काठमाडौँ, १ माघ । प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दानआदि गरी मनाइँदै छ । माघे सङ्क्रान्तिका दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्न भक्तजनको भीड लाग्छ । ती ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्छ ।
सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भनिन्छ भने माघ १ गतेदेखि सूर्य उत्तरायण हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । धर्मसिन्धुमा माघे सङ्क्रान्तिको दिन घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने मान्यता छ ।
सूर्य उत्तरायण हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । तराईवासीले माघ १ गतेलाई नहान अर्थात् नुहाउने पर्वका रुपमा मनाउँछन् । सो दिन बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । माघे सङ्क्रान्तिमा दिन घ्यु, चाकु, तिलका लड्डु, खिचडी, सखरखण्ड, तरुललगायतका परिकार पनि खाने चलन छ ।
मकर सङ्क्रान्तिमा शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ । माघे सङ्क्रान्ति अर्थात् माघी पर्वको अवसरमा सरकारले सोमबार देशभर सार्वजनिक बिदा दिएको छ ।
देशविदेशमा फैलँदै ‘माघी’
थारू समुदायको लोकप्रिय ‘माघी पर्व’ यस वर्ष पनि काठमाडौंँमा विशेष रूपमा मनाइने भएको छ । तराई क्षेत्रका केही खास जिल्लामा बसोबास गर्ने थारू समुदायको यस पर्वले काठमाडौँ उपत्यकावासीलाई पनि तान्दैछ । विगतमा जस्तै यस वर्ष पनि थारू अगुवाले टुँडिखेलमा थारू राष्ट्रिय माघ (माघी) महोत्सव–२०८० आयोजना गरेका छन् ।
विशेष गरी थारू समुदायले मनाउने यो पर्वमा पछिल्लो समय जातजाति पनि आकर्षित भएको पाइन्छ । माघी पर्वमा पाक्ने परिकार र थारू पहिरनप्रति संस्कृतिप्रेमी पनि आकर्षित भएका छन् । माघीमा विशेषतः ढिक्री, घाँेगी, माछा र गँगटा जस्ता परिकार खाने चलन छ ।
यस वर्ष माघी पर्व यही पुस २९ र आगामी माघ १ गते मनाउन लागिएको थारू कल्याणकारीसभाका महामन्त्री प्रेमीलाल चौधरीले बताउनुभयो । सो कार्यक्रमको उद्घाटनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निमन्त्रणा गरेको जानकारी दिनुभयो । टुँडिखेलमा माघीका अवसरमा खानाको स्टल करिब एक सय १५ कक्ष रहेको महामन्त्री चौधरीले बताउनुभयो । “सोमबार बिहान वसन्तपुरबाट झाँकी ¥याली सुरु भइ टुँडिखेल आउनेछ । महोत्सवमा मेची–महाकालीको थारूको नाचगान प्रस्तुति रहने छ ।”
सरकारले २०६३ सालदेखि माघीलाई राष्ट्रिय पर्व घोषणा गरी सार्वजनिक बिदा दिने निर्णय सकारात्मक भएको महामन्त्री चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “विसं २०५९ देखि २०६२ सालसम्म थारूलाई मात्र बिदा दिने गरिएकोमा २०६३ सालबाट राष्ट्रिय पर्वका रुपमै मनाउने गरिएको हो ।”
लेखक तथा पत्रकार कृष्ण सर्वाहारीले माघीका अवसरमा बरघर (गाउँको मुखिया) छान्ने प्रचलनलाई काठमाडौँमा पनि लागू गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “माघी पर्वका अवसरमा बरघर छान्ने प्रचलनलाई काठमाडौँमा पनि आफ्नो गाउँघरका लागि के योगदान गर्न सकिन्छ भन्नेमा छलफल हुन जरुरी छ ।” उहाँले थारूका मुख्य परिकारहरु ढिक्री, घोँघी, महुवाको जाँडजस्ता परिकारलाई प्रबद्र्धनको आवश्यकता भएको बताउनुभयो ।
पूर्वमन्त्री गोपाल दहितले २०५९ सालदेखि काठमाडौँका थारूलाई लक्षित गरी माघी पर्व महोत्सव गर्न लागिएको बताउनुभयो । उहाँले माघीमा ‘मघौटा नाच’ नाच्ने र चिसो मौसमबाट बच्न सकिने खानेकुरा खाने गरेको बताउनुभयो । पहिले गाउँघरमा मात्रै सीमित माघी पर्व अहिले सहरहुँदै विदेशमा समेत पुगेकोमा उहाँले खुसी व्यक्त गर्नुभयो ।
पछिल्लो समय अमेरिका, अष्ट्रेलिया, युनाइटेड अरब इमिरेट्स, कतारजस्ता देशमा पनि त्यहाँ रहेका थारूले माघी पर्व मनाउन थालेको पूर्वमन्त्री दहितको भनाइ छ । उहाँले भन्नुभयो, “पहिला थारूहरूले घोँगी खान लाज मान्थे तर अहिले काठमाडाँैँको हरेक होटलमा घोँगी परिकार राखिएको हुन्छ, यो सबैभन्दा धेरै बेचिने परिकार बनेको छ, यसको मुख्य कारण माघी महोत्सवको आयोजना नै हो ।”
तराईमा बस्ने थारूहरूले पौष्टिक खानाका रूपमा प्रयोग गर्दै आएको गँगटो, माछा, घोँगीजस्ता परिकार अहिले लोकप्रिय भएको दहितले बताउनुभयो । उहाँले खाना मात्रै नभइ थारूका पहिरनको लोकप्रियता बढेको बताउनुभयो ।
काठमाडौँमा थारुहरुको बसोबास बढ्न थालेसँगै खुल्ला मञ्च हुँदै टँुडिखेलमा माघी पर्व मनाउन थालिएको थारू राष्ट्रिय माघी महोत्सव मूल आयोजक समितिका पदाधिकारी सीताराम थारूको भनाइ छ । उहाँका अनुसार पहिले एक महिनासम्म माघी मनाउने गरिएकोमा पछिल्लो समय पुस २९ र माघ १ गते मात्रै मनाउने गरिएको छ ।
किन मनाइन्छ माघी ?
अधिकांश थारू कृषि पेसामा आबद्ध भएका र उनीहरू पहिले माघ महिनामा बाली भित्र्याउने गर्थे । माघमा सबै काम सकेर नयाँ अन्न खाने गरिन्थ्यो । जसका कारण थारू समुदायले प्रमुख चाडका रूपमा मनाउँदै आएको माघीलाई नयाँ वर्षका रूपमा पनि मनाउन थालिएको छ । थारू समुदायले माघी माघ महिनाभर मनाउँछन् ।
शास्त्रानुसार सौरमासको हिसाबले माघे सङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई मकर सङ्क्रान्ति पनि भनिन्छ । थारू समुदायमा पुसको अन्तिम दिन गाउँभरिका मानिस मिलेर सुँगुर काट्ने चलन छ । त्यस दिनलाई ‘जिता मरना दिन’ भनिन्छ । पुस मसान्तमा सुँगुरको मासु, ढिक्री, रोटी, माछा आदि परिकार तयार गरिन्छ । त्यस रातभर नाचगानका साथ रमाइलो गर्ने प्रचलन छ । विशेषगरी यस पर्वमा छोक्रा नाच (मघौटा नाच) र ढुमरु गाउने गरिन्छ ।
माघीको दिन बिहानै भाले बासेको पहिलो प्रहरमा सम्पूर्ण गाउँका मानिस सामूहिक रूपमा नदीमा नुहाउन जान्छन् र घरमा आएर आ–आफ्ना दिदीबहिनीलाई उपहार दिने गर्छन् । जसलाई ‘निसराउ’ भनिन्छ । त्यसपछि गाउँभरि ढोगसलाम गर्छन्, आशीर्वाद थाप्छन् र नाचगान गर्दै रमाउँछन् । यस पर्वमा उनीहरू वर्षभरिका सुखदुःखका कुरा साटासाट गर्छन् र घरपरिवारभित्र कामको बाँडफाँट गर्छन् । त्यही दिन सबै जना जम्मा भएर गाउँको महटावाँ ( बरघर) र चौकीदार चुन्ने काम पनि हुन्छ ।
केही समयपहिले कमैया र कम्लहरीलाई छुटाउने, फुकाउने काम पनि यसै दिन गरिन्थ्यो । अहिले यस्तो प्रथा हटिसकेको छ । गाउँमा कामकाजको बाँडफाँट, गएको वर्षभरिको कामको समीक्षा र नयाँ नीतिनियम बनाउने जस्ता विविध काम पनि यही दिन गरिन्छ ।थारू बस्तीमा
माघीको रौनक
बाँके जिल्लाका थारू समुदायमा माघी पर्वको रौनक सुरु भएको छ । थारू समुदायको मुख्य पर्व माघीमा थारू बस्तीमा चहलपहल बढेको छ । कामका लागि बाहिर गएकाहरु माघी मनाउन घर फर्किएका छन् । गाउँघरमा माघी पर्वको चहलपहल सुरु भइसकेको बाँके टिटिहिरियाका थारु बडघर केलसिंह थारूले बताउनुभयो ।
केलसिंह थारूका अनुसार दसैँ तिहारमा घर नआएका व्यक्ति पनि माघीमा घर फर्किएका छन् । माघी पर्वलाई थारू समुदायले नयाँ वर्षका रुपमा समेत मान्ने गर्छन् । यस पर्वलाई थारू समुदायले बरका तेउहार (ठूलो पर्व) का रुपमा मनाउँछन् । उहाँले भन्नुभयो, “माघी हाम्रा लागि नयाँ वर्ष हो, माघीलाई हामी ठूलो पर्वका रुपमा मनाउँछौँ, वर्षभरि जो जहाँ भए पनि माघी मनाउन भने घर फर्कने गर्छन् ।”
माघीका अवसरमा थारू संस्कृति झल्कने नृत्यले गाउँघर गुञ्जयमान हुने गरेको छ । गाउँ थारू बस्तीमा युवायुवती माघीमा मघौटा, सखिया र हुरदङ्गा नाच नाच्ने गरेको थारू अगुवा बाँके राप्तीसोनारी–६ का सीताशरण थारू बताउनुहुन्छ । उहाँका अनुसार माघे सङ्क्रान्तिको अघिल्लो दिन अर्थात् पुस मसान्तमा थारू समुदायमा जिता मार्ने (सामूहिक रुपमा सुँगुर, बङ्गुर मारेर खाने) गरिन्छ ।
थारूहरुले माघीमै वर्षदिनको योजना बनाउने गर्छन् । माघीमा बनाएको योजनाअनुसार नै परिवारका सदस्यहरु सबै आ–आफ्नो काममा लाग्छन् । घर छुट्टिने, खेतबाली लगाउने निर्णय पनि माघीमै गरिन्छ ।
यतिबेला थारू बस्तीका चोकचोकमा युवाको जमघट बढेको छ, बाहिरबाट कमाएर आएका आफ्ना साथीभाइसँग अनुभव साटासाट गर्नमा व्यस्त छन् । थारू समुदायमा माघे सङ्क्रान्तिको अघिल्लो दिन रातभर जाग्रम बसेर भजनकीर्तन गर्ने चलन छ ।
माघीका दिन बिहानै नजिकैको खोला नदीमा गई नुहाउने गरिन्छ । यस दिन खोला नदीमा गई नुहाउँदा वर्षभरिको पाप पखालिने जनविश्वास छ । नुहाइवरी आफूभन्दा ठूला मान्यजनलाई सेवा ढोक गरी आशीर्वाद लिने र साथीभाइसँग अङ्कमाल गरी माघीको शुभकामना आदानप्रदान गर्ने गरिन्छ ।
यो पर्वमा थारू जातिले विशेष परिकारका रुपमा ढिकरी (चामलको पीठोबाट बनाइने परिकार), माछा, घोँघी, सुँगर वा बङ्गुरको मासु र जाँड खाने तथा खुवाउने चलन छ । माघीमा गाउँका सबैजना जम्मा भएर वर्षदिनका लागि बड्घर (गाउँको अगुवा), चौकीदार र गुरुवा चयन गर्ने गरिन्छ ।