काठमाडौँ,२० बैशाख (रासस)। नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको काठमाडौँ–तराई मधेश द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय १७ कम्पनीले इच्छा देखाएका छन्।
कूल ७६.३ किमीको द्रुतमार्गको डिपिआर तयार गर्न एक स्वदेशी र १६ विदेशी कम्पनीबाट आवेदन आएको नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले जानकारी दिए। डिपिआरका लागि आवेदन दिनेमा भारत र चीनदेखि युरोपसम्मका निर्माण कम्पनी छन्। डिपिआरका लागि प्राप्त आवेदनको अध्ययन गरी सर्ट लिष्ट तयार गर्ने काम भइरहेको सेनाले जनाएको छ।
यसअघि द्रुतमार्गको डिपिआर भारतीय निर्माण कम्पनीले तयार गरेको थियो। कम्पनीले डिपिआरको शुल्क महँगो मागेपछि सेनाले अर्को डिपिआर बनाउने निर्णय लिएको हो। राजधानीबाट तराई–मधेश जोड्ने सबैभन्दा छोटो दूरीको राष्ट्रिय गौरवको उक्त द्रुतमार्ग निर्माणलाई सरकारले पहिलो प्राथमिकतामा राखेको छ। अब करीब १५ दिनभित्रै डिपिआर कसले तयार गर्ने भन्नेबारे टुङ्गो लाग्ने सेनाले विश्वास गरेको छ।
द्रुतमार्ग निर्माणका लागि नेपाली सेनाले पाँच पाँच स्थानमा स्थायी र अस्थायी आधार शिविर खडा गरिसकेको छ। यसअघि उक्त राजमार्गको नमूना मार्ग पनि नेपाली सेनाले नै खोलेको थियो। द्रुतमार्ग निर्माणमा अहिले स्वदेशी २५ कम्पनीले काम गरिरहेका छन्।
थप दुई कम्पनी कामका लागि छनोटमा परिसकेका छन् भने एउटा कम्पनीका लागि पुनः बोलपत्र आह्वान भइरहेको छ। राजमार्ग निर्माण गर्ने क्रममा सडकको रेखाङ्कन परेको क्षेत्रका रुख कटान गर्ने काम अन्तिम चरणमा पुर्याइसकिएको छ। चार वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको उक्त द्रुतमार्ग निर्माणले राष्ट्रिय अर्थतन्त्रमा नै ठूलो योगदान पुग्ने विश्वास गरिएको छ।


















