ब्रुनाई, २९ पौष(बीबीसी) । सैन्य सेवामा गरेको काम र आकर्षक व्यक्तित्वका कारण अनलाइनमा अधिक प्रशंसा पाउदै आउनुभएका ब्रुनाईका राजकुमार अब्दुल मतीनले विवाह गर्नुभएको छ।
राजकुमारको सर्वसाधारण महिलासँग विवाह भएको हो। उहाँको वैवाहिक कार्यक्रम १० दिनसम्म चलेको थियो।
इन्टरनेटमा चर्चित राजकुमारले गत डिसेम्बरमा याङ मुलिआ अनिशा रोस्नासँग विवाह हुन लागेको खुलासा गर्नुभएको थियो।
कुनै समय ‘एशियाकै सबैभन्दा योग्य वर’को रूपमा चर्चा कमाउनुभएका राजकुमारको विवाहको खबरले उहाँका कैयौँ समर्थकहरू चकित भएका थिए।
उहाँकी दुलही ब्रुनाईका नेता सुल्तान हसनल बोकिआकी नातिनी हुनुहुन्छ।
उहाँले फेसन र पर्यटनसम्बन्धी कम्पनी सञ्चालन गर्दै आउनुभएको बताइएको छ।
स्तान नूरूल इमान दरबारमा भएको वैवाहिक कार्यक्रममा ३२ वर्षका राजकुमार औपचारिक पोसाकमा देखिनुभएको छ र उहाँकी २९ वर्षीय दुलही सेतो रङ्गको लामो पोसाक र गरगहना सजिनुभएको छ।
विवाहमा ५ हजार जना निम्तालुहरू बोलाइएको जनाइएको छ। जसमा साउदी अरब र जोर्डनका राज परिवारका सदस्यहरू साथै इन्डोनेसियाका राष्ट्रपति जोको विडोडो र फिलिपिन्सका नेता फर्डिनान्ड मार्कोस जुनिअर पनि थिए।
राजकुमारको शाही हैसियत
यो जोडीले माथिल्लो भाग खुला रहेको रोल्स रोएस गाडीमा चढेर आफ्ना शुभेच्छुकहरूलाई हात हल्लाउँदै विवाहित दम्पतीको रूपमा आफ्नो पहिलो सार्वजनिक उपस्थिति देखाएको थियो।
उनीहरूको भव्य टोली राजधानी बन्दुर श्री बगावन हुँदै अघि बढेको थियो।
विद्यालयकी एक जना शिक्षिका नोर्लिहा मोहम्मदले राज परिवारको यो दम्पतीलाई देख्ने मौका “जीवनमा एक पटक मात्रै पाइने” दुर्लभ अवसर भएको एएफपी समाचार संस्थासँग बताउनुभएको थियो।
यो सानो तेलको धनी राष्ट्रका स्थानीय टेलिभिजन स्टेसनहरूले बुधवार वैवाहिक कार्यक्रमका केही झलकहरू प्रसारण गरेका थिए।
सबैभन्दा लामो समयसम्म शासन गर्ने विश्वकै एक मात्र सुल्तानका राजकुमार मतीन दशौँ सन्तान हुन्। ब्रुनाईका सुल्तान विश्वमै धनी शासकहरूमध्ये पनि एक हुन्।
राजकुमार मतीनले ब्रुनाईको सिंहासनको उत्तराधिकारी दाबी गर्ने स्थिति छैन। तर इन्स्टाग्राममा दशौँ लाख फलोअर रहेका उनको व्यक्तित्व भने निकै उच्च भएको छ।
राजकुमारले शाही कार्यक्रमहरूमा सहभागिता जनाउँदाका, पोलो खेल्दाका हुन् वा सैन्य पोसाकमा देखिँदाका सम्पादित भिडिओ क्लिपहरू अनलाइनमा व्यापक भेटिन्छन्।
१० दिने समारोह
ज्यानुअरी ७ मा सुरु भएको वैवाहिक कार्यक्रम आइतवार भव्य समारोहसँगै समापन भएको थियो।
इस्लाम परम्परा बुधवार विवाह भएपछि राजकुमार मतीनको विवाहले औपचारिक मान्यता पाएको थियो। उक्त कार्यक्रममा बिहे गर्ने पक्षबाट राजकुमार र उहाँका बुबा लगायत पुरुषहरू मात्रै उपस्थित हुनुहुन्थ्यो।
बुधवारका भिडिओहरूमा राजकुमार मतीन उनकी दुलही ल्याउन सुनको गुम्बज भएको मस्जिदमा जाँदै गर्दा राजधानीका सडकमा नागरिकहरू लाइन लागेको देखिन्छ।
राजकुमार मतीन परम्परागत सेतो पहिरनमा देखिनुभएको छ । शिरमा हीराको बुट्टा भएको गहना लगाउनुभएको छ । इमामले आशीर्वाद दिइसकेपछि उहाँले झुकेर आफ्ना बुबाप्रति आदरभाव दर्शाउनुभएको छ।