
बीबीसी, लण्डन, ८ कार्तिक । चिनियाँ राष्ट्रपति सि जिनपिङले पार्टी नेतृत्वपंक्तिको नाम बुधवार सार्वजनिक गरेका छन्।
बेइजिङस्थित द ग्रेट हल अफ पिपलमा आयोजित एक समारोहका बीच राष्ट्रपति सिले आगामी पाँच वर्षका लागि सत्तारुढ कम्युनिष्ट पार्टीका शीर्षस्थ नेताहरुको नाम घोषणा गरेका हुन्।
प्रधानमन्त्री ली खछयाङले नेतृत्वपंक्तिमा निरन्तरता पाएका छन् भने नयाँ पाच सदस्य थपिएका छन्।
ली झाङ्सु, वाङ याङ, वाङ हुनिङ, झाओ लेजी र हान झेङ पार्टीको नीति निर्माण गर्ने निकायको रुपमा रहेको स्थायी कमिटीमा समेटिएका छन्।
उत्तराधिकारी
राष्ट्रपतिका रुपमा दोस्रो कार्यकालका लागि अनुमोदित भएको भोलिपल्ट पार्टी नेतृत्वपंक्तिको नाम सार्वजनिक भएको छ।
नेतृत्वपंक्तिमा सामेल गरिएका सबै नेताहरु ६० वर्षभन्दा माथिका छन्।
बीबीसीकी चीन सम्पादक क्यारी ग्रेसी भन्छिन्, ूतर राष्ट्रपति सिले आफ्नो उत्तराधिकारीको रुपमा नेतृत्वपंक्तिमा कसैलाई राखेका छैनन् जसको अर्थ सन् २०२२ मा हुने पार्टीको महाधिवेशनमार्फत उनको स्थानमा अरु कोही आउन पाउंदैन।ू
सन् २०१२ मा राष्ट्रपति बनेका सि पार्टीको महाधिवेशनबाट अनुमोदित भएसँगै अर्को कार्यकालमा प्रवेश गरेका छन्।
विचारधारा
यसअघि मंगलवार सत्तारुढ कम्युनिष्ट पार्टीले राष्ट्रपति सिलाई पार्टीको विधानमा माओ सरहको स्थान दिएको थियो।
पार्टीको महाधिवेशनको अन्तिम सत्रले विधान संशोधन गर्दै अध्यक्ष सिको राजनीतिक विचारधारालाई ुनयाँ युगको चिनियाँ विशेषतासहित समाजवादबारे सि जिनपिङको विचारधाराु भन्ने नारा समाविष्ट गरेको छ।
चीनमा हालसम्म त्यस्तो सम्मान कम्युनिष्ट पार्टीका संस्थापक नेता माओलाई र सन् १९८० को दशकमा चीनमा आर्थिक सुधार ल्याएका देङ सिआओपिङलाई मात्रै दिइएको छ।
एक हप्ता लामो महाधिवेशनबाट दुई हजारभन्दा बढी प्रतिनिधिले प्रान्तीय प्रमुख, गभर्नर र सरकारी स्वामित्वका उद्योगहरुका प्रमुख चयन गरेका थिए।



















