धित सेवा प्रदायक कम्पनीसँग छलफल गर्ने समितिले आइतबार प्रेस विज्ञप्‍तिमार्फत जनाएको छ।

समितिले एनसेलको सेयर खरिद बिक्रीसँग सम्बन्धित तथ्यपरक जानकारी, सूचना वा प्रमाण भए आफूलाई उपलब्ध गराउन आग्रह गरेको छ। समितको सचिवालय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा राखिएको छ।

Share Now