Prakash Adhikari December 24, 2023

 

काठमाडौं,८ पौष । सत्ता गठबन्धनभित्रको जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले समझदारी कायमै रहेमा वर्तमान सरकार थप एक वर्ष टिक्ने बताउनुभएको छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारले एक वर्ष पूरा गर्न लाग्दा अध्यक्ष यादवले सरकारको आयु र भावी राजनीतिबारेको कुराकानीका क्रममा उक्त कुरा बताउनुभएको हो।

गठबन्धनभित्रको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका कतिपय नेताहरूले सरकारको कामलाई लिएर चर्को असन्तुष्टि सार्वजनिक रूपमा व्यक्त गर्दै आएका छन्।

उहाँलाई पनि सरकारको काम असरदार वा फलदायी लागेको छैन।

त्यसैले आफ्नो कामको मूल्याङ्कन गर्दै सरकारले कार्यशैली परिवर्तन गर्नुपर्ने उहाँको सुझाव छ।

सरकार परिवर्तनको सम्भावना कति ?

तैपनि उहाँ सरकार परिवर्तन गर्ने वा छाड्नेसम्मको अवस्था नआएको बताउनुहुन्छ।

“सरकार छाड्ने, अर्को बनाउने, फेरि फेर्ने गरेर के पाइन्छ?” यादवले सरकारको प्रतिरक्षा गर्ने शैलीमा भन्नुभयो, “निश्चित समयपछि पो फेरिने हो।”

नेकपा एमालेसँगको समीकरण तोडेर नयाँ गठबन्धन बनाउँदा प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच आलोपालोको समझदारी भएको बताइन्छ।

तर समय सीमाबारे औपचारिक रूपमा कुनै नेताले मुख खोल्नुभएको छैन।

अध्यक्ष यादवका भनाइमा समझदारी कायम रहेमा प्रचण्ड नेतृत्वको सरकार जम्मा दुई वर्षको निम्ति हो, त्यसपछि गठबन्धनभित्रबाट अर्को प्रधानमन्त्री बन्छ।

त्यसबेला प्रधानमन्त्री को बन्छरु यादवले जबाफ दिनुभयो, “त्यसबारे पछि छलफल हुन्छ।”

माधव नेपाल कि यादव ?

कतिपय नेताले प्रचण्डपछि माधवकुमार नेपाल प्रधानमन्त्री बन्ने बताउने गरेका छन्।

कांग्रेसकै कतिपय नेताले उहाँलाई आलोपालोमा प्रधानमन्त्री स्वीकार गर्न अनिच्छुक रहेको सङ्केत सार्वजनिक रूपमै प्रकट गरिसकेका छन्।

“त्यो त प्रस्तावित कुरा हो, अर्को समझदारी पनि हुनसक्छ,” नेता नेपालको पालोबारे जिज्ञासा राख्दा यादवले भन्नुभयो, “अहिले नै नियुक्ति पत्र बाँड्ने कुरा हुँदैन, त्यस बेलाको परिस्थित कस्तो हुन्छ, त्यतिखेर समझदारी गर्दै अगाडि बढ्ने हो।”

सङ्घीय संसद्‌मा नेपालको नेकपा एकीकृत समाजवादीभन्दा यादवको दल जसपा ठूलो हो। त्यसको अर्थ यादव पनि प्रधानमन्त्रीका आकाङ्क्षी हुने अवस्था छ ।

आफूहरू स्थिरता, समृद्धि, विकास, सुशासन अघि बढोस् भन्ने पक्षमा रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “त्यसले गर्दा हामीलाई हतारो छैन। तर अहिले मुलुक जनताले अपेक्षा गरेअनुसार अगाडि बढ्न सकिरहेको छैन।”

यादवलाई पनि प्रधानमन्त्रीको प्रस्ताव !

यादवलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरिएको भन्ने चर्चाहरू चलेका थिए।

तर उहाँले मानिसहरूले आफ्नो रणनीतिअनुसार प्रयोग गर्न खोज्ने गरेको बताउँदै ‘अर्काको निम्ति किन उपयोग हुने’ भन्दै त्यो सम्भावना अस्वीकार गर्नुभयो।

वर्तमान सत्ता गठबन्धन भत्काउन नेकपा एमालेले प्रयास गर्ने गरेको समाचार बेलाबखत आउने गरेका छन्।

एमाले अध्यक्षको तर्फबाट पनि यादवलाई प्रधानमन्त्री आग्रह गरिएको भन्ने चर्चाहरू चलेका थिए।

“त्यस्तो कुनै ठोस प्रस्ताव आएको छैन,” यादवले भन्नुभयो, “र, त्यसमा अहिले हामीलाई छलफल गर्नुपर्छ भन्ने पनि लागेको छैन।”

यादवले सत्ता गठबन्धनकै निर्णयअनुसार मङ्सिर २५ गते प्रधानमन्त्रीलाई ५३ बुँदे सुझाव बुझाउनुभएको छ।

जसमा संविधान संशोधनसहित सरकारले प्राथमिकता दिनुपर्ने कामहरू उल्लेख छन्।

गठबन्धनको भविष्य

एक वर्षअघि नै सरकार फेरिन सक्ने सम्भावनाबारे यादवले भन्नुभयो, “समझदारी अनुसार त्यो छैन। तर नेपालको राजनीति अनिश्चित छ, कतिखेर के हुन्छ, के हुन्छ।”

प्रधानमन्त्री प्रचण्डले मन्त्री फेरेर भए पनि कामलाई गति दिन प्रतिबद्ध रहेको शुक्रवार बताउनुभएको छ।

अध्यक्ष यादवले मन्त्रिपरिषद् पुनर्गठन सामान्य प्रक्रिया भएको उल्लेख गर्दै तर प्रधानमन्त्रीले आफूसँग त्यसबारे परामर्श नगरेको जानकारी दिनुभयो। (बीबीसीबाट)

Share Now