Prakash Adhikari January 6, 2024

काठमाडौँ, २१ पुस : नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानका पूर्वअध्यक्षहरूले प्रतिष्ठानलाई नेपाल पर्यटन होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)मा गाभ्ने निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन् । प्रतिष्ठानका पूर्वअध्यक्षहरूले आज यहाँ पत्रकार सम्मेलन गरी दुई संस्था फरक उद्देश्यले स्थापना भएकाले एकअर्कामा गाभ्नु उचित नहुने धारणा राख्नुभयो ।

दुई प्रतिष्ठान गाभिँदा पर्वतारोहण तथा साहसिक पर्यटन क्षेत्रका समुदाय, सरोकारवाला, अध्ययनरत विद्यार्थीलगायतमा नकरात्मक प्रभाव पर्ने उहाँहरूको बुझाइ छ । हिमाल आरोहण, पर्वतारोहण तालिम तथा सो क्षेत्रको अनुसन्धानसहितको पर्वातारोहणसम्बन्धी शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएका प्रतिष्ठान एकापसमा गाभिँदा संस्थाको लक्ष्य तथा उद्देश्यमा असर पुग्ने उहाँहरूको दाबी छ ।

प्रतिष्ठानका पूर्वअध्यक्ष एवं कार्यकारी निर्देशक लाक्पाफुटी शेर्पाले पर्वतारोहणसम्बन्धी शिक्षा सञ्चालनमा प्रतिष्ठानले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दै दुई प्रतिष्ठान गाभिँदा पर्वतारोहण क्षेत्रको विकास तथा संरक्षणमा असर पुग्ने धारणा राख्नुभयो ।

प्रतिष्ठानका पूर्वअध्यक्ष प्रेमकुमार श्रेष्ठले नेपालका हिमाल बचाउन प्रतिष्ठानको महत्त्वपूर्ण भूमिका रहेको बताउँदै दुई प्रतिष्ठानको भूमिका भिन्न–भिन्न रहेकाले गाभिनु पर्वतारोहणको विकास अनुकूल नहुने दाबी गर्नुभयो ।

उहाँहरुले दुई प्रतिष्ठान गाभ्ने निर्णयप्रति असन्तुष्टि व्यक्त गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पटक–पटक कुरा राखे पनि सो प्रक्रिया अघि बढाइएकामा दुखेसो व्यक्त गर्नुभयो । उहाँहरूले उक्त निर्णय कार्यान्वयन भए करिब तीन सय विद्यार्थीको भविष्य अन्योलमा पर्ने दाबी गर्नुभएको छ ।

उहाँहरूले प्रतिष्ठानलाई पर्वतीय क्षेत्रको अध्ययन प्रयोगशालाका रूपमा विकास गर्दै स्वायत्त संस्थाका रूपमा विकास गर्नुपर्ने भन्दै यसका लागि सम्बद्ध सबै सरकारवाला पक्षलाई अपिल गर्नुभयो ।

प्रतिष्ठानमा अध्ययन गरेका स्नातक तहका ३३ जना विद्यार्थीले छ हजार चार सय ७० मिटरको मेरापिक, स्नातकोत्तर तहका १६ विद्यार्थीले छ हजार एक सय २६ मिटरको चुलुपिक, १५ विद्यार्थीले छ हजार एक सय १९ मिटरको लबुचेपिकको अध्ययन तथा अनुसन्धानसहित सफलतापूर्वक आरोहण गरिसकेका छन् । साथै स्नातक तहका नौ जना विद्यार्थीले सात हजार एक सय मिटरको हिमलुङ हिमाल र स्नातक तहका २८ विद्यार्थीले छ हजार एक सय ४४ मिटरको थोरङ हिमालको अध्ययन अनुसन्धानसहित आरोहण गरिसकेको प्रतिष्ठानले जनाएको छ ।

Share Now