Prakash Adhikari January 11, 2024

काठमाडौं, २६ पौष(बीबीसी) । विश्वभर तीव्र गतिमा फैलिरहेको कोरोनाभाइरसको ओमिक्रोन भेरिअन्टको सब भेरिअन्ट जेएन १ नेपालमा पनि पुष्टि भएपछि स्वास्थ्य मन्त्रालयले सावधानी अपनाउन भनेको छ।

नेपालमा अधिकांश मानिसहरूले कोभिड सङ्क्रमण विरुद्धको खोप लगाइसकेका भए पनि दुई वर्षअघि लगाएको बुस्टर मात्रा अहिलेसम्म प्रभावकारी हुन्छ वा हुँदैन भन्नेबारे कतिपयले चासो राख्ने गरेका छन्।

यूकेमा यो वर्ष ६५ वर्ष माथिका सबै मानिसहरूलाई पुनः खोप लगाउन भनिएको छ। सन् २०२२ मा पनि यूकेमा ५० वर्ष माथिका सबै नागरिकहरूलाई बुस्टर मात्रा लगाउन भनिएको थियो।

यूकेमा वृद्धाश्रममा रहेका, स्वास्थ्य जोखिम समूहमा रहेका मानिसहरू, अग्रपङ्क्तिमा रहेका स्वास्थ्यकर्मीहरूसहित गर्भवती महिलाहरूलाई खोप लगाउन आह्वान गरिएको छ।

नेपालमा भने बुस्टर सम्बन्धी प्रस्ट नीति नभएको अधिकारीहरुले बताएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीे नेपालमा पूर्ण मात्रामा खोप लगाइसकेका मानिसहरूलाई पुनः खोप आवश्यक पर्ने नपर्नेबारे स्वास्थ्य अनुसन्धान परिषद्‌ मार्फत् अध्ययन भइरहेको बताउनुहुन्छ।

“उहाँहरूले विश्वमा खोप लगाएका व्यक्तिहरूको कति वर्षसम्म एन्टिबडी रहन्छ भनेर अध्ययन गर्दै हुनुहुन्छ। अब फेरि बुस्टर डोज चाहिँ सबैलाई लगाउने कि जोखिम समूहमा रहेकाहरूलाई मात्रै भन्नेबारे परिषद्‌ले सिफारिस गर्छ अनि मात्रै हामी खोपबारे काम अघि बढाउँछौँ,” उहाँले भन्नुभयो।

मन्त्रालयले अहिले सरकारी निकायसँग कोभिडविरुद्धको खोप करिब १० लाख मात्रा मौज्दात रहेको जनाएको छ। थप आवश्यक परेको अवस्थामा मन्त्रिपरिषदबाट निर्णय लिएर द्रूत मार्गबाट खरिद गरिने बुढाथोकी बताउनु हुन्छ।

दुई वर्ष पछिसम्म पनि बुस्टरले काम गर्ला?

नेपालमा अधिकांश मानिसहरूले कोभिड विरुद्धको खोपको अतिरिक्त मात्रा अर्थात् बुस्टर डोज लगाएको पनि दुई वर्ष भइसकेको छ।

शुक्रराज ट्रपिकल अस्पतालका क्लिनिकल रिसर्च युनिटका प्रमुख डाक्टर शेरबहादुर पुनले पनि बुस्टर मात्रा लगाएको कति समयसम्म खोपले प्रभावकारी काम गर्छ भन्नेबारे अध्ययनबाट प्रस्ट निष्कर्षहरू नआएको बताउनुभयो।

“सामान्यतया छ महिनापछि एन्टिबडी घट्दै जान्छ भन्ने हाम्रो पहिलेको निष्कर्ष हो। तर त्यो मात्रै होइन है भन्ने कुराहरू आएका छन्,” उहाँले थप्नुभयो,“हाम्रो मेमोरी सेलहरू हुन्छन् जसमा एन्टिबडी वर्षौँसम्म पनि रहन्छन् भन्ने कुरा पनि अहिले आएको छ। जसमा म पनि विश्वास गर्छु।”

उहाँका अनुसार विकसित देशहरूले ज्येष्ठ उमेर समूह र स्वास्थ्य जोखिम समूहमा रहेका मानिसहरूलाई हरेक वर्षजस्तो बुस्टर मात्रा दिइरहेका छन्। कोभिड सङ्क्रमणका कारण शरीरले प्राकृतिक रूपमा विकास गर्ने प्रतिरोधी क्षमता पनि यसअघि पटक पटक सङ्क्रमित भएका व्यक्तिहरूमा प्रभावकारी हुन सक्ने उहाँले बताउनुभयो।

डा.पुन जे एन.१ भेरिअन्टको सङ्क्रमण तीव्र गतिमा फैलनुमा मानिसहरूमा खोपको प्रभाव कम भएको कारण भन्दा पनि स्वास्थ्य मापदण्डको पालना नहुनु प्रमुख जिम्मेवार रहेको ठान्नुहुन्छ।

उहाँका अनुसार जोखिम समूहमा रहेका व्यक्तिहरूले अझै थप मात्रा खोप लगाउँदा राम्रै हुन्छ ।

पटक पटक खोप लगाउँदा कुनै असर हुन्छ ?

विश्व स्वास्थ्य सङ्गठनले पछिल्लो पटक दुई महिना अघि अद्यावधिक गरेको विवरण अनुसार नेपालमा जनसङ्ख्याको ८३ प्रतिशत मानिसहरूले कोभिड विरुद्धको खोप लगाएका छन्।

त्यसमध्ये एक करोड मानिसहरूले बुस्टर भनिने तेस्रो मात्रा र १५ लाख मानिसहरूले दोस्रो बुस्टर भनिने चौथो मात्रासम्म खोप लगाएका छन्।

डा. पुन कतिपय विकसित देशहरूमा हरेक वर्षजस्तो मानिसहरूले कोभिड खोप लगाइरहँदा पनि यसको नकारात्मक असर देखिएको भन्ने विवरण नआएका कारण फेरि बुस्टर मात्रा लगाउँदा पनि जोखिम नहुने ठानिएको बताउँछन्।

“कोभिडको खोप धेरै मात्रा लगाएका कारण कसैलाई कुनै असर देखियो भन्ने प्रमाणित तथ्य छैन,” उहाँले भन्नुभयो।

कस्तो सावधानी अपनाउनुपर्छ?

जाडो याममा देखिने रुघाखोकीका अन्य सङ्क्रमणहरू पनि अहिले बढेका कारण स्वास्थ्य सावधानी अपनाउन अधिकारीहरूले सिफारिस गरेका छन्।

मन्त्रालयका प्रवक्ता डा. बुढाथोकी सरकारले सङ्क्रमण नियन्त्रणका लागि कुनै मापदण्ड लागु नगरे पनि सबैले सतर्कता अपनाउन आवश्यक रहेको बताउनुहुन्छ।

“यसमा आत्तिइहाल्नुपर्ने, कामकाजै छोडेर घर बस्नुपर्ने अवस्था होइन। सबैले मास्क लगाउने। भिडमा र बन्द कोठामा बस्दा अनिवार्य मास्क लगाउने र त्यस्तो लक्षण भएका मानिसहरू भिडभाडमा नजाने गरिदिनुपर्‍यो,” डा.बुढाथोकीले भन्नुभयो।

जाडो याममा देखिने अन्य भाइरसहरू पनि हिजो आज सक्रिय रहेका कारण मास्कको प्रयोग र सरसफाइमा ध्यान दिँदा त्यसबाट पनि बच्न सकिने डा. पुन बताउनुहुन्छ।

“कोभिडलाई मात्रै लक्षित नभएर अहिले जाडो याममा देखिने श्वासप्रश्वाससँग सम्बन्धित अन्य सङ्क्रमणहरू पनि छन्। त्यो सबैका लागि मास्क, सरसफाइ लगायतका मापदण्ड महत्त्वपूर्ण छन्,” पुनले भन्नुभयो।

जेएन.१ भेरिअन्ट के हो ?

विश्व स्वास्थ्य सङ्गठनले कोभिडविरुद्ध मान्यता पाएका खोपहरूले यो उपप्रजातिको जोखिम कम गर्ने भए पनि थप अध्ययन आवश्यक रहेको उल्लेख गरेको छ।

उसले निगरानी गरिरहेको यो भेरिअन्ट सबैभन्दा पहिले अमेरिकामा पत्ता लागेको थियो।

तीव्र सङ्क्रमण दर रहेको यो भाइरस हालसम्म नेपालका छिमेकी भारत र चीनसहित विश्वका ४० भन्दा धेरै देशहरूमा फैलिसकेको विवरण आएका छन्।

यो भेरिअन्ट अहिले अमेरिकामा सबैभन्दा तीव्र गतिमा फैलिरहेको छ र १५ देखि ३० प्रतिशत सङ्क्रमितहरूमा यो भेरिअन्ट देखिएको छ।

विश्व स्वास्थ्य सङ्गठनले अहिले यसको जोखिमदर कम रहेको जनाएको छ। यद्यपि अधिकारीहरूले स्वास्थ्यको जोखिम समूहमा रहेका व्यक्तिहरूमा जोखिम हुन सक्नेतर्फ सचेत गराएका छन्।

यो भेरिअन्टले यसअघिका प्रजातिको भन्दा मानिसहरूमा थप स्वास्थ्य जटिलता देखिएको विवरण हालसम्म आएका छैनन्।

जाडोयाममा श्वासप्रश्वाससम्बन्धी अन्य समस्या पनि बढ्ने गरेका कारण सचेत रहनुपर्ने अधिकारीहरू बताउँछन्।

विश्व स्वास्थ्य सङ्गठनले जाडो याम सुरु हुन लागेका देशहरूमा यसले सङ्क्रमण बढाउन सक्ने भन्दै सतर्कता अपनाउन भनेको छ।

Share Now