काठमाडौं, २२ बैशाख । यातायात व्यवसायीहरुले आजदेखि सार्वजनिक यातायात सुचारु गर्ने भएका छन् ।
यातायात व्यवसायी महासंघ संयुक्त आन्दोलन मूल समितिका संयोजक योगेन्द्रनाथ कर्माचार्यले एक विज्ञप्ति प्रकाशित गरी परिवहनको सार्वजनिक सेवा दिईरहेका यातायात व्यवसायी, संघ,समिति र प्रा.लिलाई आजदेखि आआफ्ना सवारी साधन सञ्चालन गर्न आग्रह गरेका छन् ।
उनले व्यवसायीहरुको राष्टिय संगठनले व्यवसायिक हक हितको माग राखी आह्वान गरेका २४ घण्टे हड्तालमा सहयोग गरेकोमा यातायात व्यवसायीहरुलाई धन्यवाद दिदै यसले जनतामा परेको दुःखप्रति क्षमा याचना पनि गरेका छन् ।
महासंघमा आबद्ध व्यवसायीहरुले विभिन्न छ बूँदे माग राख्दै २१ बैशाखमा २४ घण्टे आम हड्ताल आह्वान गरेका थिए ।
तर एक दिनमा सकिने हडतालमा पनि सरकार भने कठोरतापूर्वक दमनमा उत्रिएर यातायात व्यवसायीहरुलाई देशव्यापी रुपमा धरपकड गर्ने, सवारी थन्क्याउने व्यवसायीको रुट इजाजत निलम्बन गर्ने, पक्राउ परेका व्यवसायीलाई सार्वजनिक अपराध अन्तरगत मुद्दा चलाउने, व्यवसायीको र यातायात संघ तथा समितिमा आवध्द पदाधिकारीहरुको सम्पत्ति छानवीन गरी सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउने, नयाँ बसपार्कबाट यातायात समिति र संघका कार्यालयहरु हटाएर प्रा.लि.को मात्र राख्ने जस्ता दमनकारी कदम अख्तियार गरेको थियो ।
संसदमा तीन चौथाई सांसदको समर्थन प्राप्त सरकारले विकेक गुमाएर अर्थात अत्तालिएर एकै दिन गरेका निर्णयहरुफिर्ता लिन लचिलो नभएमा सार्वजनिक यातायात सञ्चालन भने असहज हुने अवस्था सिर्जना पनि हुन सक्छ ।
व्यसायीहरुल पक्राउ परेका संघ,समिति र व्यवसायी प्रतिनिधिहरु विना शर्त रिहाईको माग गरेका छन् तर सरकार सार्वजनिक अपराधमा मुद्दा दायर गर्ने अपराधिक मानसिकतामा बसेको छ ।
व्यवसायीहरुले आगामी बैशाख २७ गतेदेखि अनिश्चित कालिन आमहड्तालको आह्वान पनि गरिसकेका छन् । यसबीचमा वार्ताबाट यातायात व्यवसायीहरुको माग संबोधन गर्ने प्रयास भएन र सरकार लचिलो भएन भने स्थिति भयावह बन्न पनि सक्छ ।
२८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको धार्मिक तथा सांस्कृतिक भ्रमणमा आउदै छन् । उनको आगमनको समयमा नै समृद्धिको सपना बाडेको कम्युनिष्ट सरकारले मुलुकलाई अस्तव्यस्त बनाएको सन्देश जाने भय पनि उत्तिकै छ ।
वार्ताद्धारा समाधान खोज्न कांग्रेसको आग्रह
यसैबीच नेपाली कांग्रेसले शुक्रबार एक विज्ञप्ति प्रकाशित गर्दै आफ्नो व्ययसायिक हितका लागि विभिन्न मांग राखी गरिएको आन्दोलनमा व्यवसायिक उपर गरिएको धरपकड तत्काल बन्द गरी बार्ताको माध्यमबाट समस्याको समाधान खोज्न नेपाल सरकार एवं आन्दोलनरत पक्षलाई नेपाली कांग्रेस हार्दिक अपिल गरेको छ ।
नेपाली कांग्रेसले यातायात बन्द गर्ने कार्यक्रमबाट आम नागरिकमा पर्न गएको असुविधा र कठिनाईप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
कांग्रेसले भनेको छ, ‘वार्ताका माध्यमबाट सबै खाले समस्याको समाधान खोज्ने हाम्रो स्थापित परम्परा स्मरण गराउँदै सरकार एवं आन्दोलनरत व्यवसायी सबैमा गम्भीरताका लागि अपिल गर्दछौं ।’



















