Prakash Adhikari December 11, 2023

काठमाडौं, २५ मंसिर(बीबीसी) । आन्तरिक उडानका लागि नेपाल वायुसेवा निगमले सानो आकारका जहाजहरू खरिद गर्ने प्रक्रियालाई चाँडै टुङ्गाउने निगमका अधिकारीहरूले बताएका छन्।

निगमलाई जहाज बेच्न भारत, क्यानडा र चेक रिपब्लिकका तीनवटा कम्पनीले इच्छा देखाएसँगै अधिकारीहरूले उक्त प्रक्रियालाई “सकेसम्म चाँडै टुङ्ग्याउने” बताएका हुन्।

नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले बीबीसीसँग भन्नुभएको छ, “हामी अहिले आएका प्रस्तावहरूको मूल्याङ्कनको चरणमा छौँ। मूल्याङ्कन सकेपछि कार्यविधिले तोकेअनुसार प्रक्रिया अघि बढाएर जहाज खरिद गर्छौँ।”

उहाँका अनुसार अहिले नै मिति तोकेर कहिले जहाज आइपुग्छ भन्न नसकिने तर सकेसम्म चाँडै ल्याउने तयारीमा निगम रहेको छ।

निगमले गत अक्टोबर २२ मा जहाज किन्नका लागि आह्वान गरेको बोलपत्रको म्याद गत साता सकिएको थियो।

डिसेम्बर ५ मा बोलपत्रको म्याद सकिँदा भारतको हिन्दूस्थान एरोनोटिक्स लिमिटेड, क्यानडाको डी ह्याभिल्यान्ड एयरक्राफ्ट अफ क्यानडा लिमिटेड र चेक रिपब्लिकको एयरक्राफ्ट इन्डस्ट्रिज ए।एस।ले निगमलाई जहाज बेच्ने इच्छा देखाएको निगमका प्रवक्ता रमेश पौडेलले बीबीसीलाई बताउनुभयो।

“तीनवटा कम्पनीले हामीलाई जहाज बिक्री गर्न चासो देखाएका छन्। त्यसबारे निगम आन्तरिक छलफल र मूल्याङ्कनको चरणमा छ। जहाजबारे हामीले चाँडै निर्णय गर्छौँ।”, प्रवक्ता पौडेलले भन्नुभयो ।

निगमले कस्ता जहाज किन्न खोज्दै छ?

निगमले नेपालका आन्तरिक र अझ त्यसमा पनि दुर्गम क्षेत्रमा उडान गर्न सक्ने खालका ‘सर्ट टेकअफ एन्ड ल्यान्डिङ’ अर्थात् एसटीओएल जहाज किन्न खोजेको अधिकारीहरू बताउँछन्।

निगमले बोलपत्र आह्वान गर्नुअघि आन्तरिक रूपमा एउटा समिति बनाएर अध्ययनसमेत गराएको थियो।

सोही समितिको सिफारिसअनुसार जहाज किन्ने प्रक्रिया अघि बढाइएको अधिकारीहरू बताउँछन्।

निगमले आफ्नै स्रोतबाट जहाजहरू खरिद गर्न लागेको पौडेलले जानकारी दिनुभयो।

सरकारी स्वामित्वको उक्त संस्थाको संरचनागत तथा व्यवस्थापकीय सुधारका लागि अध्ययन र सिफारिसका लागि गठन भएको एउटा समितिले पनि उसलाई आन्तरिक स्रोतबाट जहाज खरिद गर्न सुझाव दिएको थियो।

निगमको आन्तरिक र संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयले गठन गरेका दुवै समितिले जहाज किन्न गरेको सिफारिसका आधारमा निर्णय भएको अधिकारीहरूको भनाइ छ।

थप गन्तव्यमा सेवा

निगमले तीनवटा नयाँ जहाज थप्न लागेको प्रवक्ता पौडेलले जानकारी दिनुभयो।

उहाँका अनुसार नयाँ जहाज थपिएपछि हाल निगमले उडान गरिरहेका गन्तव्यहरू थप विस्तार हुनेछन्।

निगमले अहिले आफ्ना दुईवटा ट्वीनअटर जहाजबाट आन्तरिक उडानहरू गर्दै आएको छ।

ती जहाजहरूले देशका विभिन्न १५ वटा गन्तव्यमा साताको २५ वटा उडान गर्दै आएको निगमले जनाएको छ।

निगमका प्रवक्ता पौडेलका अनुसार जहाजहरू थपिएपछि हाल १५ वटा गरेका गन्तव्यहरू विस्तार भएर २२ वटा पुग्नेछन्।

सोल्टीको शेयर बेचेर जहाज किन्न सुझाव

पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीको अध्यक्षतामा गठन भएको ‘नेपाल वायुसेवा निगमको संरचनागत एवं व्यवस्थापकीय अध्ययन तथा सिफारिस समिति’ले पनि निगमलाई थप जहाजहरू किन्न सुझाव दिएको थियो।

उक्त समितिको प्रतिवेदनमा निगमले आन्तरिक स्रोतबाटै जहाज किन्न सक्ने सुझाव दिइएको छ।

त्यसका लागि समितिले निगमलाई स्रोतको जोहो गर्ने उपाय पनि सुझाएको छ।

केहीअघि बुझाइएको उक्त प्रतिवेदनमा निगमको सोल्टी होटलमा रहेको शेयर बिक्री गरेर जहाज थप गर्न सकिने सुझाव दिइएको छ।

प्रतिवेदनमा भनिएको छ, “सोल्टी होटल लिमिटेडको‘ शेयर बिक्री गरी प्राप्त हुने रकम नयाँ जहाज खरिद गर्न उपयोग गर्न सकिने देखिन्छ।”

सोल्टीमा निगमको शेयर

सोल्टी होटलमा निगमको सुरुको शेअरमा पछि बोनस शेअर पनि थपिएको उक्त प्रतिवेदनमा उल्लेख छ।

त्यसमा भनिएको छ, “निगमको सोल्टी होटल लिमिटेडमा सुरुमा ६ लाख थान शेयर स्वामित्व रहेकोमा बोनस शेयरसहित सो सङ्ख्या १ करोड ३ लाख ३३ हजार ६ सय ९९ पुगेको छ।”

“उक्त शेअरको मिति २०८०।०५।१९ को बजार मूल्य प्रति कित्ता रु. ४४३ भएको देखिन्छ।”

“उक्त बजार मूल्यको हिसाबले उक्त शेअरको कुल बजार मूल्य रु. ४ अर्ब ५७ करोड ७८ लाख २८ हजार ६५७ पुगेको छ।”

निगमलाई जहाज बेच्न इच्छा देखाएको भारतको कम्पनीले डोर्निअर जहाज निर्माण गर्छ।

त्यस्तै क्यानडाको कम्पनीले ट्वीनअटर जहाज निर्माण गर्दै आएको छ भने चेक रिपब्लिकको कम्पनीले एल ४१० जहाज बनाउँछ।

जानकारहरू अहिले निगमले ट्विनअटर जहाज उडाइरहेकाले उसको पहिलो प्राथमिकता क्यानेडिअन कम्पनी नै हुनसक्ने बताउँछन्।

Share Now