काठमाडौं, २ माघ । कृषि क्षेत्रको समग्र विकास गर्ने उद्देश्यले मिडिया स्पेस सोलुसन्स प्रा.लि ,फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट प्रा.लि. र एक्जिविसन एण्ड ट्रेड सर्भिसेस इण्डिया प्रा. लि.को संयुक्त आयोजनामा यही माघ १२ गतेदेखि तीन दिवसीय छैठौ नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय एक्स्पो आयोजना हुने भएको छ ।
काठमाडौँको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा आयोजना हुने उक्त प्रदर्शनमा स्वदेशी तथा विदेशी कृषि सम्बन्धी कम्पनीहरुका १०० भन्दा बढी स्टलहरु रहने आयोजकहरुले बताएका छन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्री बेदुराम भुसालबाट उद्घाटन हुने यस प्रर्दशनीलाई सफल बनाउनका लागि प्रबद्र्घकको भूमिकामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि साझेदारको भूमिकामा मुक्तिनाथ कृषि कम्पनी तथा सहयोगी संस्थाको भूमिकामा नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, राष्ट्रिय कृषक समूह महासंघ, नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. रहेका छन् ।
उक्त प्रर्दशनीमा कृषिका विभिन्न विधाहरु जस्तै कुखुरापालन, मत्स्यपालन, बाख्रापालन, गाई भैंसी पालन, डेरी लगायत कृषिका नविनतम औजार, उपकरण, केराखेती, थोपा सिचाई, बिषादी रहित कृषि इत्यादीका बारेमा जानकारी प्राप्त गर्न सकिने छ ।
उक्त प्रर्दशनीमा देश भरीबाट बढी भन्दा बढी उद्यमी अनुसन्धानकर्ता, विद्यार्थी, संघ संस्थाका प्रतिनिधि लगायत आम कृषकहरुले प्रर्दशनीमा आधुनिक प्रविधिहरुको अनुसरण गर्ने र जिज्ञासा मेटाउने अवसर मिल्ने बिश्वास आयोजकहरुले लिएका छन् ।
यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा कृषकहरुका समस्याहरुलाई समाधान गर्ने उद्देश्यले कृषिका विभिन्न बिषयमा स्वदेशी बिज्ञहरुद्वारा सेमिनार आयोजना हुने तथा देशभरिबाट आउनु हुने कृषकहरुलाई कृषि प्रबिधि, कृषिका विभिन्न विधाहरुको बारेमा जानकारी गराउने कार्यक्रम समेत रहेको छ ।
निःशुल्क प्रवेशको व्यवस्था गरिएको उक्त प्रदर्शनीमा कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पुर्याउने साना साना औजार, मेशिनदेखी लिएर डेरी मेशिनरी तथा पशुपंछीपालन उद्योगमा प्रयोग हुने उपकरणहरुको प्रदर्शनी गरिने भएको छ । नेपालको कृषि क्षेत्रको यान्त्रिकीकरणमा सहयोग पुर्याउन यो प्रदर्शनी कोशेढुंगा सावित हुने आयोजकहरुको बिश्वास छ ।
उक्त प्रर्दशनीबाट नेपालको कृषि क्षेत्रलाई उपयुक्त हुने नविनतम् प्रविधि तथा सेवाहरुको पहिचान गर्न मद्दत मिल्ने र तीनको प्रयोगद्धारा कृषि उत्पादन बृद्धि भई मुलुकलाई कृषि उपजमा आत्मनिर्भर बन्न टेवा पुग्ने विश्वास गरिएको छ ।


















