Prakash Adhikari December 11, 2023

काठमाडौं, २५ मंसिर । हिमालय र पर्वतहरुको महत्वबारे आम नागरिकलाई जानकारी दिन आज डिसेम्बर ११ लाई विश्व पर्वत दिवसको रुपमा संसारभर मनाइँदै छ ।

संयुक्त राष्ट्र संघको आह्वानमा सन २००३ देखि विश्व पर्वत दिवस मनाउन थालिएको हो । राष्ट्र संघका अनुसार पृथ्वीको पर्वतीय भूभागमा कूल जनसंख्याको करिब १५ प्रतिशत मानिस बस्दछन् । तर पृथ्वीको जैविक विविधताको आधाजस्तो विशेष महत्वका क्षेत्रहरु र जोखिमका क्षेत्रहरु पनि यसै क्षेत्रमा पर्दछन् । हिमाल र पर्वतीय क्षेत्रले पृथ्वीको आधा जनसंख्यालाई ताजा पानीको स्रोत उपलब्ध गराउदछन् ।

तर दुर्भाग्यवस जलवायु परिवर्तन र अधिक दोहनले पर्वतहरु जोखिममा परेका छन र जसले मानव जाति र पृथ्वीलाई जोखिमा पारिरहेको छ ।

जलवायु परिर्वतनका कारण हिमाली क्षेत्रमा हिउँ पग्लने दरमा बृद्धि भएको छ । हिमनदीहरु सुक्दै गएका छन् । यसले तल्लोभेगमा हुने पानीको नियमित आपूर्तिलाई असर गरेको छ । हिमाली क्षेत्रका विपन्न नागरिकहरुको जीवन झन कष्टकर बनाएको छ ।

वनको फडानी र डँडेलो जस्ता गतिविधिले हिमाली र पहाडी क्षेत्रमा भूक्षय बढीरहेको छ । पहिरो बढेको छ । वासस्थान संकुचित र असुरक्षित हुँदै गएकोले बन्यजन्तुको संख्यामा असर गरिरहेको छ । विश्वका ३१ करोड १० लाखभन्दा बढी ग्रामीण पहाडी र हिमाली क्षेत्रका मानिसहरु जमिन क्षयको मारमा परेका छन् । १७ करोड ८० लाख मानिसहरु खाद्य असुरक्षाको मारमा परेका छन् ।

यही बढ्दो संकटलाई दृष्टिगत गरी संयुक्त राष्ट्रसंघले यस बर्षको विश्व पर्वत दिवसको नारा पर्वतीय परिस्थितिकीय प्रणालीको पुनस्थापना गर्दै भन्ने राखेको हो । यसले पर्वतीय इकोसिस्टमको सान्दर्भिकताको बारेमा जनचेतना अभिबृद्धि गरी प्रकृतिआधारित समाधान, सर्वोत्तम अभ्यास र लगानीहरु खोज्न आह्वान गर्नेछ जसले ्लचिलोपन निर्माण गर्दछ, जोखिम कम गर्दछ र पहाडहरूको दैनिक खतरा र चरम मौसमी घटनाहरूसँग अनुकूलन गर्ने क्षमता बढाउँछ।

राष्ट्रसंघले यो नारा राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन र राष्ट्रसंघीय वातावरणीय कार्यक्रमको सहनेतृतवमा सन् २०२१ देखि २०३० सम्मको इकोसिस्टम पुनस्थापना दशकसंग तादात्म्य रहने गरी तय गरेको हो । यस दशक राजनीतिक सहयोग, वैज्ञानिक अनुसन्धान र वित्तीय स्रोत तथा साधन आकर्षित गरी पुनस्थापनाको गति बृद्धि गर्दै पर्वतीय इकोसिस्टमलाई थप क्षय हुनबाट रोक्ने अवसरको रुपमा राष्ट्रसंघले लिएको छ ।

भनिन्छ विश्वको ८० प्रतिशत खाद्यान्न आपूर्ति गर्ने २० जातिका विरुवामध्ये ६ जातिको उत्पति र विविधिकरण पहाडी क्षेत्रमा भएको छ जसमा मकै,आलु, जौ, ज्वार, आलु र स्याउ रहेका छन् । जलवायु परिवर्तनका लागि अन्तरसरकारी समिति(प्यानेल)ले जनाए अनुसार ८४ प्रतिशत स्थानीय पर्वतीय प्रजातीहरु विलोप हुने जोखिममा छन् ।

पर्वत र पर्वतीय परिस्थितिकीय प्रणालीको महत्वलाई नेपाली जनमानसमा बुझाउन पर्वतारोहण र पर्वतीय क्षेत्रका बासिन्दाहरुको जीविकोपार्जनका क्षेत्रमा काम गरिरहेको नेपाल पर्वतारोहण संघले आज विशेष कार्यक्रमको आयोजना गरेको छ ।

पर्वतीय क्षेत्रको विकासको लागि समर्पित संघले पोखराको अन्तर्राष्ट्रिय पर्वतीय संग्राहलयको परिसरमा आठौं पर्वतीय महोत्सव मनाइरहेको छ । गत शुक्रबारदेखि आरम्भ भएको महोत्सवमा जलवायु परिवर्तनले हिमालसँगै हिमाली जनजीवनमा पारेको प्रभावका बारे पनि जानकारी दिन सामूहिक बहसको कार्यक्रम राखिएको छ । ‘हिमाल किन कालो हुँदैछ ? के यो परिवर्तन हाम्रो जीवनसँग सम्बन्धित छ ?’ शीर्षकमा विश्व वन्यजन्तु कोषका डा घनश्याम गुरुङ, इसिमोडकी डा अमिना महर्जन र पत्रकार कुन्द दीक्षितले बहस गर्नुहुने छ । उक्त बहस आज दिउँसो १ बजे महोत्सवको स्थल अन्तराष्ट्रिय पर्वतीय संग्राहलय परिसर रातोपैरेमा सुरु हुनेछ ।

शुक्रबारदेखि आरम्भ भएको पाँच दिवसीय आठौं पवतीय महोत्सवमा हिमाली क्षेत्रका उत्पादन र जैविक विविधता बारे जानकारी दिने २७ वटा स्टलहरु राखिएक छन् ।

निशुल्क प्रवेशको व्यवस्था भएको पर्वतीय महोत्सवमा विश्व कीर्तिमानधारी पर्वतारोही र नेपालका झोलुड.गे पुलहरुको फोटो प्रदर्शनी राखिएको छ । महोत्सवमा पासाङ, माउन्टेन म्यान, सोफी लाभाड, द सेकेन्ड समिट, अई–डेला हट्स भ्यालिस र एभरेस्ट म्यान वृत्तचित्र प्रदर्शन भइरहेका छन् ।

महोत्सवकै अवसरमा फरकफरक भूगोलमा एकै प्रकारको हिमाली जनजीवन चिनाउने गरी अस्ट्रियन आमाछोरी डा इरिका हुबाचेक र उनकी छोरी इर्मट्रड हुबाचेकले खिचेका नेपालसम्बन्धी तस्बिर पनि प्रदर्शनमा राखिएको छ ।

महोत्सवमा छेलो, जीपलाईन, धनुषवाण प्रतियोगिता पनि रहेका छन् । महोत्सवलाई उल्लासमय बनाउन दोहोरी गीत पनि राखिएको छ । जसले आगन्तुकहरुलाई भरपूर मनोरञ्जन दिइरहेको छ ।

 

 

 

Share Now