काठमाडौं १८ वैशाख ।प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार लोकतन्त्रलाई सुदृढ गरी श्रमजीवि वर्गलाई समृद्ध बनाउन कटिबद्ध रहेको बताएका छन् ।
अन्तराष्टिय श्रमिक दिवस मई १ को अवसरमा स्वदेश तथा विदेशका श्रममा संलग्न नेपालीहरुलाई शुभकामना सन्देश दिंदै उनले सो कुरा बताएका हुन् ।
कुनै पनि निर्माणका आधार श्रमजीवी वर्ग नै भएको बताउदै प्रधानमन्त्री ओलीले समृद्ध नेपाल र सुखी नेपालीको सपना साकार पार्ने आधार पनि श्रमिक वर्ग नै रहेको उल्लेख गरेका छन् ।
प्रधानमन्त्री ओलीले सबै श्रमजीवी नेपालीमा सुख, समृद्धि र मर्यादित जीवनका लागि शुभकामना देशको आर्थिक सामाजिक रूपान्तरणमा पूर्ण क्षमताको सदुपयोग गर्दै संलग्न रहन मे दिवसले प्रेरणा दिन सकोस भन्ने कामना गरेका छन् ।
प्रधानमन्त्री ओलीले नेपालको हरेक राजनैतिक–सामाजिक परिवर्तनमा श्रमिक वर्गले आफ्नो जीवन र रोजगारीको पर्वाह नगरी ऐतिहासिक भूमिका निर्वाह गर्दै आएको स्मरण गर्दै नेपालमा युगान्तकारी परिवर्तनका लागि श्रमजीवी वर्गले पुर्याएको योगदानप्रति उच्च सम्मान पनि प्रकट गरेका छन्।
प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, “परिश्रममा विश्वास गर्ने आम श्रमजीवी वर्गको हक, हित र अधिकारको सुनिश्चितता नभएसम्म देशको समग्र विकास र आर्थिक सामाजिक रूपान्तरण सम्भव हुँदैन । त्यसैले वर्तमान सरकार देशमा श्रमको सम्मान गर्ने र सबै प्रकारका श्रम शोषणको अन्त्य गर्ने दिशामा अग्रसर छ । यही सन्दर्भमा म श्रम ऐन, २०७४ को पूर्ण कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको कुरा व्यक्त गर्दछु । सरकार योगदानमा आधारित सामाजिक सुरक्षा परियोजनाको कार्यकममा सम्पूर्ण श्रमिकलाई समेटन अग्रसर छ । त्यसक्रममा सरकारले उचित ज्याला प्रणाली अन्तर्गत मार्यादित कामको सुनिश्चितता कायम गर्नका लागि न्यूनतम ज्यालामा वृद्धि गर्ने योजना बनाएको छ । ”
प्रधानमन्त्रीले देशभित्र श्रमको उचित ढंगले सदुपयोग र सम्मान गर्ने वातावरणको अभाव रहेका कारण ठूलो संख्यामा युवा जनशक्ति श्रमका लागि मुलुकबाट बाहिरिन बाध्य भएको र श्रम शोषणको शिकार हुन विवश भएको उल्लेख गर्दै भनेका छन् “रोजगारीका लागि ज्यानको समेत जोखिम मोलेर बिरानो भूमिमा कठिन र कष्टकर श्रममा समेत संलग्न हुन बाध्य नेपाली युवा श्रमिकहरूको अवस्थाप्रति सरकार सम्वेदनशील छ । त्यसैले सक्रिय युवा जनशक्तिको ज्ञान, सीप र ऊर्जालाई सम्पूर्ण रूपमा देशको विकास र निर्माणका निम्ति सदुपयोग गर्ने वातावरण सृजना गर्न सरकारले आफ्नो ध्यान केन्द्रित गर्न थालिसकेको छ । समृद्ध नेपाल, सुखी नेपालीको एकनिष्ठ ध्येयका साथ आर्थिक सामाजिक रूपान्तरणका लागि अग्रसर वर्तमान सरकार देशमा विद्यमान श्रमशक्तिको पूर्ण सदुपयोग गर्न प्रतिबद्ध छ ।”
संविधानमा व्यवस्था गरिएका श्रमसम्बन्धि हक अधिकारको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले से व्यवस्थालाई व्यवहारमा कार्यान्वयनमा ल्याउन सरकार प्रयासरत रहेको बताएका छन् ।


















