काठमाडौं, २ माघ। राष्ट्रपति रामचन्द्र पौडेलले पर्यटन क्षेत्रलाई देशको समृद्धिको आधारका रुपमा स्थापित गर्नुपर्ने बताउनु भएको छ ।
होटल संघ नेपालले आफ्नो स्थापना दिवसको अवसरमा मंगलबार गरेको कार्यक्रममा राष्ट्रपति पौडेलले सो कुरा बताउनुभएको हो ।
कार्यक्रममा राष्ट्रपति पौडेलले किसानले उत्पादन गरेका अन्नबाली तथा अर्गानिक खाद्य वस्तु सिधै तारे होटलमा आपूर्ति गरेर ‘फार्म टु प्लेट’को अवधारणा अघि बढाउन आग्रह गरेका छन्।
राष्ट्रपति पौडेलले पर्यटकको रूचीअनुसारको खाद्यान्न होटल व्यवसायी आफैंले कृषि फ़र्म स्थापना गरेर उत्पादन गर्न उपयुक्त हुने त्यस्तो संभव नभए किसानलाई त्यस अनुसारको खाद्यान्न उत्पादनका लागि प्रेरित गर्नुपर्ने बताउनुभएको हो।
‘होटल व्यवसायीलाई किसानसँग सम्झौता गरेर फार्म टु प्लेटको अवधारणा अघि बढाउन सुझाव छ,’ राष्ट्रपति पौडेलले भन्नुभयो । उहाँले नेपालको मौलिक रैथाने खाना र संस्कृतिलाई विश्वभर प्रवर्धन गर्नुपर्नेमा जोड दिनुभयो।
राष्ट्रपति पौडेलले नेपालको विशिष्टता, प्राकृतिक सौन्दर्य, संस्कृति र सभ्यतालाई विश्व बजारमा प्रवर्धन गरी पर्यटन क्षेत्रलाई देशको समृद्धिको आधारका रुपमा स्थापित गर्नुपर्ने बताउनुभयो।
राष्ट्रपति पौडेलले ‘अतिथि देवो भवः’ को मूल मर्मलाई जीवन्त राखी विश्वसामु नेपालको प्रचार गरेको भन्दै होटल व्यवसायीको प्रशंसा गर्नुभएको थियो।


















