काठमाडौं, २२ पौष । सत्ता गठबन्धन राष्ट्रिय सभाको सिट बाँडफाँटमा सहमति नजिक पुगेको छ ।
राष्ट्रिय सभाका १९ सिटका लागि हुने निर्वाचनमा नेपाली कांग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जनता समाजवादीले एक लिने मोटामोटी सहमति भएको छ ।
यसको अन्तिम टुंगो आज बस्ने गठबन्धनको बैठकले लगाउने नेताहरूले बताएका छन् ।
सिट बाँडफाँटबारे छलफल गर्न शनिबार मध्यरातसम्म प्रधानमन्त्री बालुवाटारमा नेताहरुको बैठक बसेको थियो ।
बैठकमा मोटामोटी रुपमा सहमति भैसकेको नेताहरूको दाबी छ । कर्णाली, गण्डकी र बागमती प्रदेशबाहेक कहाँ कसले लिने क्लस्टरसहित सहमति भइसकेको छ ।
सूदूरपश्चिममा पुरुष कांग्रेसलाई, महिला माओवादीलाई, लुम्बिनीमा महिला कांग्रेस, पुरुष माओवादीलाई, मधेशमा महिला कांग्रेसलाई, पुरुष जनता समाजवादीलाई, कोशीमा पुरुष कांग्रेसलाई, महिला माओवादीले लिने सहमति भएको छ ।
बैठकमा एकीकृत समाजवादीले भने आफूलाई कम सिट भएको भन्दै असहमति जनाएको थियो । उसले तीन सिटमा दाबी गरेको छ । तर, आजको बैठकमा दुई सिटमै सहमति हुने नेताहरूको भनाइ छ ।
जनमत पार्टीका अध्यक्ष सिके राउतले पनि एक सिटमा दाबी गर्नुभएको थियो । तर पाउने संभावना देखिएन ।
राष्ट्रिय सभाको मतदान ११ माघमा हुँदैछ । त्यसका लागि सोमबार मनोनयन दर्ता हुँदैछ । आज मतदाताको अन्तिम नामावली प्रकाशन हुँदैछ ।