Prakash Adhikari January 27, 2024

काठमाडौं, १३ माघ । नेपाल एपीएफ क्लबले प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशलाई पराजित गरेकको छ ।

काठमाडौंको मूलपानीस्थित रंगशालामा भएको खेलमा एपीएफले गण्डकी प्रदेशमाथि ८८ रनको फराकिलो जित दर्ता गरेको हो ।

एपीएफबाट २ सय ८ रनको मध्यम लक्ष्य पाएककको गण्डकी ३३.४ ओभरमा १ सय १९ रनमा समेटियो।

गण्डकीका लागि ओपनर समिर कंडेलले सर्वाधिक ३३ रनको इनिंङ खेले । यस्तै अर्का ओपनर र्इश्वर छेत्रीले २८ रन बनाए । कप्तान बिपिन खत्री १८ रनमा अविजित रहे ।

गण्डकीलाई रोक्ने क्रममा एपीएफका लागि अमर राउटेलाले सर्वाधिक ४ विकेट लिए । यस्तै मौसम ढकालले ३ तथा भुवन कार्कीले २ विकेट लिए । अर्को एक विकेट रमेश कुर्मीले लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफ ४७.२ ओभरमा २ सय ७ रन जोडेको थियो । एपीएफका लागि ओपनर लोकेश बमले ६७ बलमा ५ चौका र २ छक्का सहित सर्वाधिक ५० रन बनाए । यस्तै भुवन कार्कीले ५२ बलमा ४५ रनको इनिंङ खेले ।

प्रदिप ऐरीले ४५ बलमा ३९ रन बनाए भने पुरन विकले ४६ बलमा ३० रन बनाए । अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन् ।

एपीएफलाई रोक्ने क्रममा गण्डकीका लागि कमल परियारले सर्वाधिक ३ विकेट लिए । यस्तै बिपिन खत्री, अमृत गुरुङ र सन्दिप पराजुलीले समान २ / २ विकेट लिए ।

प्रधानमन्त्री कप खेलमा एपीएफ ७ खेलमा ४ जित र ३ हार सहित छैठौ स्थानमा छ । गण्डकी भने ८ खेलमा २ जित सहित आठौ स्थानमा छ ।

Share Now