Prakash Adhikari May 1, 2018

सानेपा(ललितपुर), १८ बैशाख । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अन्तराष्टिय श्रमिक दिवस (मई दिवस)को अवसरमा शुभकामना सन्देश दिदैं लोकतान्त्रिक व्यवस्थामा मात्र श्रमिकहरुको हकहित संभव हुने बताएका छन् ।

सोमबार एक शुभकामना सन्देश दिदै कांग्रेस सभापति देउवाले भनेका छन्, ‘मै १ तारिख श्रमिक वर्गले लामो संघर्षपछि आफ्नो अधिकार प्राप्त गरेको एक ऐतिहासिक दिन हो । यस ऐतिहासिक दिवसका अवसरमा म सम्पूर्ण श्रमिक दाजु–भाइ तथा दिदी–बहिनीहरुमा हार्दिक शुभ–कामना व्यक्त गर्दछु ।’

उनले नेपालमा मजदूर आन्दोलन लोकतान्त्रिक आन्दोलनको अभिन्न अंगको रुपमा विकसित भएको ऐतिहासिक तथ्य उजारगर गदै भनेका छन्, ‘नेपाली कांग्रेसको स्थापनासंगै राणा शासन हटाएर लोकतान्त्रिक शासन पद्धतिको स्थापना गर्न वि.स. २००३ सालमा नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा विराटनगरमा मजदूरहरुको पहिलो ऐतिहासिक आन्दोलन भएको थियो । सरकारले त्यो लामो आन्दोलनलाई निर्ममतापूर्वक दवाउने नीति अख्तियार गरेर सो आन्दोलनमा संलग्न नेता गिरिजाप्रसाद कोइराला, जननायक बी.पी. कोइराला लगायत धेरै नेताहरुलाई पक्राउ गरेको थियो । नेपालमा प्रजातन्त्रको स्थापना अथवा २००७ को ऐतिहासिक जनक्रान्तिको प्रस्थान विन्दु यही मजदुर आन्दोलन थियो । त्यसैले नेपाली कांग्रेस र मजदूरहरु सधैं एक अर्कामा आवद्ध भएर एक अर्काका अनन्य सहयोगी भएर रहिआएको कुरा सर्वविदितै छ ।’

पूर्व प्रधानमन्त्री देउवाले नेपाली कांग्रेस आफूले राजपाठ सम्हालेको समयमा मजदूर हकहितका पक्षमा काम गर्दै आएको स्मरण गर्दै भनेका छन्, ‘२०१६ मा नेपाली कांग्रेसको जन–निर्वाचित सरकारले नै कारखाना र मजदूर सम्बन्धी कानूनको तर्जुमा गरेर, मजदूरहरुलाई कानूनसम्मत् अधिकार प्रदान गरेको हो । नेपाली कांग्रेसको नेतृत्व र अग्रसरतामा श्रमिकहरुको अधिकार सुनिश्चित गराउन २०४८ सालमा श्रम ऐन, २०४९ सालमा ट्रेड युनियन ऐन र २०७४ सालमा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन र संशोधित श्रम ऐन ल्याइएको थियो । आज पनि नेपालका श्रमिक दाजुभाइ तथा दिदी बहिनीहरुले अनेक समस्याहरुलाई व्यहोर्नु परेको छ । कसरी श्रमिकको समस्यालाई समाधान गरेर उनीहरुको हक र हितको सम्वद्र्धन गर्न सकिन्छ, त्यसप्रति नेपाली कांग्रेस सदैव सचेत भएर लागिरहेको छ । ‘

कांग्रेसका सभापति देउवाले भनेका छन् ,’नेपाली जनताको लामो त्याग र वलिदानको फलस्वरुप आफ्ना जनप्रतिनिधि मार्फत निर्माण भएको नेपालको संविधान बमोजिम स्थानीय, प्रदेश, प्रतिनिधिसभा र राष्ट्रिय सभाको ऐतिहासिक महत्वका निर्वाचनहरु सम्पन्न भई संविधानको सफल कार्यान्वयन भैसकेको छ ।  संक्रमणकालिन राजनीतिबाट मुलुकले निकास पाएको  छ ।लोकतन्त्रमा मात्र श्रमको सम्मान हुने भएको हुँदा लोकतन्त्रको रक्षा र सम्वद्र्धन गर्नु सबैको कर्तव्य र दायित्व भएकोले यस दिशातर्फ सम्पूर्ण श्रमिक दाजुभाई तथा दिदी बहिनीहरु अत्यन्त सजग र जिम्मेवार रहनुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।’

Share Now

Leave a comment.