काठमाडौ, ८ मंसिर । निर्वाचन आयोगले आगामी मंसिर १० गते हुने पहिलो चरणको प्रदेश तथा प्रतिनिधिसभाको चुनावका लागि प्रत्यक्षतर्फ ७०२ जना उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशन गरेको छ।
यसअघि मनोनयन दर्ता गराएका १०० जना उम्मेदवारहरुले आफ्नो दावेदारी फिर्ता लिएको अधिकारीहरुले बताएका छन्।
सबै उम्मेदवारहरुलाई बुधबार नै चुनाव चिन्ह उपलब्ध गराइएको निर्वाचन आयोगका प्रवक्ताले जानकारी दिए।
आयोगले प्रत्यक्षतर्फ प्रदेश र प्रतिनिधिसभा चुनावका लागि छुट्टाछुट्टै मतपत्र प्रयोग नगर्ने औपचारिक निर्णय पनि लिएको छ।
अन्तिम नामावली
पहिलो चरणमा चुनाव हुने ३२ जिल्लाका प्रतिनिधिसभातर्फका ३७ र प्रदेशसभा तर्फका ७४ वटा क्षेत्रमा प्रत्यक्ष चुनाव प्रणाली अन्तर्गत गएको आइतबार ८ सय ३ जनाले उम्मेदवारी दर्ता गराएका थिए।
ती मनोनयनहरु माथि परेका कतिपय उजुरी जाँचबुझ गरेको निर्वाचन आयोगले उम्मेदवारहरुलाई मनोनयन फिर्ता लिने समय दिएर बुधबार अन्तिम नामावली प्रकाशन गर्दै चुनाव चिन्ह वितरण गरेको हो।
उम्मेदवारी दिने ८०३ जना मध्ये १०० जनाले उम्मेदवारी फिर्ता लिनुभएको छ, आयोगले ७०२ जनालाई चुनाव चिन्ह प्रदान गरेको छ
नवराज ढकाल , प्रवक्ता, निर्वाचन आयोग
निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले भने, ूप्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको चुनाव प्रणालीका लागि उम्मेदवारी दिने ८०३ जना मध्ये १०० जनाले उम्मेदवारी फिर्ता लिनुभएको छ, आयोगले ७०२ जनालाई चुनाव चिन्ह प्रदान गरेको छ।ू
उसले प्रदेशसभातर्फका ४८१ मध्ये ६० र प्रतिनिधिसभाका ३२२ उम्मेदवारमध्ये ४० जनाले उम्मेदवारी फिर्ता लिएको जनाएको छ।
दोलखामा प्रदेशसभाका एक जना उम्मेदवारको मनोनयन रद्द भएको आयोगको भनाइ छ।
यसअघि गएको असोज २९ गते दलहरुले प्रदेशसभाको समानुपातिक तर्फका २२० र प्रतिनिधिसभा तर्फका ११० सिटका लागि उम्मेदवारहरुको बन्द सूची निर्वाचन आयोगमा बुझाएका थिए।
मतपत्र
त्यसक्रममा प्रतिनिधिसभा सदस्यका लागि ४९ वटा दलले सूची बुझाएका थिए।
प्रदेशसभा चुनावका लागि प्रदेश अनुसार बेग्ला बेग्लै संख्यामा बढीमा ३१ देखि कम्तीमा १८ वटा दलले आफ्ना बन्द सूची प्रस्तुत गरेका थिए।
आयोगले ती सूचीहरुमाथि जाँचबुझ गरेको जनाएको छ।
निर्वाचन आयोगका प्रवक्ता ढकालले भने,ुआयोगको कार्यालयमा रहेको समानुपातिक इकाईले तोकिएको समूह अनुसार वर्ग, क्षेत्र, लिङ्ग मिल्यो कि मिलेन भनेर दलहरुलाई सूचित गरिरहेको छ र त्यो अनुसार सच्याउने समय १२ गतेसम्म छ।ु
पहिलो चरणको निर्वाचन हुने ३२ वटा जिल्लामा ३२ लाख २८ हजार भन्दा बढी मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ।
आगामी मंसिर २१ गते ४५ वटा जिल्लामा हुने दोस्रो चरणको चुनावका लागि उम्मेदवारहरुले मनोनयन पत्र दर्ता गराउन कार्तिक १६ गतेको समय तोकिएको छ।
बुधबार नै निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाका लागि समानुपातिक र प्रत्यक्षतर्फ एक एक गरी दुईवटा मतपत्रको प्रयोग गर्ने निर्णय गर्दै १ करोड ७५ लाखको हाराहारीमा दुवै मतपत्र छापिने जनाएको छ।
तर उसले प्रदेश र प्रतिनिधिसभाका लागि मतपत्र छुट्टै नछाप्ने बताएको छ।