काठमाडौं, ८ पौष । विश्व स्वास्थ्य सङ्गठनले यसै साता ‘भेरिअन्ट अफ इन्ट्रेस्ट’ मा वर्गीकरण गरेर निगरानीमा राखेको कोरोनाभाइरस ओमिक्रोन भेरिअन्टको उपप्रजाति जेएन. १ बारे नेपालमा पनि निगरानी सुरु गरिएको अधिकारीहरूले बताएका छन्।
नेपालमा पछिल्लो पटक कोभिड पोजेटिभ देखिएका १२ वटा नमुनामा यो भेरिअन्ट रहे वा नरहेको पत्ता लगाउन जिन सिक्वेन्सिङ भइरहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ।
यद्यपि ती नमुना जेएन।१ भेरिअन्टको आशङ्कामा थप परीक्षणका लागि पठाइएको नभई नियमित निगरानीका क्रममा यसो गरिएको अधिकारीहरूको भनाइ छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भारतबाट आउने र अन्तर्राष्ट्रिय विमानस्थल भएर आउने मानिसहरूमा कोभिड र श्वासप्रश्वाससम्बन्धी समस्या देखिए पीसीआर परीक्षण गर्न र क्वारन्टिनमा राख्न भनिएको जनाएको छ।
विशेषगरी नेपालसँग खुला सिमाना रहेको भारतका विभिन्न राज्यमा यो प्रजाति देखिएको र पछिल्लो समय कोभिडका कारण चार जनाको मृत्यु भएको विवरण सार्वजनिक भएपछि नेपालमा निगरानी सुरु गरिएको अधिकारीहरू बताउँछन्।
यद्यपि भारतमा कोभिडका कारण भएको मृत्यु नयाँ भेरिअन्टसँग सम्बन्धित रहे वा नरहेको पुष्टि भएको छैन।
जेएन.१ भेरिअन्ट के हो ?
विश्व स्वास्थ्य सङ्गठनले कोभिडविरुद्ध मान्यता पाएका खोपहरूले यसको जोखिम कम गर्ने भए पनि थप अध्ययन आवश्यक रहेको उल्लेख गरेको छ।
उसले निगरानी गरिरहेको यो भेरिअन्ट सबैभन्दा पहिले अमेरिकामा पत्ता लागेको थियो।
तीव्र सङ्क्रमणदर रहेको यो भाइरस हालसम्म नेपालका छिमेकी भारत र चीनसहित विश्वका ४० भन्दा धेरै देशहरूमा फैलिसकेको विवरण आएका छन्।
यो भेरिअन्ट अहिले अमेरिकामा सबैभन्दा तीव्र गतिमा फैलिरहेको छ र १५ देखि ३० प्रतिशत सङ्क्रमितहरूमा यो भेरिअन्ट देखिएको छ।
विश्व स्वास्थ्य सङ्गठनले अहिले यसको जोखिमदर कम रहेको जनाएको छ। यद्यपि अधिकारीहरूले स्वास्थ्यको जोखिम समूहमा रहेका व्यक्तिहरूमा जोखिम हुन सक्नेतर्फ सचेत गराएका छन्।
यो भेरिअन्टले यसअघिका प्रजातिको भन्दा मानिसहरूमा थप स्वास्थ्य जटिलता देखिएको विवरण हालसम्म आएका छैनन्।
जाडोयाममा श्वासप्रश्वाससम्बन्धी अन्य समस्या पनि बढ्ने गरेका कारण सचेत रहनुपर्ने अधिकारीहरू बताउँछन्।
विश्व स्वास्थ्य सङ्गठनले जाडो याम सुरु हुन लागेका देशहरूमा यसले सङ्क्रमण बढाउन सक्ने भन्दै सतर्कता अपनाउन भनेको छ।
नेपालमा सतर्कता
नेपालका अधिकारीहरूले जेएन।१ भेरिअन्ट सङ्क्रामक भए पनि घातक भएको पुष्टि नभएका कारण धेरै चिन्ता लिनुनपर्ने बताएका छन्।
दक्षिणी भारतको केरलाबाट राजधानी दिल्लीसहित भारतका केही राज्यहरूमा फैलिएको पाइए पनि नेपालसँग सीमा जोडिएका राज्यहरूमा हालसम्म यो भेरिअन्ट पुष्टि भएको छैन।
नेपालमा अहिलेसम्म यो भेरिअन्ट नदेखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बीबीसी न्यूज नेपालीलाई जानकारी दिनुभयो।
“जहिले पनि आउन सक्छ भित्रिन सक्छ भनेर हामीले भारसँगका सीमा नाका र अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका स्वास्थ्य डेस्कहरूलाई सजग गराएका छौँ। कुनै मानिस श्वासप्रश्वाससम्बन्धी कुनै लक्षण देखियो भने क्वारन्टिनमा बस्न र शङ्का लागेमा नमुना लिन पनि भनिसकेका छौँ,” उहाँले भन्नुभयो।
नेपालमा कोभिडविरुद्ध खोपको “पर्याप्त” मौज्दात, रोकथामको अनुभव र परीक्षणका लागि आवश्यक स्रोत साधन रहेका कारण यो भेरिअन्टबारे चिन्ता लिनुनपर्ने बुढाथोकी बताउनुहुन्छ।
“नेपालमा कोभिडविरुद्धको खोप धेरैले लगाइसकेको हुनाले त्यसले पनि सङ्क्रमण रोक्ने र एक जनालाई सङ्क्रमण भए दोस्रोलाई सार्ने दर पनि कम हुने र सङ्क्रमितमा जटिलता पनि नहुने भएकाले महामारीको रूप लिने र अफ्ठ्यारो पार्ने देखिएको छैन,” उहाँले भन्नुभयो।
नेपालमा हालसम्म २ करोड ४४ लाख बढिले एक भन्दा बढी मात्रा र १ करोड २ लाखले कोभिडविरुद्धको बुस्टर मात्रा खोप लगाइसकेको विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क छ।
सरकारले हालससम्म सर्वसाधारणका लागि यो भेरिअन्टबाट जोगिनका लागि अपनाउनुपर्ने कुनै सावधानीबारे निर्देशिका जारी गरिसकेको छैन।
“यद्यपि एकभन्दा बढी दीर्घरोग भएका र जसले खोप नै लगाउनुभएको छैन उहाँहरूलाई जोखिम हुनसक्छ,” डा बुढाथोकीले दोस्रो मात्रा वा बुस्टर मात्रा नलगाएकाहरूलाई खोपको उक्त मात्रा लिन आग्रह गर्दै भन्नुभयो।
उनका अनुसार नेपालका करिब ५० लाख मात्रा खोपको मौज्दात छ र थप खोपहरू आउने क्रम पनि जारी छ।
१२ वटा नमुनाको जिन सिक्वेन्सिङ
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका सङ्क्रामक रोग नियन्त्रणसम्बन्धी शाखाका प्रमुख हेमन्तचन्द्र ओझाले छिमेकी देशहरूमा जेएन. १ भेरिअन्ट देखिएपछि नेपालले आफ्नो संयन्त्रबाट यसबारे जानकारी लिइरहेको बताउनुभयो।
उहाँका अनुसार विदेशमा यस्तो सङ्क्रमण देखिएपछि नेपालमा पनि सतर्कता सुरु गरिएको छ।
“जाडोयाममा स्वप्रश्वासका अन्य समस्या पनि बढ्ने भएका कारण हामीले आवश्यक सतर्कता अपनाइरहेका छौँ। पछिल्लो पटक कोभिड सङ्क्रमण देखिएका केही नमुनाहरूको जिन सिक्वेन्सिङ गरेर कुन भेरिअन्ट नेपालमा सक्रिय छ भनेर हेर्ने काम पनि चलिरहेको छ,” ओझाले भन्नुभयो।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पछिल्लो समय कोभिड सङ्क्रमण देखिएका १२ वटा नमुनाको जिन सिक्वेन्सिङ भइरहेको र त्यसको नतिजा आगामी सातासम्म आउने जनाएको छ।
“नेपालमा जेएन. १ भेरिअन्ट आए नआएको थाहा पाउन कोभिड पोजेटिभ देखिएका नमुनाको जिन सिक्वेन्सिङ गर्नुपर्छ। हामीले नियमित रूपमा यो काम गरिरहेका हुन्छौँ। अहिले १२ वटा नमुनाको जिन सिक्वेन्सिङ भइरहेको छ,” प्रयोगशालाका सूचना अधिकारी कृष्ण प्रसाद जैसीले भन्नुभयो।
उहाँका अनुसार जेएन.१ भेरिअन्टको शङ्का लागेका कारण ती नमुनाको थप परीक्षण गरिएको भने होइन।
नेपालमा कोभिड सङ्क्रमणको अवस्था
नेपालमा गत अक्टोबरपछि कोभिडको सङ्क्रमण शून्य देखिएको छ। नेपालमा अहिलेसम्म १० लाखभन्दा बढी कोभिड सङ्क्रमण देखिएको छ।
गत वैशाख महिनायता नेपालमा कोभिडका कारण कसैले पनि ज्यान नगुमाएको विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क छ।
कोभिड महामारीयता हालसम्म नेपालमा १२ हजार मानिसहरूले कोभिड सङ्क्रमणका कारण ज्यान गुमाएका छन्।
(बीबीसीबाट)


















