जेरुसेलम(इजराइल), १८ बैशाख ।इजराइलका प्रधानमन्त्रीले ‘पावर पोइन्ट’ मा इरानका गोप्य दस्तावेजहरूका बारेमा प्रस्तुती दिएका थिए।
तेहेरानले आफ्नो परामाणु महत्त्वाकांक्षाबारे विश्वलाई ढाँटेको भन्ने प्रमाणित गर्ने हजारौँ पाना भएका दस्तावेजहरू आफूसँग रहेको भन्ने इजराइलको दाबीलाई इरानले अस्वीकार गरिदिएको छ।
इरानी विदेशमन्त्री जभाद जारिफले अन्तर्राष्ट्रिय परमाणू उर्जा निकायले सम्बोधन गरिसकेका पुराना आरोपहरूलाई पुन: मिलाएर प्रस्तुत गरिएको टिप्पणी गरेका छन्।
उनले इजराइल प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले इरानसँग अन्तराष्ट्रिय परमाणु सम्झौता तोड्ने अमेरिकी राष्ट्रपतिको चाहनालाई पूरा गर्न मद्दत गर्न पछिल्लो दाबी प्रस्तुत गरेको आरोप लगाए।
नेतन्याहुले ती दस्तावेजहरूले सन् २०१५ को सम्झौतापछि इरानले आफ्नो परमाणु ज्ञान अभिवृद्धि गर्ने कामलाई निरन्तरता दिइरहेको प्रमाणित गरेको बताएका छन्।
प्रतिक्रिया
अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले भनेको छ इजराइलले सार्वजनिक गरेका विवरण केही समय पहिले नै आफ्नो जानकारीमा आएका विवरणसँग मेल खाएको छ र इरानले गोप्य रुपमा आफ्नो परमाणु कार्यक्रमलाई निरन्तरता दिइरहेको छ।
तर राष्ट्रपति ट्रम्पले आगामी दुई हप्तापछि निर्णय गर्दा उक्त सम्झौता तोड्ने या नतोड्ने केही खुलाएका छैनन्।
लामो समयदेखि ट्रम्पले उक्त सम्झौता इरानको पक्षमा भएकाले त्यसलाई खारेज वा संशोधन गर्नुपर्नेमा जोड दिदैँ आएका छन्।
तर उक्त सम्झौताका अन्य हस्ताक्षरकर्ता ब्रिटेन, फ्रान्स र रूसले ट्रम्पलाई उक्त सहमतिबाट अलग नहुन भनिरहेका छन्।




















