Prakash Adhikari January 2, 2024

अशोक दाहाल /बीबीसी न्यूज नेपाली

काठमाडौं, १७ पौष । अफ्रिकी राष्ट्र मालीमा शान्ति स्थापनार्थ खटिएका सैनिकहरूको अन्तिम टोलीसँगै नेपाली सैनिकहरूको टोली पनि फर्किने तयारीमा रहेको सैनिक मुख्यालयले जनाएको छ।

नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले मालीबाट अन्तिम टोलीमा १६ जना नेपाली शान्ति सैनिकहरू फर्कने तयारीमा रहेको बताउनुभएको छ।

“हाम्रो १६ जना आउन अझै बाँकी नै छ। मिशनको म्यान्डेट सकिए पनि फर्कने जहाजको बन्दोबस्त लगायतका कारण केही समय लाग्ने भएको कारणले उनीहरू फर्किइसकेका छैनन्,” भण्डारीले भन्नुभयो, “अरू देशहरूबाट खटिएका पनि सबै जना फर्किसकेका छैनन् बाँकी नै छ भन्ने छ।”

शान्ति मिशनमा खटिने सैनिकहरूलाई संयुक्त राष्ट्रसङ्घकै विमानमार्फत सम्बन्धित देशमा फिर्ता ल्याउने व्यवस्था हुन्छ।

किन फर्किए मालीबाट शान्ति सैनिक

राष्ट्रसङ्घीय मिशनमा यो देशमा विभिन्न देशका १३ हजार शान्ति सैनिकहरू खटिएका थिए।

एक दशकसम्म द्वन्द्वग्रस्त अफ्रिकी मुलुकमा खटिएका विभिन्न राष्ट्रका शान्ति सैनिकहरूलाई सन् २०२३ को डिसेम्बर अन्त्यसम्म फर्कने समयसीमा त्यहाँको सरकारले दिएको थियो।

मल्टी डाइमेन्सनल इन्टिग्रेटेड स्टेबिलाइजेसन मिशन ‘मिनुस्मा’ नाम दिइएको शान्ति कायम गर्ने मिशन मालीमा सशस्त्र विद्रोह पछि सन् २०१३ मा सुरु भएको थियो।

त्यहाँको विद्रोही शक्तिले नेतृत्व गरेको सरकारले शान्ति सैनिकहरू फर्काउन भनेपछि संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को सर्वसम्मत निर्णयबाट मालीमा खटिएका शान्ति सैनिकहरू फिर्ता भएका थिए।

संयुक्त राष्ट्रसङ्घको मिशनले मालीमा धेरै काम गरेको भए पनि अपेक्षाकृत उपलब्धि हासिल गर्न नसकिएको जनाएको छ।

गत जुनमा मालीले आफ्ना १२ हजार शान्ति सैनिकहरू फिर्ता लैजान राष्ट्रसङ्घलाई भनेपछि चरणबद्ध रूपमा राष्ट्रसङ्घ मार्फत शान्ति स्थापनाका लागि खटिएका सैनिकहरू फिर्ता भएका थिए।

नेपालबाट खटिएका १ सय ६८ जनामध्ये गत नोभेम्बरमा ९३ जना र डिसेम्बरमा ५९ जना फर्किइसकेका छन्।

स्थानीय सञ्चार माध्यमले शुक्रवार जनाए अनुसार सुरक्षाको कारण देखाउँदै समयसीमा अगावै एउटा क्याम्पको नियन्त्रण मिनुस्मा मिशनले स्थानीय प्रशासनलाई हस्तान्तरण गरेको थियो।

सशस्त्र इस्लामिक समूह र स्वतन्त्रता आन्दोलनमा उत्रिएका समूहबीचको द्वन्द्वका कारण मालीको सुरक्षा अवस्था तरल छ।

दोस्रो ुजोखिमयुक्तु मिसन

संयुक्त राष्ट्रसङ्घका अनुसार मालीको मिशन शान्ति सैनिकहरू खटाइएका देशहरूमध्ये दोस्रो जोखिमयुक्त मिशन हो। राष्ट्रसङ्घले पहिलो जोखिमयुक्त मिशनमा लेबननलाई राखेको छ।

राष्ट्रसङ्घको शान्ति स्थापना कार्यालयका अनुसार सन् १९४८ मा शान्ति स्थापनाका लागि सैनिकहरू खटाउन सुरु गरिएयता सन् २०२३ को अक्टोबर अन्त्यसम्म ४ हजार २७ जना सैनिकहरूले विभिन्न देशका मिशनमा ज्यान गुमाएका छन्। सन् २०२३ को अक्टोबरसम्म ५६ जना शान्ति सैनिकहरूले ज्यान गुमाएको राष्ट्रसङ्घको तथ्याङ्क छ।

त्यसमध्ये लेबननको यूनीफील मिशनमा सबैभन्दा धेरै ३ सय ३२ जनाले ज्यान गुमाएको राष्ट्रसङ्घको तथ्याङ्क छ।

मालीको मिशनमा ज्यान गुमाउनेको सङ्ख्या ३ सय १० जना छ।

संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२३ को अक्टोबरसम्म ९२ जना नेपाली सैनिकहरूले विभिन्न शान्ति मिशनका क्रममा ज्यान गुमाएका छन्।

लेबनानको युनिफिल मिशनमा ३० जना नेपाली सैनिकहरूले ज्यान गुमाइसकेका छन्। यो मिशन नेपाली सैनिकहरूको सबैभन्दा धेरै मृत्यु भएको मिशन हो।

गत अक्टोबरमा इजरायल र हिजबुल्लाह समूहबीच गोली हानाहान हुँदा एक जना नेपाली सैनिक घाइते भएका थिए।

मालीको मिनुस्मा मिशनमा हालसम्म कुनै पनि नेपाली सैनिकहरूले ज्यान गुमाउनुपरेको थिएन। यहाँ तीन जना नेपाली सैनिकहरू भने घाइते भएको सैनिक प्रवक्ता भण्डारीले जानकारी दिनुभयो।

लेबनानपछि हेइटीमा दोस्रो ठूलो सङ्ख्यामा नेपाली शान्ति सैनिकहरूको ज्यान गएको छ।

हेइटीमा शान्ति स्थापनार्थ खटिएका आठ जना नेपाली सैनिकहरूले ज्यान गुमाइसकेका छन्।

नेपाल दोस्रो ठूलो योगदानकर्ता

राष्ट्रसङ्घले १२ वटा देशहरूमा शान्ति स्थापनार्थ सैनिकहरूको मिशन सञ्चालन गरेको छ। ती सबै देशमा नेपाली शान्ति सैनिकहरू खटिएका छन्।

राष्ट्रसङ्घको शान्ति स्थापना मिशनमा १ सय २० देशहरूले आफ्ना सैनिक पठाएका छन्। जसमध्ये दोस्रो धेरै सैनिक पठाउने देश नेपाल हो।

राष्ट्रसङ्घका अनुसार २०२३ को अक्टोबर अन्त्यसम्म ६ हजार २ सय ७७ जना नेपाली शान्ति सैनिकहरू खटिएका थिए। जसमध्ये करिब ६ सय महिला सैनिक छन्।

राष्ट्रसङ्घको शान्ति मिशनमा सबैभन्दा धेरै सैनिक बाङ्ग्लादेशले पठाउँदै आएको छ। तेस्रो धेरै सैनिक पठाउने देश भारत हो।

नेपालले शान्ति मिशनमा आफ्नो सैनिक सङ्ख्या बढाउन पहल गरिरहँदा राष्ट्रसङ्घको एउटा मिशन नै बन्द भएको हो।

मिशन बन्द हुँदा नेपाललाई कस्तो असर ?

नेपाली सेनाका प्रवक्ता भण्डारीका अनुसार मालीको मिशनमा ठूलो सङ्ख्यामा नेपाली सैनिकहरू नभएका कारण यसले शान्ति मिशनमा योगदानकर्ताको दोस्रो स्थानको नेपालको हैसियतमा भने फरक पर्दैन।

नेपाली सैनिकहरूसँगै नेपालभन्दा अगाडि र पछाडि रहेका बाङ्ग्लादेश र भारतका सैनिकहरू पनि मालीबाट फर्किएका छन्।

“यसले दोस्रो ठूलो योगदानकर्ताको नेपालको हैसियतलाई अहिले असर गरिहाल्दैन। तर योजस्तै अरू मिशनहरूमा पनि कटौती भयो भने त्यो चिन्ताको विषय हुन सक्छ,” भण्डारीले भन्नुभयो।

भण्डारी नेपालले १० हजार शान्तिसैनिकहरू खटाउन पहल गरिरहेका बेला मिशनहरू बन्द हुँदा जनशक्तिको माग पनि कम हुने चिन्ता थपिएको बताउँनुु हुन्छ।

“शान्ति मिशनहरू द्वन्द्वग्रस्त देशहरूमा सञ्चालन हुने भएकाले त्यहाँ खटिने सैनिकहरूका लागि यो अवसर मात्रै नभएर जोखिमको क्षेत्र पनि हो,” उहाँले भन्नुभयो।

परिवारसँग छुट्टिएर रहनुपर्ने र जोखिमयुक्त क्षेत्रमा खटिनुपर्ने चुनौतीका बाबजुद पनि नेपालमा संयुक्त राष्ट्रसङ्घमार्फत् खटाइने शान्ति सेनामा सहभागितालाई अवसरको रूपमा पनि लिइने गरिएको छ।

यस्तो मिशनमा खटिने सैनिकहरूलाई राष्ट्रसङ्घले नै तलब सुविधा दिने भएका कारण उनीहरूका लागि अर्थोपार्जनको पनि राम्रो अवसर मानिन्छ।

Share Now