Prakash Adhikari January 13, 2024

काठमाडौं, २८ पौष । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको लुम्बिनी नामक न्यारोबडी जहाजमा इन्जिन फेर्न इजरायल लगिएको छ ।

बिहीबार राति ७० यात्रुसहित काठमाडौंबाट दुबईतर्फ उडान गरेको जहाज दुबईमा अवतरण गरेर यात्रुहरु ओरालीसकेपछि जहाजले इजरायलतर्फ उडान गरेको थियो।

निगमले लुम्बिनी जहाज शुक्रबार नेपाली समय अनुसार बिहान १०ः३० बजे इजरायलको वन गरियन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको जनाएको छ।

जहाजको वायाँ पट्टिको इन्जिनको साइकल पुरा भएकोले ३ साइकल बाँकी राखेर काठमाडौं विमानस्थलमा भूमिस्थ गरिएको थियो । ३ साइकल जहाज मर्मत केन्द्रसम्म पुग्नको लागि जोगाएर राखिएको थियो । जहाज एकपटक उडान गरेर अवतरण गर्दा एक साइकल सकिन्छ । काठमाडौंबाट दुबाई र दुबाईबाट इजरायल पुग्नका लागि तीन साइकल जोगाइएको हो । जहाजको साइकल सकिन लागेकोले ४४ दिन पहिले जहाजलाई काठमाडौं विमानस्थलमा ग्राउण्डेड गरिएको थियो।

निगमको एक इन्जिन इजरायलको आईएआई(इजरायल एरोस्पेस इन्ड्रस्ट्री)मा मर्मत भैरहेको छ । झण्डै दुई महिनाअघि मर्मतका लागि पठाइएको सो इन्जिन जडानपछि लुम्बिनी नियमित उडानमा फर्किनेछ।

मर्मत भएको इञ्जिनको परीक्षण गरी जहाज फर्कन केही दिन भने लाग्ने भएको छ ।

वरिष्‍ठ क्याप्टेन भावना पन्तको कमाण्डमा उड्डयन कर्मचारीहरुसहित गएको जहाज फर्किने समय एकिन नभएकोले उडान कर्मचारीहरु भने आज फर्किने जनाइएको छ ।

Share Now