काठमाडौं, १७ पौष । ज्योति ग्रुपले सञ्चालन गरेको हिमाल आइरन एण्ड स्टीलले डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत खपत गरेवापत गरिएको छुट बिलको बक्यौता रकम तिर्न सुरु गरेको छ।
८ करोड १२ लाख रुपैयाँ बक्यौतामध्ये हिमाल आइरनले सोमबार पहिलो किस्ताबापत २७ लाख १० हजार रुपैयाँ बुझाएको नेपाल विद्युत प्राधिकरण, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिनुभएको छ।
उपकार्यकारी निर्देशक सिलवालले उद्योगले बक्यौताको पहिलो किस्ता बुझाएपछि सोमबार राति सभा ९ बजे विद्युत् लाइन जोडिएको जानकारी दिनुभयो। प्राधिकरणले यो उद्योगको लाइन शुक्रबार काटेको थियो। उद्योगले ३६ किस्तामा बक्यौता रकम तिर्ने प्रतिवद्धता जनाएको छ। हिमाल आइरन एण्ड स्टीलको उद्योग बारा–पर्सा औद्योगिक करिडोरअन्तर्गत परवानीपुरमा रहेको छ ।
६० किस्तामा तिर्ने सुविधा
नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता तिर्न सहजीकरण गर्दै ६० किस्तामा तिर्न मिल्ने सुविधा दिएको छ।
डेडिकेटेड तथा ट्रंक लाइनवापतको बक्यौता नतिरेको भन्दै धमाधम ठूला उद्योगको लाइन काटेको प्राधिकरणले यो सुविधा दिएको हो। यसअघि प्राधिकरणले ३६ महिनामा किस्तामा तिर्न मिल्ने सुविधा दिएको थियो। ठूलो रकम एकैपटक तिर्न सम्भव नहुने भएकाले यो सुविधा प्राधिकरणले दिएको हो।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बहादुर बस्नेतको अध्यक्षतामा सोमबार साँझ बसेको प्राधिकरण सञ्चालक समिति (बोर्ड)को बैठकले बक्यौता रकम भुक्तानी गर्न किस्ताबन्दीको व्यवस्थालाई बढाएको हो।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जति महिनाको छुट बिल जारी गरिएको त्यति नै महिनाको वा बढीमा ६० महिनाको किस्ताबन्दीको सुविधा दिने विशेष व्यवस्था बोर्डबाट गरिएको जानकारी दिनुभएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार साँझ ऊर्जामन्त्री बस्नेत र प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई डेडिकेटेड र ट्रंक लाइनमा सहजीकरणका लागि निर्देशन दिनुभएको थियो। प्रधानमन्त्री दाहालको निर्देशनपछि सोमबार साँझ ५ बजेपछि संचालक समिति बैठक बसेको थियो।


















