काठमाडौं, ११ माघ । राष्ट्रिय सभा रिक्त हुने १९ जना सदस्यको लागि आज भएको निर्वाचनमा मधेश प्रदेश र लुम्बिनी प्रदेशको मत परिणाम आएको छ ।
प्राप्त मत परिणामले दुवै प्रदेशबाट गठबन्धनका साझा उम्मेदवार विजयी भएका छन् ।
मधेश प्रदेशको राजधानी जनकपुरमा भएको मतदानबाट राष्ट्रियसभा सदस्यमा सत्तारुढ गठबन्धनका आनन्दप्रसाद ढुंगाना र पूजा चौधरी निर्वाचित हुनुभएको हो ।
अन्य कोटातर्फबाट ढुंगानाले प्रदेशसभा सदस्यहरुको ६७ र स्थानीय तहका पदाधिकारीहरुको २०१ मत पाउनुभएको थियो ।
महिला कोटातर्फ चौधरीले प्रदेशसभाको ७६ र स्थानीय तहका पदाधिकारीहरुको २०५ मत पाएर निर्वाचित हुनुभयो ।
लुम्बिनीबाट कांग्रेसकी विष्णु सापकोटा र माओवादीका झक्कु सुवेदी निर्वाचित
राष्ट्रिय सभा सदस्य चुनाव अन्तर्गत लुम्बिनी प्रदेशबाट सत्ता गठबन्धनका दुबै उम्मेदवार विजयी भएका छन् ।
महिलातर्फ कांग्रेसकी विष्णुकुमारी सापकोटा निर्वाचित हुनुभएको छ । सापकोटाले ५४३५ मत भार प्राप्त गरी विजयी हुँदा नेकपा एमालेकी तुलसा केसीले २८६७ मतभार प्राप्त गर्नुभएको निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले बताउनुभयो ।
गुल्मीकी सापकोटा कांग्रेसको संस्थापन इतरकी हुनुहुन्छ । सुरुमा उहाँको ठाउँमा कांग्रेसको संस्थापन पक्षले अर्घाखाँचीकी पुष्पा भुसाललाई उम्मेदवार बनाउने तयारी गरेको थियो तर संस्थापन इतरले चर्को विरोध गरेपछि अन्तिममा सापकोटालाई टिकट दिइएको थियो ।
अन्य तर्फ माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी निर्वाचित हुनुभएको छ । रोल्पाका सुवेदीले नेकपा एमालेका झपेन्द्र जीसीलाई पराजित गर्नुभएको हो। अन्य तर्फको मत परिणाम औपचारिक रुपमा घोषणा हुन बाँकी छ । राष्ट्रिय सभाको लुम्बिनीका दुई पदमा ६ जनाले प्रतिस्पर्धा गरेका थिए ।
जनमत पार्टीको तर्फबाट अन्य क्लस्टरमा नवलपरासीका बालगोविन्द चौधरी उम्मेदवार हुनुहुन्थ्यो भने महिलातर्फ राप्रपाकी विजयालक्ष्मी सिंह ।लुम्बिनी प्रदेशमा १०९ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २१८ जना र प्रदेशसभाका ८७ जना सांसद मतदाता थिए ।
३०५ जना मतदाता रहेकोमा प्रदेश सभा तर्फबाट सबै ८७ मत खसेको र स्थानीय तहका २१८ मतमध्ये २१६ मत गरी ३०३ मत खसेको थियो ।
प्रदेश सभाका सदस्यको प्रति मतदाता मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको प्रति मतदाता मतभार १९ कायम गरिएको थियो ।


















