काठमाडौं, ५ पौष । आजदेखि राजधानीको भृकुटी मण्डप प्रदर्शनीस्थलमा ूनेपाल फर्मा एन्ड हेल्थू नामक औषधोपचार, स्वास्थोपचार तथा फार्मेसीसँग सम्बन्धित प्रदर्शनी हुँदै छ ।
नेपाल फर्मा एन्ड हेल्थ नामक यस अन्तराष्ट्रिय प्रदर्शनी मिडिया स्पेस सोलुसन्सका साथै एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रा. लि. तथा फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स् प्रा. लि.को संयुक्त आयोजनामा हुन लागेको हो ।
उक्त प्रर्दशनीमा स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढि कम्पनीहरुको स्टल रहने छन् ।
नेपाल फर्मा एन्ड हेल्थ अन्तराष्ट्रिय प्रदर्शनीमा तीन विशेषताहरू सम्मिलित छन् – प्रदर्शनी, सम्मेलन र साझेदारी । प्रदर्शनीले नेपालका विभिन्न फर्मा र हेल्थकेयर उद्योगलाई जोड्न, सम्बन्ध निर्माण गर्न र व्यापार अवसरहरू बढाउनका केन्द्रीय भूमिका निर्वाह गर्ने आयोजकहरुको दावी छ । नेपालले औषधी तथा स्वास्थ्य उद्योगको विकासमा एउटा निश्चित गति लिएको छ । यी क्षेत्रहरूबाट विशेष गरी देशको विस्तारित अर्थतन्त्रमा प्रत्यक्ष फाइदा हुन्छ । यसले स्वास्थ्य सेवामा सरकारी लगानी बढाउन र नेपालको औषधी तथा स्वास्थ्य सेवाको दिगो विकासलाई गति दिन पनि सघाउने छ ।
नेपालमा भित्रिने औषधोपचारका सामग्रीहरूमध्ये भारतबाट ८० प्रतिशत आयात हुन्छ । यो अन्तर्राष्ट्रिय प्रदर्शनीले भारतीय उपमहाद्वीपको विभिन्न सरोकारवालाहरूको ध्यानाकर्षण गर्न निकै मद्दत गर्ने अपेक्षा आयोजकहरुले लिएका छन् ।
यो प्रदर्शनीले नेपाली चिकित्सा प्रणाली, नेपाल औषधी उद्योग र वैदेशिक लगानीका लागि विभिन्न उत्कृष्ट अवसरहरू सिर्जना गर्न उल्लेखनीय भूमिका निर्वाह गर्ने अपेक्षा आयोजकहरुले राखेका छन् ।
नेपाल फर्मा र हेल्थ प्रदर्शनीले स्थानीय औषधी, चिकित्सा र स्वास्थ्य सेवा उद्योगका लागि सञ्जालको काम गर्नेछ । औषधोपचारको क्षेत्रमा नयाँ आविष्कारदेखि नयाँ औषधीको विकाससम्मको जानकारी लिन र हेर्न पनि प्रदर्शनी उपयोगी हुनेछ । यस प्रकारका सहकार्यहरूले नेपालमा गुणस्तरीय औषधी उत्पादन र स्वास्थ्य उद्योगको विकासलाई बल पुग्ने छ।
यो प्रदर्शनीेले विभिन्न देशका कम्पनिहरू र ब्राण्डहरूसहित बिजनेस लिडरहरू, डाक्टरहरू, वैज्ञानिकहरू, अनुसन्धानकर्ताहरू, सरकारी अधिकारीहरू, नीति निर्माताहरू र उद्योग पेशेवरहरूलाई एकसाथ समेट्ने आयोजकहरुको दावी छ । यो एक्सपोले नयाँ आविष्कारहरू र नयाँ बजारको खोजी गर्दै नेपालको चिकित्सा र प्रयोगशाला उद्योगलाई आवश्यक उचाईमा लिएर जानेछ भन्ने कुरामा आयोजकहरु विश्वस्त छन् ।
नेपाल फर्मा एन्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनीमा आउने चाहने इच्छुकहरूलाई प्रवेश निःशुल्क गरिएको छ भने प्रदर्शनीमा सहभागी हुन चाहने सम्पूर्णलाई दर्ता खुला गरिएको छ ।


















