Prakash Adhikari May 1, 2018

काठमाडौं, १८ बैशाख । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी श्रमिक संंघर्ष नै विश्व मजदूर आन्दोलनको प्रेरणा स्रोत बनेको बताएका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक दिवस (मई १ ) को अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली श्रमजीविहरुमा शुभकामना दिंदै उनले सो कुरा उल्लेख गरेका हुन् ।

उनले १२९ औं मई दिवसको अवसरमा नेपाल र विश्वका मजदुरहरुसँग नेकपा माओवादी केन्दको जुझारु ऐक्यवद्धता जनाउदै नेपाली जनताको मुक्तिकामी आन्दोलनमा श्रमिक वर्गले गरेको त्याग, तपश्या र बलिदानप्रति कृतज्ञता अर्पण पनि गरेका छन्।

मई १ सन् १८८६ मा आठ घण्टाको कार्य दिवससहित अमेरिकी मजदुरहरुले शिकागो सहरमा गरेको संघर्षको स्मरण गर्दै उनले भनेका छन, ‘अमेरिकी श्रमिकहरुको यही संघर्ष नै पेशागत हक, हित र सुरक्षाका लागि विश्वका मजदुरहरुको प्रेरणास्रोत बन्यो ।’

देश स्थिरता र समृद्धिको बाटोमा अग्रसर भएको उल्लेख गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका माओवादीका अध्यक्ष प्रचण्डले सर्वहारावादी कम्युनिष्टहरुको एकताले मात्र मुक्तिकामी श्रमिक वर्गको हक र अधिकारको सुनिश्चितता गर्न सकिने बताएका छन् । उनले भनेका छन्, ‘त्यसका लागि समाजवादको आधार निर्माण गर्न संघर्ष गर्नु नेपाली श्रमिक वर्गको मुख्य कार्यभार हो ।’

उनले संविधानको सफल कार्यान्वयन सहित स्थिरता, समृद्धि र समाजवादी अर्थतन्त्रको विकासका लागि थप भूमिका निर्वाह गर्न मजदुरहरुलाई आग्रह पनि गरेका छन् ।

Share Now

Leave a comment.