Prakash Adhikari April 30, 2018

काठमाडौं, १७ बैशाख।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र पदाधिकारी चयनको विषयलाई लिएर गम्भीर विवाद देखापरेको छ।

वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षले सभापति शेरबहादुर देउवाले एकलौटी गर्न लागेको भन्दै बहिष्कार गर्ने चेतावनी दिएपछि सोमबारको निम्ति डाकिएको कांग्रेसको बैठक वैशाख २१ गतेको निम्ति सारिएको छ।

तर देउवानिकट एकजना नेताले उक्त बैठकबाट प्रक्रियासम्मत ढंगले निर्णय लिने बताए।

नेताहरूका अनुसार सभापति देउवा मनोनित गर्ने पदाधिकारीको नाम प्रस्ताव गर्ने तयारीमा थिए।

पौडेल अडान

तर वरिष्ठ नेता पौडेलपक्षको बहिष्कार गर्ने चेतावनी पछि बैठक सारियो।

एकलौटी गर्ने हो भने तपाईँ पार्टी चलाउनुस् भनेर हामी वहिष्कार गर्छौं भनेर हिँडेकै हो। हाम्रो अडान त्यही हो
रामचन्द्र पौडेल, वरिष्ठ नेता, कांग्रेस

नेता पौडैलले पदाधिकारी मनोनयन सहमतिमा गर्न सभापति तयार नभएमा आउँदो बैठक पनि आफ्नो पक्षले वहिष्कार नै गर्ने चेतावनी दिए।

उनले भने, “एकलौटी गर्ने हो भने तपाईँ पार्टी चलाउनुस् भनेर हामी बहिष्कार गर्छौं भनेर हिँडेकै हो। हाम्रो अडान त्यही हो।”

दुई वर्ष बितिसकेपछि पदाधिकारी गर्न बाधा-अड्काउ फुकाउनुपर्ने पौडेलले बताए।

देउवापक्षका नेताहरूकाअनुसार महामन्त्री शशांक कोइरालाले सहमतिको निम्ति केही दिन पर्खिन आग्रह गरेपछि बैठक सारिएको हो।

मतदान

कोइराला महाधिवेशनमा पौडेल खेमाबाट निर्वाचित भएका हुन्।

आफूले भनेको मात्रै हुनुपर्छ भन्ने जिद्दी गर्न त भएन नि। प्रजातान्त्रिक पार्टीमा विधिको सम्मान हुनुपर्छ। अबको बैठकबाट प्रक्रियासम्मत रुपमा निर्णय हुन्छ
प्रकाशशरण महत, देउवा निकट नेता

यसो भए के पौडेल पक्ष सहमत नभए वैशाख २१ गतेको बैठकमा मतदानबाट पदाधिकारीको टुंगो लगाउने सभापतिको तयारी हो?

देउवा निकट एकजना नेता प्रकाशशरण महतले भने, “तर आफूले भनेको मात्रै हुनुपर्छ भन्ने जिद्दी गर्न त भएन नि। प्रजातान्त्रिक पार्टीमा विधिको सम्मान हुनुपर्छ। अबको बैठकबाट प्रक्रियासम्मत रुपमा निर्णय हुन्छ।”

कांग्रेसमा सभापतिले एक-एकजना उपसभापति, महामन्त्री र सह-महामन्त्री मनोनित गर्न पाउने व्यवस्था छ।

तर ती नाम निर्वाचित सदस्यबाट अनुमोदन गराउनुपर्ने हुन्छ।

Share Now

Leave a comment.