बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाको दलले संसद्मा तीन चौथाइ सिट जितेको निर्वाचन अधिकारीहरूले सोमबार बताएका छन् ।
निर्वाचन आयोगका सहसचिव मोनिरुज्जमान तालुकदरले भन्नुभयो, “अवामी लीगले आइतबार सम्पन्न निर्बाचन जितेको छ । प्रधानमन्त्री हसिनाको दल आवामी लीगले २२३ सीट जितेको छ । निर्वाचनमा ६१ स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।”
बिजयी भएका सांसद्मध्ये अधिकांश अवामी लीगसँग आबद्ध व्यक्ति भएको केही स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
यो विजयपछि हसिना पाँचौ पटकका लागि पुनः देशको कार्यकारी बन्न पाउने निश्चित भएको छ ।
शेख हसिना सन् १९९६ मा पहिलो पटक प्रधानमन्त्री बन्नुभएको थियो । त्यसपछि सन् २००९, २०१४ र २०१८ मा भएका निर्बाचनमा उहाँ प्रधानमन्त्रीका रूपमा क्रमशः दोस्रो, तेस्रो र चौँथो पटक निर्वाचित हुनुभएको थियो । —